१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनि कोइरालाले स्वतन्त्र उम्मेदवारी दिए...

चितवनको क्षेत्र नम्बर तीन निर्वाचनको मिति घोषणा हुनुभन्दा अगाडिदेखि नै चर्चामा थियो। यहाँबाट नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लड्ने बताउँदै आएका थिए। तर, नेपाली काँग्रेस, नेकपा(एमाले) भन्दा कमजोर संगठन भएको क्षेत्रबाट लड्न लागेका प्रचण्डको भनाइप्रति काँग्रेसको ठूलो पंक्तिमा असन्तुष्टि थियो। तीव्र असन्तुष्टिका कारण दवाबमा परेका प्रचण्ड चुनाव लड्न गोरखा जाने चर्चा हुन थाल्यो। गोरखा जाने भएपछि राम्रो जनाधार रहेको क्षेत्र आफुले पाउने झिनो आशमा चितवनका काँग्रेस थिए। 

यस क्षेत्रका दुई जना केन्द्रीय सदस्यले पार्टी नेतृत्व तहलाई दवाब समेत दिए। तर, अन्तिममा भागबण्डा गर्दा माओवादीको भागमा पर्‍यो। २०७० सालदेखि कार्यकारी पदमा रुख चिन्हमा भोट हाल्न नपाएका यस क्षेत्रका जनता तीव्र निराश बने। त्यसमध्येका एक हुन् पार्टीका केन्द्रीय सदस्य दिनेश कोइराला।  उनले पार्टीको दबावका बीचमै चितवन तीनबाट उम्मेद्वारी दिए। यसबीचमा पार्टीको नेतृत्वले समेत उम्मेदवारी फिर्ता लिन अनुरोध गर्‍यो। तर, कोइराला टसको मस भएनन्। बरु उनले नेकपा (एमाले)को साथ पाए। उनीसँगै प्रतिस्पर्धामा रहेका एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेको उम्मेदवारी फिर्ता भयो। यससँगै चितवन एमालेको अहिलेसम्म कुनै प्रतिक्रिया छैन। 

काँग्रेसका नेता कोइरालाले माओवादी केन्द्रको समेत समर्थन हाँसिल गर्न प्रयास गरेको प्रतिक्रिया दिँदै आएका छन्। ‘मैले माओवादीलाई ठूलो योगदान दिएको छ,’२०७४ सालको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा उम्मेदवारी दिएपछि फिर्ता लिएका कोइरालाले भने, ‘यो समयमा मलाई माओवादीले समेत सहयोग गर्नुपर्छ।’

कतिपयले कोइराला एमालेमा प्रवेश गर्ने बताएका छन्। तर, उनले नेपाली काँग्रेस छोड्न नसक्ने प्रतिक्रिया दिएका छन्। चितवन काँग्रेसलाई बचाउनका लागि आफ्नो उम्मेद्वारी रहेको उनको तर्क छ। ‘हामी न बागी हौं न विद्रोही। हामी नेपाली काँग्रेसको मूलधार हाँै। हामी यो समाजको पनि हामी हौं’, उनले भने। उनले काँग्रेसका धेरै नेताहरूले पनि समर्थन गरेको बताउँदै माओवादीले पनि आफूलाई समर्थन गर्नुपर्ने उल्लेख गरे। ‘विगतमा नेकपा माओवादीमा पनि मेरो लगानी छ। मलाई धेरै चोट पुगेको छ। उहाँहरूले मलाई साथ दिनुहुनेछ र धन्यवाद दिन पाउनुहुनेछ’, उनले भने।

यसलाई उनले आफ्नो ३० वर्षको राजनीतिक इतिहासमा कठोर निर्णय लिन बाध्य भएको बताउँछन्। ‘जुन दिन मैले मेरी आमा गुमाएको थिएँ, त्यो दिन म त्यति रोएको थिइनँ जति म आज रुँदैछु। किनकी म आज गम्भीर मोडमा उभिएको छु’, उनले भावुक हुँदै पत्रकार सम्मेलनमा भने, ‘नेपाली काँग्रेसको गढ भएको चितवनमा जसले धन सम्पत्ति लिएर आयो उसलाई बोकेर हिड्नुपर्ने अवस्था आएको छ। कहिले माओवादीलाई बोक्नुपर्ने, कहिले उसैको सम्पूर्ण परिवारलाई बोक्नुपर्ने। परिवार आएन भने खराउ पनि बोकेर हिड्नुपर्ने मेरो अन्तर्हृदयले मानेन। दास बन्नुभन्दा पार्टी भन्दा माथि उठ्ने सोचेँ।’  कोइरालाले पार्टीको केन्द्रीय सदस्यको पद पिँजडाको सुगा जस्तो भएको उल्लेख गरे। ‘पार्टीभित्र बोल्छु कसैले सुन्दैन, एजेन्डा लागू गर्न सक्दिनँ’, उनले सुनाए, ‘केन्द्रीय सदस्य पदमा बसेर बाहिर गएर जे पनि बोल्न मिल्दैन। त्यसैले मैले गम्भीर निर्णय गरे।’

कोइराला एमालेमा प्रवेश गर्ने कतिपय काँग्रेस कार्यकर्ताले बताउने गरेका छन्। उम्मेदवारी फिर्ता लिएपछि चितवन एमालेले कुनै प्रतिक्रिया दिएको छैन। यस विषयमा नागरिकले बुझ्न पार्टी अध्यक्ष समेत रहेका न्यौपानेसँग सम्पर्क गर्न खोज्दा हुन सकेन। 

नेकपा एमालेका महासचिव शंकर पोख्रेलले दिएको एक अन्तरवार्तामा पिडामा रहेको चितवन काँग्रेसलाई समर्थन गरेको प्रतिक्रिया दिएका छन्। ‘चितवनमा जुन प्रकारको राजनीतिक अभ्यास भइराखेको छ। त्यो चिजका विरुद्धको लडाईंमा सफलता हासिल गर्न जरुरी थियो। त्यही हिसाबले फराकिलो नीति बनाउने योजना बनायौँ। जसका कारणले लामो तयारीका बाबजुत चितवनबाट प्रचण्डजि बाहिरिए। यसमा विद्रोही साथीहरुको योगदान थियो।’ 

उनले थपे, ‘प्रचण्ड बाहिरीदैँमा सहयोग चाहिन्छ भन्ने होईन।’ चितवनको राजनीतिको सुरक्षा गर्नका लागि सहयोग गरेको उनले बताएका छन्। ‘चितवनमा जे भयो। तीन वटा चुनावलाई हेरौँ। त्यसमा हाम्रा बुझाई र विश्लेषण छन्। जो नेपालको लोकतन्त्रका लागि दुभाग्यपूर्ण छ। त्यो चीजलाई मुक्त गर्न जरुरी थियो। त्यसमा काँग्रेसका साथीहरुको माग पनि थियो,’उनले भने, ‘वास्तवमा हेर्ने हो भने हामीले चितवन काँग्रेसलाई साथ दिएको हो। विद्रोही काग्रेसलाई होइन।’

चुनावमा समर्थन गरेकै आधारमा एमाले प्रवेश गर्ने अफवाह फैलाएको भन्दै कोइरालाले आपत्ति समेत जनाएका छन्। ‘मैले एमाले जाने कुरा त छाड्नुस् उच्चारण मात्रै गरेको भए मेरो सन्तानको सत्य नास होस्। यस्तो कपोकल्पित आधारहीन कुरा नगरिदिनुहोला। 

म हिजो पनि काँग्रेस थिए र जीवन र मरणको दोसाँधमा पनि म काँग्रेस नै हुनेछु।’ नेपाली काँग्रेसका अर्को असन्तुष्ट पक्ष ‘भुइँकटहर समूहका’ जगन्नाथ पौडेल समूहसँग पनि आफूहरूसँग मिलेर जाने समेत बनाएका छन्। नेपाली काँग्रेस पार्टीलाई निजी जस्तो बनाउन खोजिएको भन्दै उनले अब काँग्रेसलाई माओवादीको भातृ संगठन जस्तो बनाउन नदिने बताएका छन्।

कोइरालाले जित्ने चुनावी आधार के छ?

कोइराला कांग्रेसका युवा नेता हुन्। उनले शेखर कोइराला पक्षबाट खुल्ला सदस्य पद जितेका हुन्। जेसिसको अध्यक्ष समेत भइसकेका कोइराला अघिल्ला स्थानीय तहमा भरतपुर महानगरपालिकामा रेनु दाहालका लागि उम्मेदवारी फिर्ता समेत गरेका व्यक्ति हुन्। भरतपुर ६ मा स्थायी घर रहेका कोइरालाको त्यस क्षेत्रमा काँग्रेसको राम्रो प्रभाव क्षेत्र हो। यस स्थानबाट काँग्रेसका नेताहरु सहित समेत भएका छन्। यस निर्वाचन क्षेत्रमा अन्य पार्टीभन्दा काँग्रेसको मत बढी पनि छ। त्यसो त उनी काँग्रेसका आधिकारिक उम्मेदवार भने होइनन्। यद्यपि शेखर कोइराला पक्षको यस क्षेत्रमा बर्चसो छ। यसअघि नै औपचारिक रुपमा शेखर पक्ष र एमालेबीच भित्रि सहमति भएको सुनिन आएको छ। सो हिसाबले एमाले र काँग्रेसको भोट तान्न सक्ने हो भने उनले जित्ने आधार देखिन्छ। तर, उनका प्रतिस्पर्धि भने बलियो अवस्थामा छन्। गठबन्धनबाट डाक्टर भोजराज अधिकारी र राप्रपाबाट विक्रम पाण्डेले उनलाई टक्कर दिँदै छन्।  

चितवन ३ मा प्रतिनिधि सभामा २० जना चुनावी प्रतिसपर्धामा छन्। २०७४को प्रतिनिधि सभाको निर्वाचन र २०७९को स्थानीय तहको निर्वाचनमा काँग्रेस–माआवादी गठबन्धन र एमालेलाई प्राप्त मतका आधारमा अहिले नै परिणाम कता जान्छ भनेर आंकलन गर्न कठिन छ। अघिल्लो निर्वाचनको मतलाई आधार मान्दा सत्ता गठबन्धन अगाडि छ।  

चितवन क्षेत्र नम्बर ३ मा भरतपुर महानगरपालिकाका १९ वडा र माडी नगरपालिका पर्दछ। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र माडी नगरपालिकामा एमालेकी ताराकुमारी काजि महत्तोले जितेको क्षेत्र हो। 

भरतपुरका १९ वटा वडामा वडाध्यक्षले ल्याएको मत र माडी नगरपालिकामा प्रमुख पदका उम्मेदवारले ल्याएको मतलाई आधार मान्दा सत्ता गठबन्धन ८ हजार ९३ मतले अगाडि छ। स्थानीय तहको निर्वाचनमा काँग्रेस–माओवादीको ४३ हजार २११ मत छ। एमालेका उम्मेदवारको ३५ हजार ७९८ मत छ। यहाँ एमालेलाई राप्रपाले पनि सघाएको थियो। यसरी सोझो हिसाबमा सत्ता गठबन्धनका उम्मेदवारलाई जित्न सहज देखिन्छ। तर, काँग्रेसका नेताको स्वतन्त्र उम्मेदवारी दिएपछि भने कसले बाजी मार्छ भन्न सकिने अवस्था छैन। एमालेको समर्थन पाएका कोइरालाले काँग्रेस र जगन्नाथ पौडेलको मत तान्न सकेमा उनलाई पक्षमा परिणम आउने पनि देखिन्छ। तर, त्यति सहज भने उनलाई छैन।  

यस निर्वाचन क्षेत्रमा पर्ने भरतपुर महानगरपालिकाका १९ नम्बर वडा मध्ये नेपाली काँग्रेसले १० वटा जितेको छ। माओवादी केन्द्र र एमालेले समान ३,  एकीकृत समाजवादीले २ र स्वतन्त्रबाट १ जनाले वडाध्यक्ष जितेका छन्। माडी नगरपालिकमा माओवादीले ४, नेकपा (एकीकृत समाजवादी) र राप्रपाले समान २ र एमालेले १ वडामा वडाध्यक्ष जितेको छ।

प्रकाशित: २९ आश्विन २०७९ ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App