३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

रोल्पाली चुनाव–विगत र वर्तमान

रोल्पा २०१८ सालमा सल्यान, रुकुम र प्युठानबाट चोइटाएर बनेको जिल्ला हो। यहाँबाट २०१५ सालमा गजुलका खडानन्द सुबेदीले क्षेत्र नं ७३ बाट जितेर प्रतिनिधित्व गरेका थिए।  

राजा महेन्द्रले सत्ता हातमा लिए पछि थापा–चन्दको दोहोरीका बिचमा सधै चुनाव जितेर जाने अनि गए पछि मन्त्री पक्का पक्की भएका व्यक्ति वालाराम घर्ति मगर हुन। आफ्नो जीवनमा करिव दर्जन पटक चुनाव लडेका उनी बहुदल पछि पनि २०५१ सालमा राप्रपाका तर्फबाट ९८२३ मत ल्याएर रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए।  

२०४८ सालमा तत्कालिन सयुक्त जनमोर्चा नेपालबाट क्षेत्र नं. १ मा बरमन बुढा ९६५६ मत र क्षेत्र नं. २ बाट सोहि पार्टी कै कृष्णबहादुर महरा १२ हजार ६ सय ३६ मत ल्याएर निर्वाचित भएका थिए। २०५१ मा वालाराम घर्ति क्षेत्र १ नं. बाट ९५२३ मत र क्षेत्र २ बाट नेपाली कांग्रेसका सुरेन्द्र हमाल १७३९५ मत ल्याएर संसद भवन छिरेका थिए। २०५६ मा आइपुग्दा दुवै क्षेत्रबाट नेपाली कांग्रेस विजयी भएर गएको थियो। क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका लेखनाथ आचार्य ६६९५ मत र २ बाट पुनः सुरेन्द्र हमाल ८३४४ मत ल्याएर निर्वाचित भएका थिए।  

यी ३ वटा चुनावको बिचमा देशमा द्धन्द उत्कर्षमा पुग्यो। माआवादी विद्रोहले रोल्पालाई अनौठोसँग विकासमा पछाडि पार्यो। 

२०५२ देखि २०६३ सम्म रोल्पाका गाउँहरुमा सरकारी उपस्थिति प्रायः शुन्य रह्यो। रक्तपात भयो, एकल महिला, टुहुरा, अनाथ, अपाङ्गको गन्ती हुन छाड्यो। सबै भावना शुन्य जस्तै भए। एक प्रकारले रोल्पाली आशु सुक्यो। बुर्जुवा शिक्षाका कारण त्यो विचमा रोल्पालीहरु स्कुल–क्याम्पस गएनन्।  

हातलाई मुठी पार्नु, माथि उठाउनु, अनी तल झारेर हात मिलाउनु, मित्रताको प्रतिक। सिकाइको शुरुवात र अन्त्य त्यहि भयो। आशा जगाइयो, विश्वस्त पारियो, पछाडि हिडाइयो, खाना खाइयो, जनतालाई पिढिमा सुताएर उनीहरुको विस्तारामा सुतियो, अनि दिइयो आश्वासन। यहीबीचमा रोल्पालीले खोजे जस्तै विभिन्न चरण पार गदै आयो गणतन्त्र। रोल्पाली खुसिले नाचे, गाए, खाए, चाउरीएका अनुहारमा कान्ती आयो। गुमेका आफन्तको सपना करिव–करिव साकार भएको अनुमान गरियो। अपाङ्गले अंग गुम्नुको पिडा भुले, घाइतेका घाउ दुख्न छाडे।  

यस्तै–यस्तै, आसै–आसमा २०६४ चुनाव भयो। २०६४ को चुनावमा क्षेत्र नं. १ बाट महिला नेत्रृ जयपुरी घर्ति (नेकपा माओबादी) २६ हजार ५सय५ र क्षेत्र नं. २ बाट सोही पार्टीका पुष्प कमल दाहाल ३४ हजार २ सय २० मत ल्याएर छिरे सिंहदरवार। अब रोल्पामा हुन्छ है। रोल्पालीले रोजेका, खोजेका व्यक्तिहरुका उपस्थितिमा सत्ता शुरु भयो। रोल्पाली हस्ति कृष्णबहादुर महरा मन्त्री बने। दर्जन बढि रोल्पाली केन्द्रीय सदस्य रहेको नेकपा माआवादी सत्तासिन भएपछि दङ्रग परेका रोल्पालीहरु, दाहालले जितेका क्षेत्र मध्ये काठमाडांै रोजेर रोल्पा छोड्दा झसङ्ग भए।  

माओवादी सत्तामा पुगेको १ वर्ष पुगिसक्दासम्म रोल्पालीले सोचे अनुसारको कुनै पनि आशा लाग्दा गतिविधी भएनन्। त्यस कारण माओवादी २०६५ को उप चुनावमा क्षेत्र नं. २ मा १४ हजार २ सय ८७ मत घटाएर १९ हजार ९ सय ३३ मा चित्त बुझाउन वाध्य भयो। 

२०६४ मा रोल्पाबाट निर्वाचित २ जना सभासद बाहेक रोल्पाले धेरै सभासद पायो। उतिबेला दाङ जितेका कृष्ण बहादुर महरा, ललितपुरबाट जितेका बर्षमान पुन, काठमाडाैंबाट जितेका झक्कु सुवेदी सवै रोल्पाली थिए। त्यसै गरि समानुपातिकबाट खुमा सुवेदी, सन्तोषी विक, ओनसरी घर्ति, तारा घर्ति, जोखबहादुर महरा। यी सबै माओवादीबाट संविधान सभा भवन पुगे।  

२०४८ सालमा १ लाख १२ हजार १ सय ९१ रहेको मतदाता संख्या २०५१ मा १८ हजार ४ सय ४३, २०५६ मा १ लाख २४ हजार ६ सय ६२, २०६४ मा १ लाख ५३ हजार ९ सय ६६ थियो। तर दुर्भाग्य, विविध कारणबस २०७० मा मतदाता संख्या २०४८ सालको भन्दा पनि कम रह्यो ९४ हजार ४ सय ३७ मात्र। यहिबीचमा ९४ हजार ४ सय ३७ मतलाई बाँड्न लालायित भए दलहरु। क्षेत्र नं. १ मा १५ जनाले ४१ हजार ८ सय ८६ मत भाग गरेर आफ्नो पोल्टामा थापे भने क्षेत्र नं.२ मा ११ जनाले ५२ हजार ५सय ५१ मत थापे।  

विगतमा खासै विकास र जन–जीविकामा ध्यान दिन नसकेका कारण पछाडि परेका कांग्रेस, एमाले, राप्रपालाई माओवादि जति ठुलो हाउगुजी थियो २०६४ मा, दोस्रो पटक त्यो अवस्था रहेन। काग्रेस, एमालेले जति पनि सकारात्मक भुमिका रोल्पामा निभाउन नसक्नु अनि पार्टी फुटका कारण माओवादीलाई चुनाव फलामको चिउरा बनेको थियो।  

भुसको आगो बनेको पार्टी भित्रको अन्र्तद्वन्दका बिचमा वैद्य पक्षीय असहयोगका कारण माओवादीले चुनाव आफ्नो पोल्टामा पार्न भगिरथ प्रयास गर्यो। कुनै समय लालकिल्ला रहेको रोल्पा आधा दशक नवित्दै एउटा निर्वाचन लड्नलाई यति ठुलो कष्ट हुनुको कारण खोतलेर आगामि दिनहरुमा सम्वोधन गर्ने वातावरण वन्यो भने वास्तवमा नै यस पटकको चुनाव रोल्पा र रोल्पालीका लागि खडेरीका पानी बनेर आउने थियो।  

२०६४ मा २१ हजार ५ सय ५९ मत अन्तरले क्षेत्र नं.१ मा जित हासिल गरेको माओवादीले जित हासिलै गरेपनि दोस्रो पटक उसको भागमा जम्मा ११ हजार ४ सय ७ मत परेको थियो। क्षेत्र नं. २ मा दाहालले २८ हजार १ सय ९१ मत अन्तरले जितेकोमा  उपनिर्वाचनमा १४ हजार ९ सय ६४ मा चित्त बुझाउनु परेको थियो।

रगतको रातो संगै लालकिल्ला भनेर चिनिएको रोल्पामा अघिल्लो स्थानीय निर्वाचनमा माओवादीलाई ठुलो चोट लाग्यो। पाटी धुजा धुजा भएर फाटे पछि रोल्पालीका मन पनि फाट्यो। यहाँका १० स्थानीय तह मध्ये दुईमा एमाले र एउटामा कांग्रेसले विजय हासिल गर्यो। प्रदेश र संघको निर्वानमा माओवादीले जित हासिल गरे पनि चुनावमा हम्मे हम्मे परेको थियो। भर्खरै सकिएको स्थानीय तह निर्वाचनमा फेरि पनि माओवादीले गतिलो सफलता ल्याउन सकेन। दुई स्थानिय तहमा कांग्रेसले जित हासिल गर्यो भने एउटामा एमालेले जितेको छ।

यतिबेला दैलोमै प्रतिनिधिसभा र प्रदेश निर्वाचनले अन्यत्र जस्तै फेरि रोल्पा तातेको छ। कांगे्रस विरासत फर्काउने ध्यानमा छ भने माओवादी विरासत जोगाउने। गठबन्धनको मान राख्दै प्रदेशको एउटा सिट कांग्रेसको पोल्टामा परेको छ। दुई पटक रोल्पाबाटै निर्वाचन जितेका पुर्व मन्त्री बर्षमान पुन प्रतिनिधिसभामा भिड्दै छन् भने लामो समय दाहालका स्वकिय सचिब बनेका जोखबहादुर महरा प्रदेश (क) मा छन् भने कांग्रेस प्रदेश सभापती अमर सिंह पुन प्रदेश (ख)मा भिड्दैछन्। सत्ता गठबन्धनबाट रोल्पामा कांग्रेसलाई टिकट दिएका भन्दै माओवादी पोलिटब्युरो सदस्य दिपेन्द्र कुमार पुनले पाटिबाट राजिनामा दिएर स्वतन्त्र उमेद्वारी दिएका छन्। अन्य भन्दा प्रदेश (ख)को निर्बाचन रोचक हुने पक्का पक्की जस्तै छ।  

विभिन्न नेतृत्वको प्रतिष्ठा जोडिएको निर्वाचनले दिने परिणाम आफ्नो पोल्टामा पार्न नेताहरुको दौडधुप कडा रहेको देखिन्छ। गणतन्त्र पछिका विभिन्न कालखण्डमा रोल्पाली नेता कृष्णबहादुर महरा र ओनसरी घर्ती पटक पटक मन्त्री हुदै सभामुख बने। रोल्पाली अर्का पात्र नन्दबहादुर पुन दोस्रो पटक उपराष्ट्रपती बने। बर्षमान पुन करिब करिब हरेक सरकारका मन्त्री बनिरहे। पुगेन भनेर लुम्बिनी प्रदेशको मुख्य मन्त्रीमा कुलप्रशाद केसी पनि पुगे तर जनजीविकामा कसैले चासो नदिएको भने रोल्पाली मतदाताको गुनासो रहेको छ। 

प्रकाशित: ३१ आश्विन २०७९ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App