२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्छः दाहाल

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्छ

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले आफूले गोरखाबाट चुनाव जित्ने सुनिश्चित भइसकेको दाबी गरेसँगै मुलुकको आर्थिक विकासका लागि ठूलै धक्का दिनुपर्ने अवस्था रहेको बताएका छन्।

गोरखा क्षेत्र नम्बर २ का जनतामा उत्साह छाएकाले आफूले त्यहाँबाट चुनाव जित्नेमा कुनै दुविधा नरहेको अध्यक्ष दाहालको भनाइ थियो। सोमबार काठमाडौँमा आयोजित पार्टीको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा उनले गोरखाली जनता, त्यहाँको स्थानीय पार्टी कमिटी, बुद्धिजीवि र गठबन्धनका नेताहरुको आग्रहमा मात्रै आफूले गोरखाबाट चुनाव लडने निर्णय लिएको स्पष्टिकरण समेत दिए।

चुनाव हारिन्छ कि भनेर आफूले गोरखामा पुगेर उम्मेदवारी नदिएको अध्यक्ष दाहालले पटकपटक दोहोर्‍याए। अध्यक्ष दाहालले जनयुद्ध र जनक्रान्तिको सम्पूर्ण तयारी गोरखाबाट भएकाले आर्थिक समृद्धिको अभियान पनि सोही ठाउँबाट अघि बढाउन सकिन्छ भन्ने विश्वास पनि आफूले लिएको उल्लेख गरे।

दाहालले सत्तारुढ गठबन्धन कायमै रहने पनि बताए। संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षडयन्त्र भएसम्म यो गठबन्धन टिकीरहने उनको जिकीर थियो। उनले  सत्तारुढ गठबन्धनको मुख्य एजेण्डा भनेको आर्थिक विकासलाई गतिदिने रहेको पनि दोहोर्‍याए। आफूले विस्तृत शान्ति सम्झौताको बेलानै समृद्धिका लागि क्रमभंगता भनेको र अब त्यो छिट्टै हुने पनि अध्यक्ष दाहालले बताए।

उनले भने, ‘गठबन्धन टिक्छ। यो गठबन्धन किन बन्यो भन्ने कुरासँग नै यसको आयू कति भन्ने कुरा चाँही आधारित छ। जबसम्म यो देशमा झण्डे ७० वर्ष लडेर सशष्त्र र शान्तिपूर्ण आन्दोलनको योगफलको रुपमा प्राप्त भएको संविधानमाथि घात हुने र त्यसलाई उल्ट्याउने षडयन्त्र रहिराख्छ। गठबन्धनको आवश्यक्ता पनि रहिराख्छ। त्यसकारण यो गठन्धन अहिले हाम्रो अलगअलग प्रतिबद्धता भएपनि गठबन्धन हाम्रो साझा प्रतिबद्धताका साथ त्यो अगाडि जान्छ। र, त्यो मार्फत् हामीले आर्थिक विकासलाई गति दिने हाम्रो मुख्य एजेण्डा समृद्धिका लागि क्रमभंगता जो भनिएको छ। तपाईहरुलाई थाहा छ म पहिलो पटक विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गर्दैगर्दा मैले प्रज्ञा भवनमा भनेको पहिलो कुरा पनि त्यही थियो। हामीले अब १०/१५ वर्षमा जे अनुभव गरियो। विकासमा भएजस्तो पनि भएको छ, छैन जस्तो पनि भएको छ। त्यो स्थितिको अन्त्य अब सामान्य रुपले हुँदैन। क्रमभंग गरेरै गर्नुपर्दछ। ठूलै धक्का दिएर गर्नुपर्छ भनेर भनिएको छ।’

यस्तै सोही कार्यक्रममा प्रतिबद्धता पत्र सार्वजनिक गर्दै दाहालले पार्टीले नेपालको शासकिय स्वरुप परिवर्तन गरी प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिय प्रणालीमा जानुपर्नेमा जोड दिएको बताए। उनले आफूहरु संविधान निर्माणताकादेखि नै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा रहेपनि सो समयमा निस्कर्षमा पुग्न नसकेको उल्लेख गरे।

सो समयमा आफूहरुले संविधान संशोधनको माध्यमबाट कार्यकारी राष्ट्रपतिको प्रणालीमा जान सकिने भन्दै असहमति राखेको पनि उनले स्पष्ट पारे। अध्यक्ष दाहालले आम जनताको पहुँचका लागि पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नुपर्ने पनि माओवादीको प्रतिबद्धतापत्रमा उल्लेख भएको बताए।

त्यस्तै राज्यमा सबै वर्ग र समुदायको प्रतिनिधित्वका लागि स्वायत्त क्षेत्र, विशेष क्षेत्र र संरक्षित क्षेत्रको व्यवस्था गर्नुपर्ने पनि उनले बताए। उनले नेपालको कर्मचारी प्रशासन सुधारका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गर्नुपर्ने बताए। त्यस्तै न्यायपालिकाको पनि पुनःसंरचना गर्नुपर्ने बताए। उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरी वि.सं. २०४७ सालपछि सार्वजनिक लाभको पदमा बसेकाहरुको सम्पत्ति छानबिन गरिने र दोषीउपर कारबाही गरिने व्यवस्था गर्ने पनि उनको भनाइ छ।

उनले भने ‘उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरी कर्मचारीतन्त्रलाई रुपान्तरण गर्ने। स्वतन्त्र, निष्पक्ष र जनताप्रति उत्तरदायी न्यायपालिकाको व्यवस्थापन गर्न न्यायपालिकाको पुनःसंरचना गर्ने। उच्चस्तरस्य सम्पत्ति छानबिन आयोग गठन गरी २०४७ सालपछि सार्वजनिक लाभको पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्ने र उचित कारबाही गर्ने भन्ने कुरालाई पनि हामीले ठोस रुपमा नीतिगत रुपमा नै अगाडि सारेका छौँ।’

माओवादी केन्द्रको आगामी दिनको मुख्य एजेण्डा सुशासन र समृद्धि भएको अध्यक्ष दाहालले बताए। आर्थिक समृद्धिका लागि निरन्तरतामा क्रमभंग गरेर अगाडि बढ्ने उनको भनाइ छ। व्यापार घाटा नियन्त्रणका लागि राष्ट्रिय व्यापार प्रतिष्ठान गठन गर्ने, रोजगार वृद्धिका लागि राष्ट्रिय रोजगार प्राधिकरण गठन गर्ने, राष्ट्रिय महत्वका आयोजनाको द्रुत कार्यान्वयन र पुँजिगत खर्च वृद्धिका लागि राष्ट्रिय विकास आयोजना कार्यान्वयन प्राधिकरण गठन गर्ने माओवादी केन्द्रको घोषणापत्रमा उल्लेख छ।

त्यस्तै माओवादी केन्द्रले अघि सारेका कार्यक्रमहरुमा कुनैपनि प्रकारको वैदेशिक सैन्य गठबन्धनबाट मुक्त गरी नेपाललाई शान्ति क्षेत्रको रुपमा स्थापित गर्ने, दुई अंकको आर्थिक वृद्धिको आधार निर्माण गर्ने, कृषि र किसानलाई केन्द्रबिन्दुमा राख्ने, कृषियोग्य जमिन बाँझो राख्ने स्थितिको अन्त्य गर्ने छन्।

त्यस्तैगरी जग्गा एकीकरण, चक्लाबन्दी र सामूहिक खेतीमार्फत कृषि उत्पादन वृद्धि गर्ने, प्रत्येक प्रदेशमा २ वटा आधुनिक औद्योगिक केन्द्र निर्माण गर्ने, हरेक पालिकामा एक औद्योगिक ग्राम निर्माण गर्ने, सरकारी कार्यालयमा नेपाली उत्पादन प्रयोग गराइने पनि घोषणापत्रमा उल्लेख छ।

अध्यक्ष दाहालले राष्ट्रिय गौरवका आयोजना, उत्पादनमा आधारित कृषि परियोजना, पर्यटन र औद्योगिक प्रतिष्ठानहरुमा १० लाख युवाहरुलाई रोजगारीको वातावरण बनाउने र रोजगार प्राधिकरण अन्तर्गत २० लाख युवा रोजगार र स्वरोजगार बनाउने पार्टीको योजना रहेको बताए।

त्यस्तै आगामी स्थानीय तह निर्वाचन अघिसम्ममा विदेशमा रहेका नेपालीहरुले मतदान गर्नसक्ने व्यवस्था मिलाउने बताइएको छ। निर्वाचनपछि नयाँ सरकार बनेको ६ महिनाभित्रमा नयाँ शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता पनि गरिएको छ।

प्रकाशित: १४ कार्तिक २०७९ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App