९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

आजदेखि अस्थायी मतदाता नामावली संकलन

फाइल तस्बिर

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फका लागि बिहीबारदेखि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ।

आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले बुधबार प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने कार्य सुरु गर्न लजानकारी दिए।

‘आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने काम बिहीबारदेखि सुरु गरिँदै छ’, उनले भने, ‘अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने छ। यस्ता मतदाताले प्रदेशसभातर्फ समानुपातिक निर्वाचनमा मतदान गर्न पाउने छैनन्।’

अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधिसभातर्फ समानुपातिक निर्वाचनमा मात्र मतदान गर्न पाउने व्यवस्था छ। सर्वोच्च अदालतले मतदाता नामावली ऐन, २०७३ अनुसार अस्थायी मतदाता नामावली तयार गरी मताधिकार प्रयोग गर्न पाउने आवश्यक व्यवस्था मिलाउन आयोगलाई विभिन्न समयमा आदेश दिएको थियो।

सो ऐनमा सरकारी कर्मचारी, ब्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा÷कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी सरकारबाट स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिको अस्थायी मतदाता नामावली संकलन गरी मतदान गर्न पाउने व्यवस्था छ।  

आयोगको निर्वाचनसम्बन्धी कार्यविधिअनुसार असोज ८ देखि २६ सम्म अस्थायी मतदात नामावलीमा नाम समावेश गर्न प्रदेश÷जिल्ला निर्वाचन अधिकारीको सम्बन्धित कार्यलय प्रमुखले प्रमाणित गरी प्रमुख दर्ता अधिकारीको कार्यालयमा पठाउनुपर्ने छ। कात्तिक १ गते प्राप्त अस्थायी मतदाताको विवरण रुजु गरी सम्बन्धित निर्वाचन कार्यालयमा नामावली प्रकाशन गर्ने, कात्तिक २ देखि ३ गते अस्थायी मतदाता नामावलीमा नाम छुट भएका वा प्रकाशित विवरणमा त्रुटि भएका व्यक्तिले त्रुटि सच्याउन निवेदन दिने, कात्तिक ४ गते प्राप्त निवेदनउपर जाँचबुझ गरी संशोधित मतदाता नामावली प्रकाशन गर्ने, कात्तिक ५ देखि ६ गतेसम्म संशोधित अस्थायी मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिका सम्बन्धमा दाबी विरोधका लागि निवेदन पेस गर्ने, दाबी विरोधको निवेदनउपर कात्तिक ७ देखि ११ गतेसम्म जाँचबुझ गरी निर्णय गर्ने, कात्तिक १२ देखि १३ गतेसम्म अन्तिम अस्थायी मतदाता नामावली तयार गर्ने र कात्तिक १४ गते अन्तिम अस्थायी मतदाता नामावली प्रकाशन गर्ने आयोगको कार्यतालिका रहेको छ।

आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निवार्चनका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ। ‘आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि असोज ११ गतेदेखि लागू हुने गरी न्यायपरिषद्को सिफारिसमा ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरू नियुक्त गरेको छ’, उनले भने, ‘७७ जिल्लाका न्यायाधीशलाई सोही जिल्लाको मुख्य निर्वाचन अधिकृत र ८८ निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत तोकिएको छ।’

मतदान गर्न पाउनुपर्ने प्रबासी नेपालीको माग

विदेशमा रहेका गैरआवासीय नेपालीले मतदान गर्न पाउनुपर्ने माग गरेका छन्। नेपाली जनसम्पर्क समिति नेदरल्यान्डले बुधबार प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई ज्ञापन पत्र बुझाउँदै मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान व्यवस्था मिलाउन आग्रह गरे। जनसम्पर्क समितिका सभापति शालिक गौतमले मागपत्र बुझाउँदै विदेशमा रहेका नागरिकलाई सम्बन्धित देशमा रहेको नेपाली दूतावासमार्फत मतदान व्यवस्था मिलाउन अनुरोध गरेका हुन्।

विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाएर आर्थिक विकासमा योगदान पुर्‍याएको स्मरण गराउँदै मुलुकको राजनीतिक नेतृत्व चयन गर्न पाउने अवसर प्रदान गर्न आग्रह गरेका हुन्। नेपालको संविधानले हरेक नेपालीलाई मताधिकार हुने व्यवस्था गरेकाले विदेशमा रहेका नेपालीले पनि मतदान अधिकार पाउनुपर्ने समितिको माग छ।

प्रकाशित: ६ आश्विन २०७९ ०२:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App