१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रत्यक्ष उम्मेदवारीमा महिलालाई कम प्राथमिकता

राजनीतिक दलहरूले महिलालाई प्रत्यक्षतर्फको चुनाव लडाउन त्यति रुचि देखाउँदैनन्। जसका कारण चुनावी मैदानमा महिलाको संख्या निकै कम हुने गर्छ। दलहरूले महिलालाई नपत्याउँदा मंसिर ४ गते हुने निर्वाचनका लागि पुरुषको तुलनामा निकै थोरै महिला मात्र चुनावी मैदानमा उत्रिएका छन्। ठुला भनिएका राजनीतिक दलले महिलालाई समानुपातिकमा सीमित गरिदिएका छन्। चुनावी परिणाम आफ्नो पक्षमा पार्न गठबन्धन गरेका दलले महिलालाई प्रत्यक्ष चुनाव लड्ने अवसर दिन नचाहेको देखिन्छ। जसका कारण प्रत्यक्षतर्फ चुनाव लड्न चाहँदाचाहँदै पनि टिकटबाट वञ्चित हुनुपरेको गुनासो महिलाहरूले गर्ने गरेका छन् ।

मंसिरमा हुने निर्वाचनमा प्रतिनिधिसभातर्फ जम्मा उम्मेदवार संख्या २ हजार ४१२ रहेको छ। तीमध्ये २२५ जना महिला मात्र प्रत्यक्षतर्फ उम्मेदवार छन्। चुनाव जित्दै आएका दलबाट समेत महिला उम्मेदवार निकै कम छन्। ठुला दलमध्येबाट सबैभन्दा धेरै महिलालाई चुनावी मैदानमा पठाउने दल नेकपा एमाले बनेको छ। एमालेले १४१ उम्मेदवारलाई चुनावी मैदानमा पठाएको छ। तीमध्ये ११ जना महिला छन्। विभिन्न साना दलबाट १०० भन्दा बढी महिला उम्मेदवार चुनाव भिड्दैछन्। त्यसैगरी स्वतन्त्र रूपमा उम्मेदवारी दिने महिला ७७ जना छन्। सबैभन्दा धेरै काठमाडौंबाट १७ जना महिला स्वतन्त्र उम्मेदवार छन्।

सत्ता गठबन्धनअन्तर्गतको मुख्य दल नेपाली कांग्रेसले जम्मा ९१ जना उम्मेदवार चुनावी मैदानमा उतारेको छ। तीमध्ये पाँच महिलाले मात्र प्रत्यक्षतर्फ चुनाव भिड्ने अवसर पाएका छन्। जसमा तेह्रथुम–१ बाट सीता गुरुङ, मोरङ–२ बाट सुजाता कोइराला, सिरहा–२ बाट चित्रलेखा यादव, मकवानपुर–१ बाट महालक्ष्मी उपाध्याय र अर्घाखाँचीबाट पुष्पा भुसाल छन्।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ४६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा पठाउँदा आठ महिलालाई समेटेको छ। माओवादी केन्द्रबाट सबैभन्दा धेरै काठमाडौंबाट चार महिला उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन्। जसमा काठमाडौं–२ बाट पूर्वसभामुख ओनसरी घर्ती, काठमाडौं–१० बाट अन्जना विशंखे, काठमाडौं–७ बाट अस्मिता सिंह (मानुषी) र काठमाडौं–९ बाट कल्पना धमला उम्मेदवार छन्। ललितपुर–३ बाट ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेकी पम्फा भुसाल उम्मेदवार छिन्। दाङ–२ बाट पूर्वमन्त्री रेखा शर्मा, जुम्ला–१ बाट गोमा गौतम र कञ्चनपुर–१ बाट पूर्वमन्त्री बीना मगर चुनावी मैदानमा छन्। बीनाले अघिल्लो चुनावमा पनि सोही क्षेत्रबाट प्रत्यक्ष चुनाव जितेकी थिइन्।

गठबन्धन दलमध्येकै अर्को दल नेकपा एकीकृत समाजवादी (नेकपा एस) बाट २१ जनालाई उम्मेदवार बनाउँदा महिला एकजना मात्रै छिन्। नेकपा एसबाट गुल्मी–२ मा पूर्वमन्त्री रामकुमारी झाँक्री उम्मेदवार छिन्। गठबन्धनकै अर्को दल राष्ट्रिय जनमोर्चाले पनि प्रतिनिधिसभा सदस्यका लागि प्युठान–१ बाट दुर्गा पौडेललाई उम्मेदवार बनाएको छ। पौडेलले यसअघि सोही क्षेत्रबाट चुनाव जितेकी थिइन्। सत्ता गठबन्धनसँग चुनावी तालमेलमा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले तीन महिलालाई प्रत्यक्षतर्फ चुनावमा पठाएको छ। जसमा नुवाकोट–१ बाट लक्ष्मी रसाइली, नुवाकोट–२ बाट धनकुमारी सुनार र दाङ–१ बाट प्रतिमा बुढा मगर छन्।

जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग चुनावी तालमेल गरेको एमालेले ११ महिलालाई चुनावी मैदानमा पठाएको छ। जसमा सुनसरी–१ बाट भगवती चौधरी, उदयपुर–१ बाट मन्जुकुमारी चौधरी, धनुषा–३ बाट जुलीकुमारी महतो र बारा–३ बाट ज्वालाकुमारी साह छन्। त्यसैगरी कास्की–२ बाट विद्या भट्टराई र स्याङ्जा–२ बाट पद्माकुमारी अर्याल पनि प्रत्यक्षबाट चुनाव लड्दैछन्। भट्टराई र अर्याल दुवै जना यसअघि पनि प्रत्यक्षबाटै निर्वाचित हुन्। भट्टराई उपनिर्वाचनमा कास्कीबाट विजयी भएकी थिइन्।

त्यसैगरी बागलुङ–२ बाट मञ्जु शर्मा, दाङ–१ बाट शान्ता चौधरी, दाङ–३ बाट कोमल वली, डोटी–१ बाट गौरीकुमारी ओली र कञ्चनपुर–३ बाट निरुदेवी पाल पनि एमालेबाट उम्मेदवार छन्।

एमालेसँग चुनावी गठबन्धन गरेको जसपाले सात महिला उम्मेदवार अघि सारेको छ। जसमा झापा–१ बाट राधा थापा, झापा–५ बाट ओममाया आङदेम्बे, काठमाडौं–९ बाट शर्मिला सुवाल, कास्की–१ मा शर्मिला नेपाली मंग्राती, कास्की–२ मा बुद्धिकुमारी गुरुङ, तनहुँ–१ बाट पासाङ थापा मगर र पाल्पा–२ बाट दुर्पता सोमै रहेका छन्।

त्यसैगरी केही स्थानमा एमालेसँग तालमेल गरेको राप्रपाले १४० जना उम्मेदवार उठाएकोमा आठ जना महिला अघि सारेको छ। राप्रपाले मोरङ–३ बाट अभिनेत्री रेखा थापा, सिरहा–४ बाट नगीनाकुमार झा, महोत्तरी–१ बाट पूजा घिमिरे, काठमाडौं–२ मा कुन्तीदेवी पोखरेल, कपिलवस्तु–१ मा सविता शर्मा, रोल्पा–१ बाट लीला रावल, दाङ–१ मा लिली बुढाथोकी र दैलेख–१ बाट कुन्तीकुमारी शाहीलाई उम्मेदवार बनाएको छ। प्रदेशसभा सदस्यका लागि जम्मा ३ हजार २२४ जना उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २८० महिला, २ हजार ९४३ पुरुष र अन्यबाट एकजना चुनावमा भिड्दैछन् ।

२०७४ सालमा महिला उम्मेदवार र विजेता

२०७४ सालको प्रतिनिधिसभाको चुनावमा १ हजार ९४४ जना उम्मेदवार थिए। जसमा १४६ महिलाले प्रत्यक्षतर्फ चुनाव भिडेका थिए। ठुला राजनीतिक दलले विगतको चुनावमा पनि महिलालाई प्राथमिकतामा राखेको देखिन्न। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) ले नगण्य रुपमा महिला उम्मेदवारलाई प्रत्यक्षतर्फ चुनाव लड्न पठाएका थिए।

अघिल्लो चुनावमा नेपाली कांग्रेसले नौजना महिला प्रत्यक्षमा उठाएको थियो। त्यसैगरी नेकपा एमालेले पाँच महिलालाई चुनावी मैदानमा पठाएको थियो। तीमध्ये दुईजना पवित्रा निरौला खरेल र पदमाकुमारी अर्यालले मात्र चुनाव जितेका थिए। नेकपा माओवादी केन्द्रले चारजना महिलालाई प्रत्यक्ष चुनावमा उठाएको थियो। तीमध्ये पम्फा भुसाल, कमला रोका, बीना मगरले चुनाव जितेका थिए। राजपाले ६ जना महिलालाई चुनावी प्रतिस्पर्धामा पठाएको थियो। राष्ट्रिय जनमोर्चाले १० जना महिला उठाएको थियो। तीमध्ये एकजना दुर्गा पौडेलले मात्र चुनाव जितेकी थिइन्।

प्रकाशित: ३० आश्विन २०७९ ००:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App