१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

खेतबारीमा किसानलाई सघाए जस्ताे गरेर भोट माग्दै उम्मेदवार

सिन्धुली क्षेत्र नं. २ बाट गठबन्धन तर्फका प्रतिनिधि सभाका उम्मेदवार लेखनाथ दाहाल र प्रदेश सभाका उम्मेदवार छेत्रबहादुर बम्जन मतदातासँगै खेतमा पुगेर धान झार्न सघाउँदै

आगामी मंसिर ४ गते हुने संघिय र प्रदेश सभाको निर्वाचनका लागि मत माग्न उम्मेदवारहरु घरदैलो अभियानमा तीब्र गतिमा पुग्न थालेका छन्। मतदातामाझ विभिन्न एजेण्डा र आश्वासन सहित उम्मेदवारहरु घरदैलोमा पुग्न थालेका छन्।  

उम्मेदवार घरदैलोमा पुगे पनि मतदातालाई भने खेतबारीको कामको चटारो छ। धान पाकेकाले मतदाताहरु धमाधम धान काट्न र विटा लगाउन व्यस्त देखिएपछि उम्मेदवारहरु पनि मतदाताकासँगै काम सघाउँदै मत माग्न खेतबारीमै पुग्न थालेका छन्। धान झार्न व्यस्त रहेका किसानको खेतबारीमै पुगेर सिन्धुली क्षेत्र नं. २ का बाम गठबन्धनबाट संघिय उम्मेदवार बनेका माओवादी केन्द्रका लेखनाथ दाहाल र सोही क्षेत्रका प्रदेश क का गठबन्धनकै काँग्रेसका उम्मेदवार छेत्रबहादुर बम्जनले धान झारेर मतदातासँग मत मागे। हामी तपाइहरुकै साथमा छौं, किसानका समस्या समाधान हाम्रो पनि एजेण्डा हो, किसानसँगै धान झार्न सघाउँदै प्रतिनिधि सभाका उम्मेदवार दाहालले भने। उम्मेदवारहरु घरदैलोमा पुग्नलाई समय अभाव हुने भन्दै तिब्र गतिमा घरदैलोमा पुगेका छन्। धान काट्ने र धान झार्ने समय भएकाले उम्मेदवार घरदैलोमा पुगेपनि अधिकांश मतदाता खेतबारीमा पुग्ने गरेका छन्।  

उम्मेदवार आउनु हुन्छ, घरमा हामी खेतमा धान काट्न व्यस्त हुन्छौ दुधौलीका किसान रविन अधिकारीले भने, निर्वाचनको दिन मत हाल्न गएपनि हामीलाई अहिले धान भित्र्याउने चटारो छ। उम्मेदवार तथा नेता कार्यकर्तालाई चुनावी रौनकको व्यस्तता देखिएपनि मतदातामा भने हालसम्म रौनक देखिएको छैन। चुनावी सभा तथा मत माग्न घरदैलोमा आउने उम्मेदवारसँग समेत मतदाताको उपस्थिति खासै देखिएको छैन। 

सिन्धुलीमा प्रतिनिधि सभा तर्फ दुई क्षेत्र छन् भने प्रदेश सभा तर्फ चार क्षेत्र रहेका छन्। सिन्धुली क्षेत्र नं. २ प्रतिनिधि सभा तर्फ एमालेबाट मनोज जंग थापा र प्रदेश सभा क तर्फ एमालेका बिनोद खड्का चुनावी प्रतिस्पर्धामा छन्। यस्तै यसै क्षेत्रको प्रदेश ख तर्फ बाम लोकतान्त्रिक गठबन्धनबाट बाबुराम भट्टराई निकटका गंगा नारायण श्रेष्ठ र नेकपा एमालेबाट नेकपा माओवादी परित्याग गरि पछिल्लो समय एमालेमा प्रवेश गरेका रामकुमार पौडेले चुनावी प्रतिस्पर्धामा छन्। यस्तै सिन्धुली क्षेत्र नं. १ मा गठबन्धनका तर्फबाट नेपाली प्रतिनिधि सभामा नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र नेकपा एमालेबाट प्रदिप कटुवाल चुनावी मैदानमा होमिएका छन्। 

यस क्षेत्रको प्रदेश क बाट गठबन्धनका तर्फबाट माओवादीका मातृका भट्टराई र एमालेबाट सुवास देवकोटा चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् भने प्रदेश ख बाट गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका रामकुमार पहाडी र एमालेका तर्फबाट कुमारबहादुर कार्की प्रतिस्पर्धामा छन्। प्रतिनिधि सभा तर्फ सिन्धुली क्षेत्र नं. १ मा उम्मेदवार बनेका नेपाली काँग्रेसका श्यामकुमार घिमिरे र प्रदिप कटुवाल गत २०७४ सालको निर्वाचनमा सोही क्षेत्रको प्रदेश ख का प्रतिस्पर्धा गरेका प्रतिस्पर्धी हुन्। 

नेकपा माओवादीसँगको चुनावी तालमेलसँगै एमालेका प्रदिप कटुवाल विजयी बनेका थिए। यस्तै सिन्धुली क्षेत्र नं. २ प्रतिनिधि सभाका गठबन्धनतर्फबाट उम्मेदवार बनेका माओवादी केन्द्रका जिल्ला अध्यक्ष लेखनाथ दाहालसँगै नेकपा एमालेका तर्फबाट मनोज जंग थापा प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: १२ कार्तिक २०७९ १३:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App