१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भविष्यको प्रधानमन्त्री ओली की देउवा, मंसिर ४ मा जनमत संग्रहः महासचिव पोखरेल

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनसँग चुनावमा जाने नेतृत्व नभएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा संघको प्रचार भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य र चुनावमा जाने नेतृत्व नभएको टिप्पणी गरेका हुन्। उनले गठबन्धनले भविष्यको प्रधानमन्त्री को हो भनेर समेत भन्न नसक्ने दाबी गरे।

उनले नेपाल लोकतन्त्रमा प्रवेश गरिसकेको भन्दै अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता नरहेको जिकिर गरे। उनले जति धेरै राजनीतिक दलहरु भए त्यति नै धेरै नीतिगत विचलन, राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता हुने उल्लेख गर्दै नेकपा एमाले मुलुकलाई त्यसबाट मुक्त गर्न मुलुकलाई राजनीतिक ध्रुवीकरणको दिशाबाट अघि बढाएर बलियो राष्ट्रिय शक्ति बनाउनेतर्फ लागेको बताए।

महासचिव पोखरेलले ध्रुवीकरणलाई रोक्न र राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको आरोप लगाए। उनले ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो? घोषणा गर्नका लागि आह्वान गरे। उनले ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामाथ्र्य नभएको बताए।

उनले भने, ‘गठबन्धनको कुनै लक्ष्य, उद्देश्य, गन्तव्य छैन, गठबन्धनसँग चुनावमा जाने नेतृत्व पनि छैन। भविष्यको प्रधानमन्त्री को हो? भन्न सक्दैन ५ दलीय गठबन्धन। अब नेपाल, लोकतन्त्र, गणतन्त्रको युगमा प्रवेश गरेका बेलामा अब धेरै राजनीतिक दलहरुको आवश्यक्ता छैन। जति धेरै राजनीतिक दलहरु, त्यति धेरै नीतिगत विचलन, जति धेरै राजनीतिक दलहरु त्यति धेरै राजनीतिक अस्थिरता, स्वार्थहरुको सम्झौता, त्यसबाट मुलुकलाई मुक्त गर्नको लागि अब राजनीतिक ध्रुवीकरण जरुरी छ। मुलुकलाई यो ध्रुवीकरणको दिशाबाट अघि बढाएर एउटा बलियो राष्ट्रिय शक्तिको रुपमा नेकपा एमालेलाई स्थापित गर्ने अभियानका रुपमा आउँदै गरेको निर्वाचन २०७९ हो। जुन निर्वाचनका माध्यमबाट मंसिर ४ गते नयाँ युग तर्फको आरम्भ गर्दैछौँ। अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा त्यो अभियानमा अब युवाहरु अघि बढ्न जरुरी छ। आजको ध्रुवीकरणलाई रोक्नका लागि, राष्ट्रिय शक्ति निर्माणको यात्रालाई रोक्नको लागि ५ दलीय गठबन्धन अघि बढीरहेको छ। म गठबन्धनका नेताहरुलाई भन्न चाहन्छु, नेकपा एमाले मुलुकको भविष्यको नेतृत्व गर्नको लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावि प्रधानमन्त्रीको रुपमा जनताका बीचमा लिएर जाँदैछ। ५ दलीय गठबन्धनको भविष्यको प्रधानमन्त्री को हो? घोषणा गर्नका लागि म आह्वान गर्न चाहन्छु। ५ दलीय गठबन्धन आफ्नो उद्देश्य प्रस्तुत गर्ने सामाथ्र्य आउँदैन। न नेता दिनसक्छ, न नीति दिनसक्छ। तिनीहरुको माध्यमबाट देशको भविष्य बन्न सक्दैन।’

महासचिव पोखरेलले अब मुलुकलाई नयाँ बाटोमा लैजानुपर्ने आवश्यक्ता रहेको बताए। उनले नेकपा एमालेको विरुद्धमा चौतर्फी घेराबन्दी भइरहेको भन्दै गठबन्धनले गरेको घेराबन्दी जनताको जीवनमा परिवर्तन ल्याउनका लागि नभएको जिकिर गरे।

महासचिव पोखरेलले देश केपी ओलीको नेतृत्वमा अघि बढ्ने हो वा शेरबहादुर देउवाको नेतृत्वमा अघि बढ्छ भन्नेकुरा आगामी मंसिर ४ गते जनमतसंग्रह हुने बताए। महासचिव पोखरेलले नेपाली काँग्रेसलाई देशको यथास्थितिको प्रतिनिधिमुलक पात्र भएको आरोप लगाए। उनले नेपाली काँग्रेसको नेतृत्वमा परिवर्तन र समृद्धिको अपेक्षा गर्न नसकिने बताए।

प्रकाशित: ७ आश्विन २०७९ १४:५६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App