८ वैशाख २०८१ शनिबार
राजनीति

राजनीतिमा स्थापित दाहाललाई २९ वर्षीय तन्नेरीको चुनौती

चितवन–३ बाट निर्वाचन उठ्ने तयारी गरेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अन्तिम समयमा गोरखा–२ रोजेपछि अहिले उक्त निर्वाचन क्षेत्र चर्चामा छ। पूर्वप्रधानमन्त्री, नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं दाहालकै पूर्वसहकर्मी डा. बाबुराम भट्टराईले निर्वाचन लड्दै आएको उक्त क्षेत्रको यसअघि पनि चर्चा हुने गथ्र्यो। दुईपटक प्रधानमन्त्री भइसकेका र राष्ट्रिय राजनीतिमा प्रभावशाली रहेका दाहालको आगमनले त्यो क्षेत्र थप चर्चामा आएको हो।  

नेपालको राजनीतिक वृत्तमा करिब दुई दशकदेखि शक्तिशाली भूमिकामा रहँदै दुईपटकसम्म प्रधानमन्त्री बनेका दाहाल नेकपा एमालेका तर्फबाट २९ वर्षीय युवा उम्मेदवार अब्दुस सलाम मियाँसँग प्रतिस्पर्धा गर्दैछन्। लामो समय भूमिगत राजनीतिमा सक्रिय दाहाल २०६३ असारमा बालुवाटारबाट सार्वजनिक हुनुभन्दा पहिले माओवादी अध्यक्षका रूपमा ‘प्रचण्ड’ नामले परिचित भए पनि वास्तवमा ती व्यक्ति अस्तित्वमा छन् वा छैनन् भन्नेसम्मको आशंका हुने गथ्र्याे।  

२०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरेका दाहाल २०४१ सालमा नेकपा (मशाल) को पाचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्युरो सदस्य चयन भएका थिए। २०४६ सालमा नेकपा (मशाल) को महामन्त्री बनेका उनी २०४८ सालमा नेकपा एकता केन्द्रका महामन्त्री भएका थिए। २०५१ सालमा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखेपछि उनले २०५२ सालबाट पार्टीको नेतृत्व गर्दै सशस्त्र युद्ध सुरु गरेका थिए।  

मुलुकमा नयाँ व्यवस्थाको स्थापनासँगै स्थिरता र स्थायित्वमार्फत विकासको नयाँ उचाइमा पुर्‍याउने सपना बाँड्दै सशस्त्र युद्धमार्फत प्रभाव स्थापना गर्न सफल माओवादी आन्दोलनले दाहालकै नेतृत्वमा २०६४ सालको संविधानसभाको निर्वाचनमार्फत सबैभन्दा ठुलो दलका रूपमा आफ्नो राजनीतिक अस्तित्व स्थापना गर्‍यो। तर पछिल्लो समय दाहाल सत्ता र शक्तिको खेलमा बढी नै आशक्त हुन थालेपछि माओवादी आन्दोलन अस्तित्वको लडाइँ लडिरहेको छ भने उनी राजनीतिक अस्थिरताको पर्यायजस्तै बनिरहेका छन्।  

कास्कीमा जन्मिएर चितवनमा हुर्केबढेका उनले आफ्नो भूमिगत राजनीति रोल्पा–रुकुम र आसपासमा रहेर अघि बढाए। तीन दशकभन्दा बढी पार्टीको मुख्य भूमिकामा रहेका उनी निर्वाचन लडेर जितेका ठाउँका जनताको विश्वास प्राप्त गर्न नसक्दा हरेक निर्वाचनमा कहाँबाट उठ्ने भन्ने सन्तापमा हुन्छन्।

गोरखामा दाहालसँग प्रतिस्पर्धा गर्न लागेका प्रमुख प्रतिपक्षी एमालेका उम्मेदवार मियाँ उनको पार्टीकै कान्छा उम्मेदवार भएको दाबी गरिएको छ। राष्ट्रिय राजनीतिमा पहुँच र अनुभवका हिसाबले उनी दाहालका अगाडि कमजोर उम्मेदवार हुन्। वैकल्पिक राजनीति गर्ने भन्दै विवेकशील साझा पार्टीबाट राजनीति सुरु गरेका उनी हालै मात्र एमालेमा प्रवेश गरेका हुन्। युवासँग सम्बन्धित केही संस्थामा नेतृत्वदायी भूमिकामा रहेका उनले अमेरिकालगायत मुलुकबाट अन्तर्राष्ट्रिय कोर्सहरू पनि गरेका छन्। उनी आफूले संसारका विकसित देशहरूको शासन प्रणालीको अध्ययन गरेको र त्यसलाई नेपालमा कसरी लागु गर्न सकिन्छ भनेर लागिपरेको बताउँछन्। त्यसका अतिरिक्त उनीसँग युवा जोस छ भने उनी गोरखाकै स्थानीय बासिन्दा पनि हुन्।

राजनीतिक अनुभव र पहुँच, जिल्लामा पार्टीको प्रभाव र गठबन्धनको समेत साथ रहेकाले दाहाल गोरखा–२ बाट आफूले जित्नेमा ढुक्क देखिन्छन्। तर राजनीतिमा बामे सर्दै गरेका मियाँ दाहालसँग अपेक्षा गर्नुपर्ने कुरा बाँकी नभएकाले गोरखाली जनताले उनका विरुद्ध आफूलाई मतदान गर्नेमा विश्वस्त देखिन्छन्। ‘नेपाली जनताले दाहालको काम हेरिसकेका छन् तर मलाई हेर्न बाँकी छ, त्यसैले गोरखाली जनताले मलाई भोट दिएर जिताउँछन्,’ मियाँ भन्छन्। ‘दाहालले निर्वाचन जित्दैमा कुनै ठाउँ विशेषको विकास हुने भए रोल्पाको कति विकास भयो? सिरहाले के पायो? त्यसैले उहाँले जितेर गोरखाले पनि केही पाउँदैन,’ उनले भने। पछिल्लो समय राजनीतिमा युवाहरूको लहर आइरहेको र दलीय हिसाबले पनि एमाले बलियो प्रतिस्पर्धी भएकाले आफ्नो जित सुनिश्चित रहेको उनको तर्क छ। मियाँले भनेजस्तै दाहाल नेपालको राजनीतिमा पटकपटक परीक्षित नेता हुन्। उनले नेपालको राजनीतिलाई अस्थिर बनाइराख्न भूमिका खेलेका कारण पनि आम जनतामा उनीप्रति एक किसिमको असन्तुष्टि देखिन्छ। लामो समययता सत्ता र शक्तिमा रहिरहँदा पनि आफूले जितेको निर्वाचन क्षेत्रका जनतासमक्ष गरेका प्रतिबद्धता पूरा गर्न नसक्दा उनी एकपटक जितेको क्षेत्रबाट अर्काे पटक उम्मेदवारी दिने हिम्मत गर्दैनन्।

राजनीतिमार्फत सर्वहारा जनताको नायकत्व र हक स्थापित गराउने प्रतिबद्धताबाट बहकिएर सत्ता र शक्तिको खेलमा लाग्दा आम जनताको विश्वास गुमाउँदै सबैभन्दा ठुलो दलका रूपमा स्थापित माओवादीलाई एउटा सानो समूहका रूपमा अघि बढाइरहेका दाहालले आफ्नो निर्वाचन क्षेत्रका मतदाताप्रति पनि न्याय गर्न सकिरहेका छैनन्। उनले आफ्ना प्रतिबद्धताअनुसारको काम र भरोसा दिलाउन नसक्दा अघिल्लोपटक निर्वाचित आफ्नै गृह जिल्ला चितवन–३ बाट उनी यसपटक गोरखा–२ मा सरेका छन्।

गृह जिल्ला चितवनमा आफ्नै छोरी महानगरको मेयर हुँदाहुँदै पनि दाहाल चुनाव लड्न हच्किए। अन्ततः पूर्वसहकर्मी बाबुराम भट्टराईले लड्दै आएको निर्वाचन क्षेत्र दाहालको रोजाइमा पर्‍यो, त्यसमा पनि भट्टराईले निर्वाचन नलड्ने घोषणा गरेपछि मात्र। यसअघि २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट भट्टराईले माओवादी केन्द्रका  

उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पराजित गरेका थिए। यसपटक भने भट्टराई दाहालको समर्थक बनेका छन्। गोरखा त्यही जिल्ला हो, जहाँबाट २०६४ सालको निर्वाचनमा माओवादी उम्मेदवार भट्टराई देशभरिमा सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका थिए।

हाल दाहाल उम्मेदवार रहेको गोरखा–२ बाट यसअघिको निर्वाचनमा भट्टराई माओवादी उम्मेदवार श्रेष्ठलाई पराजित गर्दै नयाँ शक्तिका तर्फबाट निर्वाचित भएका थिए। भट्टराईले ३१ हजार ८०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्रेष्ठले २४ हजार ९३३ मतमा सीमित भएका थिए। भट्टराईले प्राप्त गरेको मत नेपाली कांग्रेसको समेत गरेर हो भने माओवादीले प्राप्त गरेको मत एमालेसमेतको हो। दाहाल गोरखाबाटै निर्वाचन लड्नुका पछाडि आफ्नो जित सुनिश्चित गर्नु हो। चितवनसहित अन्य ठाउँमा पनि उम्मेदवारी दिन सक्ने बताउँदै आएका उनलाई यसपटक गोरखाबाट उठ्न उनकै पूर्वसहकमी भट्टराईले नै सजिलो पारिदिएका हुन्। एकातर्फ गोरखालाई भट्टराईको प्रभाव क्षेत्र मानिन्छ भने अर्काेतर्फ गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा कुल ११ स्थानीय तह रहेको गोरखामा माओवादी एक्लैले नौवटामा प्रमुख र ६ वटामा उपप्रमुख जितेको छ। बाँकी दुई स्थानीय तहमा प्रमुख र पाँच स्थानीय तहमा उपप्रमुख पनि सत्ता गठबन्धनको प्रमुख दल कांग्रेसले जितेको छ। त्यसैले दाहालले आफ्नो जितका लागि सहज हुने ठानेर गोरखा–२ बाट उम्मेदवारी दिएका हुन्।

दाहालले विगतमा निर्वाचन लक्षित कतिपय पार्टीका प्रशिक्षणहरूमा बाकसै साटेर भए पनि निर्वाचनमा विजयी हुनुपर्ने धारणासमेत राख्ने गरेका थिए। अहिले उनका लागि शक्तिको प्रयोग गरेरै भए पनि जित्न अन्यको तुलनामा गोरखा सजिलो जिल्ला हो। पार्टीको प्रभाव र विगतमा उनकै पार्टीका उम्मेदवारले मतदाताभन्दा बढी मत ल्याएर जितेका बारेमा पनि दाहाल अनभिज्ञ छैनन्। त्यसैले यसपटक चितवनबाट उकालो लागेर उनको गोरखातर्फको यात्रा कुनै पनि हालतमा जित सुनिश्चित गर्ने आकांक्षाले तय भएको हो।  

दाहाल गोरखाबाट निर्वाचन लड्ने तयारी गर्नु त्यस क्षेत्रका लागि एउटा सकारात्मक पक्ष हो। राष्ट्रिय राजनीतिको मियोको भूमिकामा रहेका दाहाललाई आफ्नो संसद बनाउँदा त्यहाँका जनताको गुनासो र आवास सहजै केन्द्रसम्म सुनुवाइ हुन सक्छ। यसअघि पनि प्रधानमन्त्री पाइसकेको त्यस क्षेत्रले प्रधानमन्त्रीका सम्भावित दाबेदारलाई पुनः संसद बनाएर पठाउँदा विकास निर्माण र प्राथमिकताका हिसाबले पनि अग्र भूमिकामा रहन सक्छ।  

जबकि भर्खर राजनीति सुरु गर्र्दै गरेका युवालाई चुनेर पठाउँदा तत्कालका लागि जिल्लामा योगदान गर्ने विषयमा स्थापित राजनीतिज्ञले जस्तो भूमिका निर्वाह गर्ने सम्भावना कम हुन्छ। शासन व्यवस्थाको अनुभव र जनताको सहज पहुँचको हिसाबले पनि प्रभावशाली राजनीतिज्ञलाई जिताउँदा जस्तो सहज नयाँ राजनीतिकर्मीलाई जिताउँदा हुँदैन। अर्काेतर्फ दाहालको स्वभाव, त्यस क्षेत्रबाटै अर्का प्रभावशाली नेता भट्टराई र उपप्रधानमन्त्री भइसकेका श्रेष्ठसमेत रहेकाले दाहाल अर्काेपटक पुनः त्यहाँ फर्किन्छन् भन्ने कुनै ग्यारेन्टी छैन। अर्काेतर्फ दाहालले जितेका क्षेत्रका मतदाताको भावनालाई सम्बोधन गर्न सकेको भए उनी एकपछि अर्काे गर्दै रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै अहिले गोरखा उकालो लाग्नुपर्ने अवस्था पनि आउने थिएन।  

त्यसैले त्यहाँका जनताले पनि दाहाल निर्वाचित भएर गए पनि ठुलो अपेक्षा गरिहाल्न सक्ने अवस्था देखिँदैन। बरु त्यसको सट्टामा सम्भावना बोकेका र गोरखामै जन्मिएका युवा मियाँलाई आफ्नो प्रतिनिधिका रूपमा संसद्मा पठाउँदा गोरखाली जनताको वास्तविक भावनालाई सम्बोधन हुन सक्छ। दाहाल राजनीतिक जीवनको उतराद्र्धमा छन्। जबकि मियाँ राजनीतिमा भर्खर उदाउँदै गरेका उम्मेदवार हुन्। मियाँकै भनाइ सापटी लिने हो भने प्रतिनिधिसभामा गोरखाको प्रतिनिधित्व गराउन पनि गोरखालीले नै निर्वाचन जित्नुपर्छ। गोरखाको स्थानीय समस्याको उठानका लागि पनि गोरखाली उम्मेदवारले नै जित्नुपर्ने मियाँको तर्कमा दम देखिन्छ।  

गोरखाबाट निर्वाचन लड्ने तयारी गरिरहेका दाहालले हालै गोरखा पुगेर क्रान्तिको रूपरेखा गोरखामै बसेर कोरेको बताएका थिए। त्यसको जवाफमा उनका प्रतिस्पर्धी मियाँ भन्छन्, ‘उहाँले गोरखामा हतियारको भण्डारण गर्नुभयो। मैले गोरखामा शिक्षा, स्वास्थ्य, विकास, समृद्धि र शान्तिको रूपरेखा कोर्न चाहन्छु।’

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सुशील पन्त, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रलाद लामिछाने, हाम्रो नेपाली पार्टी प्रकाश थापा, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुलबहादुर बस्नेत, नेपाल कम्युनिस्ट पार्टी (माक्र्सवादी लेनिनवादी) नारायणबाबु आचार्य, मंगोल नेसनल अर्गनाइजेसन सोमबहादुर गुरुङ, नेपाली कांग्रेस (बिपी) का टीकादत्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका कवीन्द्र बुर्लाकोटी तथा स्वतन्त्रबाट गणेश देवकोटा र विनोद कुमार गुरुङ उक्त क्षेत्रबाट उम्मेदवार छन्।  

को हुन् दाहाल?

२०११ मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मिएका दाहाल पछि बसाइँसराइ गरेर चितवन झरे। २०२८ सालमा नेकपा पुष्पलाल समूहबाट कम्युनिस्ट पार्टीको सदस्यता लिएर औपचारिक रूपमा राजनीतिमा होमिएका उनले २०३१ सालमा माक्र्सवादी अध्ययन समूह गठन गरे। २०४१ सालमा नेकपा (मशाल) को पाचौं महाधिवेशनबाट केन्द्रीय सदस्य र २०४२ मा पोलिटब्युरो सदस्य चयन भएका थिए। २०४६ सालमा नेकपा (मशाल) को महामन्त्री बनेका उनी २०४८ सालमा नेकपा एकता केन्द्रका महामन्त्री भएका थिए। २०५१ सालमा एकता केन्द्रको नाम फेरेर नेकपा माओवादी राखेपछि उनले २०५२ सालबाट पार्टीको नेतृत्व गर्दै सशस्त्र युद्ध सुरु गरेका थिए। हाल माओवादी केन्द्रका अध्यक्ष रहेका उनी २०६४, २०७० र २०७४ सालमा लगातार प्रतिनिधिसभामा निर्वाचित भएका थिए। एन् िदुईपटक प्रधानमन्त्रीसमेत भइसकेका छन्।  

को हुन् मियाँ ?

गोरखामा जन्मिएका अब्दुस सलाम मियाँ २९ वर्षीय युवा उम्मेदवार हुन्। उनी प्रतिनिधिसभामा एमालेका सबैभन्दा कान्छा उम्मेदवार हुन्। वैकल्पिक राजनीति गर्ने भन्दै विवेकशील साझा पार्टीबाट राजनीति सुरु गरेका उनी हालै मात्र एमालेमा प्रवेश गरेर गोरखा–२ बाट प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन्। युवासँग सम्बन्धित केही संस्थाहरूमा नेतृत्वदायी भूमिकामा रहेका उनले अमेरिकालगायत विभिन्न मुलुकबाट अन्तराष्ट्रि कोर्स तथा शासन व्यवस्थासम्बन्धी ज्ञान हासिल गरेका छन्।

प्रकाशित: ३१ आश्विन २०७९ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App