१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

कास्कीमा एमालेले उम्मेदवार टुंग्यायो, गठबन्धन अन्यौलमै

नेकपा एमालेले कास्कीमा सबै उम्मेदवार टुंगो लगाएको छ। तर, गठबन्धन दलले भने उम्मेदवारको टुंगो लगाउन सकेको छैन। एमालेले कास्कीका प्रतिनिधिसभाका ३ वटै क्षेत्र र प्रदेश सभाका ६ वटै क्षेत्रका उम्मेदवारको टुंगो लगाएको हो। गठबन्धनले भने भागवण्डामा क्षेत्र टुंगो लगाएपनि उम्मेदवार तोक्न सकेको छैन।

एमालेले कास्की–१ मा मनबहादुर गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। यसअघि उक्त क्षेत्रबाट एमालेका खगराज अधिकारी निर्वाचित भएका थिए। अधिकारीले प्रदेशसभाको उम्मेदवार बन्ने चाहना राखेपछि गुरुङलाई प्रतिनिधि सभाको उम्मेदवार बनाइएको हो। गुरुङ एमाले कास्कीका अध्यक्ष तथा निवर्तमान गण्डकी प्रदेशसभा सदस्य हुन्।

त्यस्तै, कास्की–२ मा विद्या भट्टराई अधिकारीलाई उम्मेदवार बनाएको छ। रवीन्द्र अधिकारीको निधनपछि भएको उप–चुनावमा भट्टराई सोहि क्षेत्रबाट निर्वाचित सांसद हुन्।

एमालेले कास्की–३ मा दामोदर बैरागीलाई उम्मेदवार बनाएको छ। यसअघि उक्त क्षेत्रबाट एमालेका जगतबहादुर विश्वकर्मा निर्वाचित भएका थिए। विश्वकर्मा खेलकुद मन्त्री हुँदा आफ्नो क्षेत्रमा कामगर्न नसकेको आलोचना भएपछि उनको सट्टामा एमालेले अवसर नपाएका भनेर चिनिएका बैरागीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।

गठबन्धनले भागवण्डामा प्रतिनिधि सभा सदस्यका लागि कास्की–१ मा कांग्रेस, कास्की–नेकपा एकीकृत समाजवादी र कास्की–३ मा नेकपा माओवादी केन्द्रको उम्मेदवार उठाउने सहमति गरेको छ। कास्की–२ पाएको नेकपा एसले श्रीनाथ बराललाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। तर कांग्रेस र माओवादीले उम्मेदवार टुंग्याउन सकेको छैन।

गठबन्धनबाट कास्की–२ मा उम्मेदवार बनेका बराल माधव नेपालका प्रीय पात्र मानिन्छन्। नेपालले एमाले फुटाएर नेकपा एस बनाउँदा बरालले कास्कीमा दह्रो साथ दिएका थिए। एमालेमा रहँदा ईमान्दार नेताका रुपमा चिनिएका बराल अवसर नपाएका नेताका रुपमा परिचित छन्। उनलाई ओली गुटले सँधै पाखा लगाएर राखेको आरोप लाग्ने गरेको थियो। त्यहि भएर नेता नेपालले कास्कीका नेताहरुलाई ओली गुटले अन्याय गरेकाले यसपटक न्याय गर्ने बताउने गरेका थिए।

यी हुन् कास्कीका एमालेका प्रदेश सभा सदस्यका उम्मेदवारहरु

नेकपा एमालेले कास्कीका प्रदेशसभा सदस्यका उम्मेदवार पनि टुंगो लगाएको छ। एमालेले कास्कीका ६ वटै प्रदेश सभा सदस्यका उम्मेदवारहरु टुंगो लगाएको हो। एमाले निकट श्रोतका अनुसार कास्की १ (क)मा एमालेले खगराज अधिकारीलाई उम्मेदवार बनाएको छ। अधिकारी गण्डकी प्रदेशको मुख्यमन्त्री बन्ने चाहनासहित प्रदेश सभा सदस्यका लागि उम्मेदवार बनेको चर्चा छ।कास्की १ (ख) मा एमालेले बेदबहादुर गुरुङ (श्याम)लाई उम्मेदवार बनाएको छ। उनी मादी गाउँपालिकाका निवर्तमान प्रमुख (अध्यक्ष) हुन। 

कास्की २ (क)मा एमालेले भीम कार्कीलाई उम्मेदवार बनाएको छ। उनी यसअघि भूमि आयोगका सदस्य थिए । त्यस्तै, कास्की २ (ख)मा एमालेले मीना गुरुङलाई उम्मेदवार बनाएको छ। निवर्तमान समानुपातिकतर्फबाट प्रदेश सभा सदस्य रहेका गुरुङलाई एमालेले यसपटक प्रत्यक्षतर्फ टिकट दिएको हो।

यसैगरी, एमालेले कास्की– ३ (क)मा गणेशमान गुरुङलाई उम्मेदवार बनाएको छ। पुराना एमाले नेता उनी पहिचानको मुद्धामा मत नमिलेपछि अशोक राईसँगै विद्रोह गरेर नया पार्टी खोल्न पुगेका थिए। पछि जसपामा रहेका उनी एक वर्ष अघि एमाले फर्किएका थिए। एमालेले कास्की क्षेत्र नम्बर ३ (ख)मा राजिव पहारीलाई उम्मेदवार बनाएको छ। पहारी यसअघि पनि सोहि क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य हुन्।

गठबन्धनले उम्मेदवार टुंगो लगाउँदै

गठबन्धनले भने उम्मेदवार टुंगो लगाउन सकेको छैन। गठबन्धनले कास्की–१ (क) मा नेकपा माओवादी केन्द्र र (ख)मा नेपाली कांग्रेसको उम्मेदवार उठाउने निर्णय गरेको छ। कास्की–२ (क)मा नेकपा माओवादी केन्द्र र (ख)मा नेपाली कांग्रेसले पाउने सहमति गरेको छ । त्यस्तै, प्रदेश सभा तर्फ नै कास्की ३ (क) मा नेकपा माओवादी केन्द्र (ख) मा नेपाली कांग्रेसले पाएको छ। तर यी कुनैपनि क्षेत्रमा गठबन्धन दलहरुले उम्मेदवार टुंगो लगाउन नसकेको हो।

प्रकाशित: २२ आश्विन २०७९ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App