८ वैशाख २०८१ शनिबार
राजनीति

मधेस सरकारको लोभमा उपेन्द्रले गरे एमालेसँग तालमेल

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले निर्वाचनपछि मधेस सरकार बनाउने लोभमा जोखिम उठाएरै भए पनि नेकपा (एमाले) सँग चुनावी तालमेल गरेको पाइएको छ।

मधेस प्रदेशका प्रदेशसभाका ६४ निर्वाचन क्षेत्रमध्ये जसपाले ३६ सिटमा उम्मेदवारी दिएको छ। त्यसमध्ये ३० सिटमा जसपाले एमालेसँग तालमेल गरेको छ भने बाँकी ६ सिटमा जसपाले एक्लै उम्मेदवारी दिएको छ। मधेसमा एक्लै सरकार निर्माण गर्न कम्तीमा ३३ सिटमा विजयी हुनुपर्छ। कारणवश, मधेसमा एक्लै सरकार गठन गर्न संख्या नपुगे पनि प्रदेशसभामा सबैभन्दा ठूलो दल बनाई मुख्यमन्त्री आफ्नो भागमा सुरक्षित राख्ने रणनीति जसपा अध्यक्ष यादवले बनाएका छन्।

जसपा प्रवक्ता मनीष सुमनका अनुसार जसपाले एमालेसँग नभई सत्तारुढ दलहरूसँग गठबन्धन गरेको भए बढीमा मधेस प्रदेशमा २२ सिट पाउँथ्यो; जुन सरकार बनाउन बहुमत पुग्दैन। ‘एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा जसपाले सरकार बनाउने सम्भावना छ। किनभने आधाभन्दा बढी सिटमा हामीले उम्मेदवारी दिएका छौ’, जसपा प्रवक्ता मनीष सुमनले भने, ‘सत्तारुढ गठबन्धन गरेको भए प्रदेशसभामा बढीमा २२ सिट पाउँथ्यौं। यो भनेको सरकार बनाउने सम्भावना हामीसँग थिएन।’ एमालेसँगको तालमेलपछि मधेस प्रदेशमा सरकार बनाउन जसपालाई बाटो खुला भएको सुमनले बताए।

एमालेसँगको तालमेलपछि जसपाले प्रदेशसभा मात्र नभई प्रतिनिधिसभामा केही सिट बढी पाएको छ। एमाले र जसपाले ५२ सिटमा तालमेल गरेका छन्। ५२ सिटमध्ये ३५ सिटमा एमाले र १७ सिटमा जसपाले उम्मेदवारी दिएका छन्। मधेसका ३२ सिटमध्ये जसपाले १४ सिटमा उम्मेदवारी दिएको छ। जसपाले गठबन्धनसँग तालमेल गरेको भए मधेस प्रदेशमा बढीमा १२ सिट जसपाले पाउँथ्यो। एमालेसँगको तालमेलपछि जसपाले मधेस प्रदेशमा २ सिट थपेको छ। ‘एमालेसँगको तालमेलपछि हामीले देशभर ८१ सिटमा उम्मेदवारी दिएका छौं। एमालेसँग तालमेल नगरेको भए १४÷१५ सिटमा मात्र हामीले उम्मेदवारी दिने थियौं’, सुमनले भने।

एमालेसँगको तालमेलपछि प्रतिनिधिसभा र प्रदेशसभामा जसपाले बढी सिट पाए पनि जसपाले उम्मेदवारी दिएका क्षेत्रमा जसपाका उम्मेदवारहरू तुलनात्मक रूपमा असुरक्षित छन्। ‘सकेसम्म मधेस प्रदेश सरकार एकलौटी गठन गर्ने, त्यो नभए सरकारको नेतृत्व जसपाले नै गर्ने गरी अध्यक्षज्यूले एमालेसँग तालमेल गरेको देखिन्छ’, जसपाका एक केन्द्रीय नेताले भने, ‘प्रतिनिधिसभाभन्दा प्रदेशसभालाई लक्षित गरी एमालेसँग तालमेल गरेको यसबाट थाहा हुन्छ।’

एमालेसँगको तालमेलपछि जसपा अध्यक्ष यादव आफैंले उम्मेदवारी दिएको सप्तरी क्षेत्र नं २ मै जोखिममा छन्। आफ्नै क्षेत्र जोखिममा राखेर यादवले एमालेसँग तालमेल गरेका छन्। गत स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मतपरिणामलाई आधार मान्दा मधेस प्रदेशका ६ सिट मात्र जसपा–एमालेको गठबन्धन बहमुतमा छ। बाँकी निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धन अगाडि देखिन्छ। जसपा–एमाले गठबन्धन बहुमतमा रहेका क्षेत्रहरूमा सप्तरी १, बारा २, पर्सा १, सिराहा १ र ३ तथा पर्सा २ हो।

२०७४ को निर्वाचनमा मधेस प्रदेशसभाका ६४ सिटमध्ये २५ सिटमा तत्कालीन राष्ट्रिय जनता पार्टी र २९ सिटमा तत्कालीन संघीय समाजवादी फोरम विजयी भएको थियो। प्रदेशसभामा तत्कालीन राजपाभन्दा बलियो भएकाले मुख्यमन्त्री जसपाले पाएको थियो। यसपटक पनि जसपाले सकेसम्म एकलौटी सरकार बनाउने, त्यो नभए प्रदेशसभामा सबैभन्दा ठूलो दल बन्ने जसपा रणनीति छ। यही रणनीतिको कारण विगतमा दुस्मन झैं देखिएका अध्यक्ष यादव अहिले एमालेसँग नजिकिएका छन्।

प्रकाशित: ३१ आश्विन २०७९ ०१:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App