८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

चितवनमा रोचक प्रतिस्पर्धा

कांग्रेसका तीन नेताले दिए बागी उम्मेदवारी

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चितवनबाट नयाँ अनुहार देखा परेका छन्। सत्ता गठबन्धन, एमाले, राप्रपालगायतका दलहरूले अधिकांश नयाँ अनुहार अगाडि सारेका हुन्। सत्ता गठबन्धनले चितवन क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेललाई अघि सारेको छ।एमालेका तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उम्मेदवारी दिएका छन्। उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए।  

त्यस्तै प्रदेशमा भने एमालेले नयाँ व्यक्तिलाई अवसर दिएको छ। प्रदेश (क) जेएन थपलिया र प्रदेश (ख) प्रकाश खनाल (शैलेस) ले उम्मेदवारी दिएका छन्।  

सत्ता गठबन्धनका तर्फबाट चितवन १(क) मा नेपाली कांग्रेसका किरण ओली र १(ख) बाट नेकपा (एकीकृत समाजवादी) का कृष्णप्रसाद खनालले उम्मेदवारी दिएका छन्। ओली नयाँ हुन् भने खनाल यसअघि विजयी सांसद हुन्।  

चितवन २ मा सत्ता गठबन्धनका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी यसअघि समानुपातिक तर्फबाट सांसद बनेका थिए। चितवन २ मा उनी पहिलोपटक चुनावी प्रतिस्प्रर्धामा छन्। गठबन्धनबाट प्रदेश (क) कांग्रेस नेता उत्तम जोशी र प्रदेश (ख) नेकपा (माआवादी केन्द्र) का नेता घनश्याम दाहालले उम्मेदवारी दिएका छन्। जोशी पहिलोपटक निर्वाचन लड्दै छन् भने दाहाल सोही क्षेत्रबाट यसअघि निर्वाचित भएका थिए। एमालेले चितवन २ को प्रतिनिधिसभामा पुरानै नेता अघि सारेको छ। यसअघि दुईपटक निर्वाचित एमाले नेता कृष्णभक्त पोख्रेलले यसपालि पनि उम्मेदवारी दिएका छन्। प्रदेश (क) मा एमालेका तर्फबाट देवी ज्ञवाली र प्रदेश(ख) मा कृष्ण सिलवालले उम्मेदवारी दिएका छन्। ज्ञवाली यसअघि भरतपुर महानगरपालिकाको मेयर पदमा पराजित भएका थिए। सिलवाल पहिलोपटक निर्वाचनमा भिड्दै छन्।

चितवन ३ मा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका डा. भोजराज अधिकारीले उम्मेदवारी दिएका छन्। उनी पहिलोपटक चुनावी प्रतिस्प्रर्धामा छन्। भरतपुर अस्पतालका अध्यक्ष तथा सहप्राध्यापकसमेत रहेका अधिकारीले आइतबार राजीनामा दिएर प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका हुन्। सत्ता गठबन्धनका तर्फबाट प्रदेश (क) मा कांग्रेस नेता प्रा.डा. सूर्यकान्त घिमिरे, प्रदेश (ख) मा माओवादी केन्द्रका ठाकुरप्रसाद ढकालले उम्मेदवारी दिएका छन्। चितवन ३ मा एमालेका तर्फबाट एमाले चितवन जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेले उम्मेदवारी दिएका छन्। उनी पहिलोपटक चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रदेश (क) कृष्ण भुर्तेल र प्रदेश (ख) सरस्वती विष्टले उम्मेदवारी दिएका छन्। भुर्तेलले यसअघि कांग्रेसका केन्द्रीय सदस्य दिनेश कोइरालालाई पराजित गरेका थिए। विष्ट पहिलोपटक चुनावी मैदानमा उत्रिँदै छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभा सदस्यका लागि चितवन २ बाट उम्मेदवारी दिएका छन्। लामिछाने चितवन ३ मा प्रचण्डसँग लड्ने चर्चा थियो। तर प्रचण्ड गोरखा पुगेपछि उनले चितवन २ मा उम्मेदवारी दिएका हुन्। पूर्वमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष विक्रम पाण्डेले चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्। २०७० सालमा पाण्डे तत्कालीन चितवन ५ बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए।

विश्व पौडेलविरुद्ध उम्मेदवारी

चितवन १ मा कांग्रेस नेता राजेन्द्र बुर्लाकोटीले पनि उमेदवारी दर्ता गराएका छन्। सत्ता गठबन्धनका तर्फबाट कांग्रेस नेता पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। उनले खैरहनी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। चितवन १ सत्ता गठबन्धनको सहमतिअनुसार कांग्रेसको भागमा परेको छ ।

प्रकाशित: २४ आश्विन २०७९ ०२:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App