३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

फिर्ता राजदूतले राष्ट्रपति भेट्न पाएनन्

काठमाडौं- कार्यशैलीमाथि प्रश्न उठाउँदै सरकारले भारतबाट फिर्ता बोलाइएका राजदूत दीपकुमार उपाध्यायले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न पाएनन्। तीन दिनअघि नयाँदिल्लीबाटै परराष्ट्र मन्त्रालयमार्फत राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग भेट्नका लागि समय मागेका उपाध्यायलाई राष्ट्रपति कार्यालयले आइतबार अपराह्न ४ बजे राष्ट्रपतिसँग भेटघाटको समय मिलाएको थियो। तर, उक्त समय उपाध्याय शीतलनिवास पुगेनन्। उनले आफूलाई भेटघाटका लागि समय दिइएको बारे थाहै नपाएको बताए।'घरमा बसिरहेका बेला ४ बजे राष्ट्रपति कार्यालयबाट फोन आएपछि मात्र थाहा भयो भेटघाटका लागि समय राखिएको रहेछ,' सरकारले राजदूतको जिम्मेवारीबाट फिर्ता बोलाउने निर्णय गर्दै पत्र पठाएपछि आइतबारै स्वदेश फर्केका उपाध्यायले भने।

परराष्ट्र मन्त्रालयले जानकारी नगराउँदा उपाध्यायले राष्ट्रपतिसँग भेट्न नपाएका हुन्। 'चार बजे तपाईंको भेट गर्ने कार्यक्रम थियो, किन नआउनुभएको?' राष्ट्रपति कार्यालयबाट फोन आएपछि आफ्नै निवासमा रहेका उनी चकित परेका थिए। राष्ट्रपति कार्यालयबाट फोन आउनु अघिसम्म उनलाई भेटबारे कसैले जानकारी गराएको थिएन। त्यसपछि उनले आफूलाई भेट गर्ने कार्यक्रम सम्बन्धमा कसैले केही सूचना नदिएको जनाउँदै आउन नसकेकोप्रति दुःख व्यक्त गरेका थिए।

'पूर्व जानकारी नहुँदा निर्धारित समयमा राष्ट्रपतिकहाँ पुग्न नसकेकोमा मैले दुःख व्यक्त गरें,' उनले भने। त्यसपछि राष्ट्रपति कार्यालयबाट पछि भेटघाटको समय मिलाउने जानकारी गराइएको थियो। दिन भने तोकिएको छैन।

राष्ट्रपति भण्डारीको भारत भ्रमण स्थगित गरेकै दिन गत शुक्रबार सरकारले भारतका लागि नेपाली राजदूत उपाध्यायलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। कार्यभार सम्हालेको एक वर्ष एक महिना बित्न नपाउँदै विभिन्न आरोप लगाई उनलाई फिर्ता बोलाइएको थियो। रक्षामन्त्री भीम रावलले नै एक सार्वजनिक कार्यक्रममा उपाध्यायमाथि तीनवटा आरोप लागेकाले फिर्ता बोलाइएको बताएका थिए।

रक्षामन्त्री रावलका अनुसार उनीमाथि भारतीय इसारामा सरकार परिवर्तनमा संलग्न, परराष्ट्र मन्त्रालयको स्वीकृति नलिइ क्षेत्राधिकार बाहिर गएको र कूटनीतिक मर्यादाविपरीत कार्य गरेको आरोप लागेको छ। सरकारले फिर्ता बोलाएपछि उपाध्याय आइतबार स्वदेश फर्केका हुन्। कूटनीतिक अभ्यासअनुसार राजदूत फिर्ता भएपछि राष्ट्रपति, प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेटेर आफ्ना धारणा राख्ने गरिन्छ। यसैअनुरुप फर्किनु तीन दिनअघि उनले नयाँदिल्लीबाट राष्ट्रपति, प्रधानमन्त्री र उपप्रधान तथा परराष्ट्रमन्त्रीसँग भेटका लागि समय मिलाइदिन परराष्ट्रलाई पत्राचार गरेका थिए।

परराष्ट्रले भने आइतबार फिर्ता भएका राजदूतले राष्ट्रपतिलाई भेट गर्ने कार्यक्रमबारे कुनै जानकारी नभएको बतायो। 'आइतबार राष्ट्रपतिज्यूसँग भेटघाट गर्ने कार्यक्रमबारे हामीलाई जानकारी भएन,' परराष्ट्र प्रवक्ता ताराप्रसाद पोखरेलले भने। राष्ट्रपतिका जनसम्पर्क स्वकीय सचिव जिवच्छ साहले उपाध्यायलाई भेटको समय जानकारी गराउने काम समन्वय गर्ने निकायको भएको बताए। 'उपाध्यायज्यूले को मार्फत पहल गनुभएको थियो, जानकारी गराउने काम उसैको हो,' साहले भने।

परराष्ट्रमार्फत भेटको समय माग गरेकाले त्यो मिलाउने कार्य परराष्ट्रले नै गरेको बुझाइ उपाध्यायको छ। तर, परराष्ट्रले भेट तय गरेर पनि समयबारे किन सूचना दिएन भन्नेबारे आफूलाई जानकारी नभएको उनले बताए।

राजदूत पद खोसिएपछि आइतबार स्वदेश फर्केका उपाध्यायले आफ्नो फिर्तीलाई सहज रूपमा लिएको जनाए। फिर्ता हुन भनी सरकारले आफूलाई लेखेको पत्रमा कुनै आरोप नलगाइएको उनले जानकारी दिए। 'मैले फिर्ता बोलाउने कार्यलाई सहज रूपमा लिएको छु। म कतै चुकेको छैन। मन्त्रीस्तरीय कूटनीतिक मर्यादामा गएको हुँ। नेपाल आउँदा आफ्नो मर्यादाअनुसार भेट गरेको छु। यो नै अपराध हो भने मेरो भन्नु केही छैन,' उपाध्यायले भने।

आफूलाई फिर्ता बोलाएको एउटै घटनाले नेपाल र भारतबीचको सम्बन्धमा असर नपर्ने जनाउँदै उनले यसले केही प्रश्न भने उठाएको बताए। 'एउटा निर्णयले दुई देशको सम्बन्धमा असर गर्दैन तर किन, कसो भन्ने प्रश्न दुवैतर्फ उठेको छ। शान्त रूपमा हुनुपर्ने कूटनीतिमा यस्तो नभएको भए हुन्थ्यो,' उनले भने। उनले स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आफूमाथि लागेका आरोप सरकारले प्रमाणित गरेर देखाए सामाजिक जीवन त्याग्न तयार रहेको बताएका थिए।

प्रकाशित: २ जेष्ठ २०७३ २०:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App