२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनप्रतिनिधिले सेवासुविधा वापत पाउने रकममा उम्मेदवारको घरदैलो खर्च

निर्वाचन आयोगले स्थानीय तहका जनप्रतिनिधिलाई आफू निर्वाचित भएका पालिकाभित्र कुनै पनि उम्मेदवारको पक्षमा प्रचारप्रसार नगर्न निर्देशन दिएको छ। तर कतिपय स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले आफ्नो पार्टीको उम्मेदवारको पक्षमा प्रचारप्रसार मात्र गर्दैन।

उनीहरुले आफ्नो पार्टीका उम्मेदवारको लागि चुनावमा आर्थिक खर्चको लागि चन्दासमेत संकलन गर्ने गरेको छ। बुधबार बिहानै धनुषाको हंसपुर नगरपालिका–९ बालगंगास्थित नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रका कार्याकर्ताले संयुक्त बैठक बोलाएका थिए।

उनीहरुले बोलाएको बैठकको मुख्य उद्देश्य थियो यहीँ कार्तिक २० गते पार्टीको उम्मेदवारले गर्ने घरदैलो कार्यक्रममा लाग्ने खाजा र खाना खर्च कसरी जुटाउने? सोही विषयमा छलफल गर्न उनीहरु भेला भएका थिए। कार्तिक २० गते हंसपुर नगरपालिकाको वडा नम्बर ६ र ९ मा सत्तारुढ गठबन्धनका उम्मेदवारले घरदैलो कार्यक्रमको समय तोकिएको छ।

सोही विषयमा छलफल गर्न स्थानीय कार्यकर्ताहरु भेला भएका थिए। हंसपुर नगरपालिकाका उपप्रमुख दुर्गीदेवी मण्डल, वडा नम्बर ६ का वडाध्यक्ष सुरेन्द्र मण्डल, वडा नम्बर ९ का वडाध्यक्ष प्रदिप मण्डल र पार्टीका स्थानीय कार्यकर्ताहरु छलफलमा सहभागी थिए।

उपप्रमुख दुर्गी र प्रदिप काँग्रेसबाट निर्वाचित भएका छन् भने सुरेन्द्र माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका छन्। बैठकको सुरुमा खाजा खर्च दुवै वडाध्यक्षले व्यवस्थापन गर्ने र खानामा लाग्ने खर्च उपप्रमुखले तिर्नुपर्ने बैठकमा सहभागी कार्यकर्ताले प्रस्ताव राखेको एक कार्यकर्ताले बताए।

उनका अनुसार केहीबेर सो प्रस्तावमा छलफल चलेपनि सहमति जुट्न सकेनन्। त्यो प्रस्तावमा सहमति जुटन् नसकेपछि बैठकमा सहभागीहरुले अर्को प्रस्ताव राखे वडा नम्बर ६ र ९ का सम्पूर्ण कार्यपालिका सदस्यहरुले नगरकालिकाबाट पाउने सेवासुविधा वापत रुपैयाँ मध्ये एक महिनाको तलब खाजा र खानाको लागि दिनुपर्नेछ।

त्यसपछि दुबै वडाध्यक्ष र उपप्रमुखले एक महिनाको रुपैयाँ घरदैलो कार्यक्रमको दिन खाना र खाजाको लागि दिने सहमत भएको बैठकमा सहभागी ती कार्यकर्ताले बताए। दुबै वडाका निर्वाचित वडा सदस्य र कार्यपालिका सदस्यले महिनामा सेवासुविधा वापत पाउने एक/एक महिनाको रुपैयाँ उम्मेदवारको घरदैलोमा लाग्ने खाजा र खाना खर्चको लागि दिने निर्णय गरेको छ।

नगरपालिकाले जनप्रतिनिधिलाई महिनाको तलब निर्धारण नगरेपनि सेवासुविधा वापत नगरप्रमुखको ३५ हजार, उपप्रमुखको ३० हजार, वडाध्यक्षको २४ हजार कार्यपालिका सदस्यको २२ हजार र वडा सदस्यको ९ हजार उपलब्ध गराउँदै आएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर–२ मा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टीको चुनावी गठबन्धन छ।

प्रतिनिधिसभामा काँग्रेसका राकृष्ण यादव, निर्वाचन क्षेत्र २ को (ख) मा माओवादीका श्याम यादव र (क) मा लोसपाका संजय साह प्रदेशसभा सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। नेकपा एमालेबाट उमाशंकर अरगरिया, जसपाबाट गंगाराम यादव र एकीकृत समाजवादीबाट रामचन्द्र झा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। हंसपुर नगरपालिको ९ वडा मध्ये ४ वटा वडा  प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ र  प्रदेशसभा २ को (ख) मा पर्छ। बाँकी ५ वटा वडा एक नम्बर निर्वाचन क्षेत्रमा पर्छ।

प्रकाशित: १६ कार्तिक २०७९ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App