१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘शान्ति र संविधानका लागि गठबन्धन’

पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूले संविधानको रक्षा र शान्ति प्रक्रियालाई पूर्णता दिनका लागि गठबन्धन आवश्यक रहेको बताएका छन्। उनीहरूले चुनाव जित्ने हार्नेभन्दा पनि यो समयको माग भएको बताए। पाँच दलीय गठबन्धनका अगुवा कार्यकर्ताहरूलाई सुर्खेतको वीरेन्द्रनगरमा सम्बोधन गर्दै शीर्ष नेताहरूले परिवर्तनका बहाक शक्तिहरू आपसमा नमिल्दा संविधान र संघीयतानै धरापमा पर्ने अवस्था रहेको बताए।

नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन समयको माग भएको बचाए। उनले मंसिर ४ को निर्वाचन मात्रै नभएर धेरै निर्वाचनसम्मका लागि परिवर्तन चाहने शक्तिबीचको गठबन्धन आवश्यक रहेको बताए। ‘हुन त प्रचण्डजीले चार-पाँच वर्षपछि के-के हुने हो भन्नु भएको छ,’ देउवाले भने, ‘गठबन्धन समयको माग हो, परिवर्तनकारी शक्तिहरू अहिलेको निर्वाचनमा मात्रै होइन, धेरै निर्वाचनसम्म पनि मिल्न आवश्यक छ।’

सभापति देउवाले गठबन्धन विजयी भए कर्णालीको विकास हुने बताए। ‘कर्णाली प्रदेश अत्यन्तै पछाडि पारिएको क्षेत्र हो, संघीयताले कर्णालीजस्तो पिछडिएको क्षेत्रका लागि बरदान सावित भएको छ,’उनले भने, ‘सम्भावनाको खानी कर्णालीको समृद्धि र विकासका लागि पनि यहाँ गठबन्धनको जित हुन आवश्यक छ।’ उनले प्रदेश सरकारको नेतृत्वका विषयमा पनि पाँच दलीय गठबन्धनबीच सहमति भइसकेको बताउँदै कर्णालीको विकास गर्न सक्नेलाई प्रदेशको नेतृत्व सुम्पिने बताए। ‘गठबन्धन विजयी भए स्थायी सरकार बन्छ,’ उनले भने, ‘स्थायी सरकारलेनै विकास र समृद्धिका लागि काम गर्छ।’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनको एकताको सन्देशलाई मतदातासम्म पुर्‍याउन आफूहरू देश दौडाहमा निस्किएको बताए। उनले केही ठाउँमा बागी, स्वतन्त्र र पार्टीको चुनाव चिह्न लिएर उम्मेदवार बनेकाहरूका कारण विजयलाई संशयमा पुर्‍याएको बताउँदै मंगलबारसम्म गठबन्धनको बैठकले यसलाई टुंगोमा पुर्‍याउने बताए।

नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहालले कर्णाली प्रदेशसभाका सदस्यले प्रतिगमन विरोधी आन्दोलनका क्रममा गरेको त्याग, विद्रोहको भूमिका र महत्वलाई गठबन्धन नेतृत्वले नविर्सेको बताए। ‘कर्णालीबाट प्रतिगमनविरुद्ध निर्णायक र असाधारण प्रहार नगरेको भए देशैभरि प्रतिगमनविरोधी आन्दोलनलाई उपचाइमा पुर्‍याउन र यो गठबन्धनलाई आकार दिन सम्भव थिएन्,’ उनले भने, ‘त्यसैले गठबन्धनले कर्णालीलाई र एकीकृत समाजवादीलाई विशेष रूपमा हेरेको छ, हामीले जित्ने निश्चित भएका क्षेत्रहरूमा पनि समाजवादीलाई छोडेका हौं।’

दाहालले अन्तिम घडीमा तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइरालाले आफूलाई देशको नेतृत्व लिन भनेको स्मरण गर्दै कांग्रेसले यो कुरा बुझ्नुपर्ने बताए। प्रचण्डले सरकारकातर्फबाट शान्ति प्रक्रियाको सुरुवातकर्ता शेरबहादुर देउवा भएको दाबी गरे। ‘म भूमिगत रूपमा दाङमा थिएँ, त्यति बेला शेरबहादुर देउवा देशको प्रधानमन्त्री हुनुन्थ्यो,’ उनले भने, ‘भूमिगत हुँदा पहिलोपटक कुनै प्रधानमन्त्रीसँग कुरा भएको थियो भने त्यो (उहाँ) देउवासँग हो, त्यहीँबाट नेपालमा शान्ति प्रक्रियाको शुभारम्भ भएको हो।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरूद्वको मोर्चा कर्णालीबाट सुरूवात भएको बताए। अध्यक्ष नेपालले कर्णालीमा तत्कालीन नेकपा एमालेका आफू निकटका चार जना सांसदहरूले फ्लोरक्रस गरेर प्रतिगमनविरुद्धको ब्रेक लगाएको बताए। ‘कर्णाली प्रदेशमा प्रतिगमनका पक्षपोषकहरूले बहुमत शिद्ध गर्न खोजेका थिए’, पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले भने, ‘त्यहीँ बेला यहाँका वीर योद्वाहरूले खेलेको भूमिकाले नयाँ सन्देश दियो, प्रतिगमनमाथि ब्रेक लाग्यो।’ नेपालले एमाले अध्यक्ष केपी ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए। ‘संघीयता, गणतन्त्र र धर्म निरपेक्षता विरोधीसँग गरिएको चुनावी साँठगाँठले पुष्टि गर्छ,’ उनले भने, ‘पाँच दलीय गठबन्धन अहिलेको आवश्यकता र पवित्र छ।’ 

प्रकाशित: ७ कार्तिक २०७९ ०१:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App