८ वैशाख २०८१ शनिबार
राजनीति

सरकारी गाडी लिएर नाकामा घरायसी सामग्री किनमेल गर्न पुगिन् नगरपालिकाकी उपप्रमुख

सरकारी कामकाज बाहेक अन्य काममा प्रयोग गर्न नपाइने सरकारी गाडीको धनुषामा दुरुपयोग बढ्दै गएको छ।

जनप्रतिनिधि र सरकारी कर्मचारीले आफूअनुकूल सरकारी गाडीको प्रयोग गर्न थालेका छन्। विभिन्न मेला महोत्सव, घुमघाम र निजी काममा समेत सरकारी गाडी प्रयोग भइरहेका छन्। तर कुनै पनि निकायले गाडी दुरुपयोग भएको नियमन गरेको छैन।

बिहीबार सहिदनगर नगरपालिकाकी उपप्रमुख सुनिता सिंह सरकारी गाडी लिएर घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न मैथानपुर नाकामा पुगेका थिइन्। उपप्रमुख सिंहले चढ्दै आएको प्रदेश -२-०२-००१ झ ००६७ नम्बरको सरकारी गाडी प्रयोग गरी किनमेल गर्न नेपाल-भारत सिमानामा पुगेका थिइन्।

कार्यालयको काममा मात्रै प्रयोग गर्नुपर्ने सरकारी गाडी लिएर उपप्रमुख सिंह आफ्नो श्रीमान् र छोरासहित घरायसी प्रयोजनको लागि सरसामान किनमेल गर्न बिदेह नगरपालिका-१ स्थितमैनाथपुर नाकामा पुगेकी थिइन्। उपप्रमुख सिंह दशगजा नजिकै गाडी पार्किङ गरेर सरसामान लिन सिमापारी पुगिन्।

सिमानापारीबाट फर्केपछि किनेको समानहरु गाडीमा लाद्न खोज्दा बिओपी मैनाथपुरबाट सिमाना खटिएका प्रहरीले गाडीमा समान राख्न नदिएपछि त्यो समानहरु टेम्पोमा राखेर गएको सशस्त्र प्रहरीले बताए। उपप्रमुख सिंहले 'घरायसी प्रयोजनको सामग्री लिन सिमापारी जादैछौं' भनेर सिमाना खटिएका सशस्त्र प्रहरीलाई भनेकाे बिओपी मैनाथपुरका सशस्त्र प्रहरी निरीक्षक गणेश पाण्डेले बताए। उनले भने, 'सरकारी गाडीमा व्यक्तिगत सरसामान ढुवानी गर्न पाइदैन। हामीले त्यस्तो देखेपछि रोकेका हौं, गाडीमा सरसामान राख्न नदिएपछि उपप्रमुख सिंहले टेम्पोमा राखेर जानुभयाे।'

'श्रीमान् र छोरासँगै गाडीमा घरायसी प्रयोजनको लागि सरसामान लिन सिमापारी गएका थियौं। तर हामीले किनेको समानहरु सरकारी गाडीमा नराखी टेम्पो भाडा गरी ल्याएको।' उनले भनिन् 'सरकारले स्वंम सरकारी सम्पत्तिको दुरुपयोग गर्दैछन्, हामीले सानोतिनो दुरुपयोग मात्रै गरेको हो।'

प्रकाशित: ३ कार्तिक २०७९ १३:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App