२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ह्याट्रिक जितको अपेक्षामा एमाले, रविको उपस्थितिले माहोल फरक

कृष्णभक्त पोखरेल,उमेश श्रेष्ठ र रवि लामिछाने।

चितवनमा चुनावी रौनक सुरु भएको छ। उम्मेदवार मनोनयन गरेदेखि नै यहाँ उम्मेदवारहरू घरदैलो अभियानलाई तिव्रता दिइरहेका छन्। त्यसमा पनि चितवन–३ मा अझ रौनक बढी देखिन्छ। यहाँबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यी उम्मेदवारमध्ये यो क्षेत्रमा मुख्य गरि तीन उम्मेदवारहरूको अहिले विशेष चर्चा हुने गरेको छ। चितवन–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ, एमालेका नेता कृष्णभक्त पोखरेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका रवि लामिछानेबीच हुने प्रतिस्पर्धाले यहाँको चुनावी माहोल थप तातेको छ।  

उद्योगी, व्यापारी, कानुन र सञ्चारकर्मीहरू ठाउँबाट उत्रिएका छन्। अहिले यी उम्मेदवार मतदातालाई आफ्नो पक्षमा ल्याउन घरदैलोमा पुगिरहेका छ्न। यी तीन उम्मेदवारमध्ये नितान्त नयाँ अनुहार रवि लामिछाने चितवन–२ मा चुनावी प्रतिस्पर्धामा उत्रेपछि थप रोचक बनेको छ। सञ्चारकर्मबाट चर्चामा आएका लामिछाने पहिलोपटक यही क्षेत्रबाट चुनावमा होमिएका हुन्। यस्तै अर्का उम्मेदवार प्रधानमन्त्री कार्यालयका राज्यमन्त्रीसमेत रहेका उमेश श्रेष्ठ पहिलोपटक प्रत्यक्षतर्फ चुनावी मैदानमा छन्। उनी यसअघि समानुपातिकतर्फबाट सांसद बनिसकेका छन। दुई पटकसम्म यही क्षेत्रबाट चुनाव जितिसकेका एमालेका तर्फबाट उम्मेदवार बनेका कृष्णभक्त पोखरेल यो पटक ’ह्याट्रिक’ जितको दाउमा छन्। यी तीन नेताको चितवन–२ साइनो हेर्दा पोखरेललाई स्थानीयस्तरमै भिजेको नेताको रूपमा चित्रण गरिन्छ।

पोखरेलले २०७० र २०७४ को निर्वाचनमा यो क्षेत्रबाट जित हासिल गरेका थिए। काठमाडौं घर भएका रास्वपाका लामिछाने भने २०७६ साउनमा आफ्नै सहकर्मी सालिकराम पुडासैनीको आत्महत्या दुरुसहान मुद्दामा पक्राउ परेर चितवनमा हिरासतमा बसेका थिए। लामिछाने निर्दोश रहेको भन्दै त्यो बेला उनको समर्थनमा दैनिकजसो प्रर्दशनहरू भएका थिए। ९ दिनको हिरासत बसाइपछि रिहा भएका लामिछानेले नारायणी किनारमा ठूलो सभा राखेर धन्यवाद ज्ञापन गरेका थिए।

अर्का उम्मेदवार उमेश श्रेष्ठ यो क्षेत्रमा उम्मेदवारको रूपमा नयाँ अनुहार भए पनि व्यवसायीक रूपमा भने चिरपरिचित अनुहार नै हो। यहाँको शैक्षिक र होटल क्षेत्रमा श्रेष्ठको ठूलो लगानी रहेको छ। गत स्थानिय तहको निर्वाचनलाई हेर्दा यो सत्ता गठबन्धन भन्दा नेकपा एमाले अगाडि छ। यो क्षेत्रमा पर्ने चितवनको इच्छाकामना गाउँपालिकामा र कालिका नगरपालिकामा एमालेका उम्मेदवारले सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेले नेतृत्व गरिराखेको छ।

जनताका समस्या बुझ्दै छु: रवि लामिछाने

मैले चुनावी एजेण्डा बनाएको छैन। यहाँको समस्या बुझ्दै छु। हामी होमवर्क गरिरहेका छौंं। १७ गतेभित्र घोषणा पत्र सार्वजनिक गर्ने छौँ। हामी जनताका समस्यालाई नै प्राथमिकतामा राखेर काम गर्नेछौं। हामी अहिले घरदैलो अभियानमा नै छौं। अरू कुरा हाम्रो प्रवक्तासँग बुझ्नू।

जनताको सेवाका लागि मेरो उम्मेदवारी: उमेश श्रेष्ठ

मेरो चुनावी अजेन्डा जनताको सेवा गर्ने हो। समृद्धि उन्नती प्रगतिका लागि काम गर्ने हो। चितवन–२ मा आर्थिक प्रगति गर्नुछ। पर्यटन, कृषि क्षेत्रका विस्तार गर्नुपर्छ। शक्तिखोरको ओद्योगिक क्षेत्रको कामलाई अगाडि बढाउने हो। मेरो क्षेत्रमा केरा किसानहरूले धेरै समस्या भोग्दै आएका छन्। उनीहरूको समस्या समाधान गर्नुछ। कृषिलाई आधुनिकीकरण गर्न पहल गर्नेछु। शिक्षा, स्वास्थ्य, रोजगारको विषयमा काम गर्ने योजना छ। यसको अलवा समृद्धि नेपालको लागि उद्योग, व्यवसाय, व्यापारलाई तीन खम्बे नीतिअनुसार सरकारी, निजि र गैरसरकारी संस्था मिलेर देश निर्माणका लागि काम गर्नु पर्दछ। विशेष गरेर सरकारी विद्यालयमा आमुल परिवर्तन गर्नुपर्दछ। स्वास्थ्य सेवा विस्तारका लागि काम गर्दछु। तत्लो तहका मानिसहरूको जीवनस्तर उकास्नु नै पहिलो प्राथमिकता रहन्छ।  

मौलिक हक कार्यान्वयन गर्न प्रयत्न गर्ने छु: कृष्णभक्त पोखरेल

मेरो मुख्य एजेण्डा नेकपा(एमाले)ले जारी गरेको घोषणापत्र कार्यान्वयन गर्ने हो। चुनावी घोषणा पत्र बाहेक हामीले जनतासंग गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने हुन्छ। स्वास्थ्य, शिक्षा जस्ता विषय मौलिक हकमा स्थापित छन्। तिनिहरूलाई यो ५ वर्षमा सबै नागरिकलाई निःशुल्क उपलब्ध गराउन प्रयत्न गर्दछु। कम्तिमा पनि दुई लाखको स्वास्थ्य बिमा सबै नागरिकको होस् र माध्यमिक तहसम्मको शिक्षा सबैका लागि निःशुल्क होस् त्यो कुराको प्रत्याभूत गराउने कुरा मैले सोचेको छु। अर्को कुरा भरतपुर महानगरपालिका, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा वैज्ञानिक ल्याण्डफिल्ड साइट बनाउनु सकिएन भने फोहोर व्यवस्थापन गर्न कठिन हुनेछ। भरतपुरमा त तुरुन्त गर्नु पर्नेछ। भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा रिङरोडको डिपिआर बनेर अगाडि बढेको छ। त्यसलाई अगाडि बढाउनुपर्नेछ। भरतपुर र कालिकामा ढल र खोलाको व्यवस्थापनमा पनि प्राथमिकताका साथ काम गर्नेछौं। सडक पिच गर्दा ढलको अनिर्वाय राख्ने व्यवस्था गर्न मेरो मुख्य पहलकदमी हुन्छ। १० वर्षमा हरेक जनताको दुःख सुखमा सँगै छु। सबैसँग व्यक्तिगत सम्बन्ध छ। संसद्मा १७६ वटा कानुन पास गर्दा मैले कांग्रेस, एमाले माओवादी भनिन्। सबैमा सर्वसहमत गराएको छु। यो कुरा नेपालकै इतिहासमा रेकर्ड पनि बनेको छ।

प्रकाशित: १६ कार्तिक २०७९ ०२:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App