८ मंसिर २०८१ शनिबार
image/svg+xml
राजनीति

आउँदो चुनावका लागि उदयपुरमा झण्डै २ लाख २९ हजार मतदाता

जिल्ला निर्वाचन कार्यालय उदयपुर।

आगामी मंसिर ४ गते तोकिएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि उदयपुरमा सवा दुईलाख बढी मतदाता हुने भएका छन्। चुनाव हुनु अघिल्लो दिन अर्थात् मंसिर २ गतेसम्ममा १८ वर्ष उमेर पुगेर मताधिकार प्राप्त गर्नेको सो संख्या जिल्ला निर्वाचन कार्यालय उदयपुरले यकिन गरेको हो।

निर्वाचन अधिकारी खेमराज कोइरालाका अनुसार सो मितिसम्ममा जिल्लाभरी २ लाख २८ हजार ९ सय ४६ जना मतदाता संख्या पुग्नेछ। जसमा महिला १ लाख १२ हजार ८ सय ४९ र पुरुष १ लाख १६ हजार ९५ जना रहेका छन् भने दुई जना अन्य लिङ्गका छन्।

कोइरालाले गत स्थानीय तह चुनावयता महिला १ हजार ५ सय ९८ र पुरुष ३ हजार २ सय १० गरी कुल ५ हजार ८ सय ८ जना मतदाता थपिएका छन्। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीय तह रहेको उदयपुरमा आउँदो मंसिर ४ को निर्वाचनमा मतदानस्थल र मतदान केन्द्र पनि बढ्ने जिल्ला निर्वाचन कार्यालय, उदयपुरले जनाएको छ।

गएको स्थानीय तह चुनावमा ९८ मतदान केन्द्र र २ सय ५८ मतदान केन्द्र रहेकोमा आउँदो चुनावमा १ सय १ मतदानस्थल र २ सय ६४ मतदान केन्द्र कायम गरिएको छ। गएको स्थानीय तह चुनावमा सबभन्दा बढी मतदाता त्रियुगा नगरपालिकामा थिए।

त्रियुगामा २९ हजार ६ सय ९३ महिला र ३० हजार ३ सय ५१ पुरुष र २ अन्य गरी ६० हजार ४६ मतदाता थिए। मतदानस्थल २५ र मतदान केन्द्रहरु ७० वटा थिए। त्यस्तै दोस्रो ठूलो मतदाता संख्या चौदण्डीगढी नगरपालिकामा थियो। १८ हजार ८ सय ८३ महिला र १९ हजार ६ सय ११ पुरुष मतदाता रहेको चौदण्डीगढी ३८ हजार ४ सय ९४ मतदाता थिए। त्यहाँ वैशाख ३० को चुनावमा १६ मतदातस्थल र ४६ मतदान केन्द्र चोकिएको थियो।

कटारी नगरपालिकामा १८ हजार ८ सय ५८ महिला र १८ हजार ५ सय ८८ पुरुष गरी ३८ हजार ६ सय ११ मतदाता थिए। त्यहाँ १५ मतदानस्थल र ४३ मतदान केन्द्र रहेका थिए। उता बेलका नगरपालिकामा २३ हजार ६ जना मतदाता रहेकोमा १६ हजार ६ सय ९६ महिला र १६ हजार ३ सय १० पुरुष थिए। बेलाकामा ९ मतदानस्थल र ३५ मतदान केन्द्र राखिएको थियो।

यता गाउँपालिकातर्फ लिमचुङबुङमा ४ हजार ४ सय १५ महिला र ४ हजार ७९ पुरुष गरी वैशाख ३० को चुनावमा ८ हजार ४ सय ९४ मतदाता थिए भने ७ मतदानस्थल र १२ मतदान केन्द्र थिए। त्यसैगरी ताप्ली गाउँपालिकामा ५ हजार १ सय ८ महिला र ४ हजार ८ सय २३ पुरुष गरी जम्मा ९ हजार ९ सय ३१ मतदाता थिए। ताप्लीमा ७ मतदानस्थल र १२ मतदान केन्द्र कायम गरिएको थियो।

आठ वटा मतदानस्थल र १७ वटा मतदान केन्द्र रहेको रौतामाई गाउँपालिकामा ७ हजार ५ सय ८५ महिला र ६ हजार ८ सय ८४ पुरुष गरी १४ हजार ६ सय ९ मतादाता थिए। गाउँपालिकातर्फ सबभन्दा बढी मतदाता उदयपुरगढीमा त्यो बेला २० हजार २ सय ५२ थिए। ११ मतदानस्थल र २६ मतदान केन्द्र रहेको उदयपुरगढीमा १० हजार ६ सय ४७ महिला र ९ हजार ६ सय ५ पुरुष मतदाता थिए।

प्रकाशित: ६ आश्विन २०७९ १०:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App