२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस नेताले 'छापामार' शैलीमा एमाले कार्यकर्ताको घर बनाए

झापा-धेरै भएकै छैन यही समाजमा यस्तो अवस्था पनि थियो, फरक राजनीतिक आस्थाका मान्छे न मर्दाका मलामी बन्थे, न जिउँदाको जन्ती हुन्थे। काँग्रेस र कम्युनिष्टबीच पानी बाराबारको अवस्था थियो । दिनैपरे विपक्षीलाई ताली होइन, गाली दिइन्थ्यो।

२०४६ लगत्तै मौलाएको दलीय प्रतिष्पर्धाको 'साइड इफेक्ट' थियो यो। लोकतान्त्रिक गणतन्त्र स्थापना भएको लामो समय बितिसक्दासम्म पनि आपसमा सहयोग गर्नुपरे कि आफ्नै पार्टी कि त आफ्नै जाति नै खोज्ने चलन गइसकेको छैन ।

तर, विहीबार बिहान झापा मेचीनगर-७ को गिरीगाउँमा बिल्कुलै भिन्न दृश्य देखिन्थ्यो। एकाएक काँग्रेसका केन्द्रदेखि जिल्ला , वडातहसम्मका नेता–कार्यकर्ता भेला हुँदै गए। स्थानीयले लख काटे, काँग्रेसको कुनै कार्यक्रम रहेछ। पार्टीका अधिकांश नेता कार्याकर्ता भेला भए पनि त्यहाँ चारतारे झण्डा, बिपीकाे फोटो केही थिएन। भेला हुनुको एउटै उद्देश्य थियो नौ दिन अघि घर जलेर सर्वस्व गुमाएका एमाले कार्यकर्ता वीरबहादुर (राजन) गिरीको घर बनाउनु। त्यसैले भेला भएका काँग्रेसका नेता कार्यकर्ता हातमा खुकुरी, खन्ती, कोदालो, बाँसका घना, डोरी र जस्तापातासहित उपस्थित थिए।

केहीबेरमा टोलीले काम थालिहाल्यो । केन्द्रीय सदस्य विश्वप्रकाश शर्मा बाँस खुर्किन थाले, महासमिति सदस्य बिमल आचार्य जस्ता ओसार्न थाले, जिल्ला सचिव प्रेम सम्वाहाम्फे भाटा चिर्दै नापजोख गर्ने, नगर सभापति इन्द्रबहादुर बुढाथोकी छानोको डाडाभाटा बाँध्न थाले। उनीहरुकै साथमा रहेका अरु सयौं कार्यकर्ता कोही खाल्डो खन्न थाले कोही टाटीबेरा बुन्न अघि सरे। केहीले माटो बोक्दै पुर्ने लगायतका आफ्नो भागमा परेको काम गर्न थाले । आगोले खरानी बनाएको ठाउँमा केही घण्टामै बस्न लायक घर खडा हुन थाल्यो। घर बनाउन भेला भएका केन्द्रीय नेता विश्वप्रकाश शर्मादेखि अरु दर्जनौं नेता कार्यकर्ता साँझसम्मै घर तयार गर्न खटिए । नेता शर्माकै भाषामा काँग्रेसका नेता कार्यकर्ता एक आपसमा मिलेर 'छापामार शैलीमा एमाले कार्यकर्ताको घर बनाउन जम्मा भएका' थिए ।

गएको चैत ३० गते अर्थात २०७२ को अन्तिम दिनमा गिरीलाई आगोले घरबारविहीन बनाइ दिएको थियो । नयाँ वर्षको मुखैमा गिरी परिवारले शरीरको लुगाबाहेक सबथोक गुमाएको थियो । सामान्य आर्थिक अवस्थाका बीरबहादुरका तीन छोरासहित ५ जनााको परिवार खुला आकाशमुनि पुग्न बाध्य भयो।

गिरी परिवारको बिचल्ली अवस्था देखेर काँग्रेस मेचीनगर–७ नम्बर वडा सभापति गिरीराज धमलाले उनको घर काँग्रेसले बनाइदिने कल्पना गरेर पार्टीमा कुरा पुर्याए । केन्द्रीय सदस्य शर्माले १ हजार रुपैयाँ तत्काल दिए । उनी पैसामात्र होइन श्रमदानसमेत गर्ने भन्दै खुकुरी, खन्ती र कोदालो लिएर निस्के । त्यसपछि कसैले ५ सय कसैले २ सय आ-आफ्नो गच्छे अनुसार आर्थिक सहयोगका साथ श्रमदान गर्न जुटे । घर बन्ने भएपछि गिरी परिवार खुशीले गद्गद् भयो । वडा सभापति धमलाका अनुसार १६ हजार रुपैयाँको जस्तापाता,, ८० घना बाँस, डोरी तार सवै पार्टीले जुटाएर करिब ६० हजार रुपैयाँको लागतमा घर बनाएर गिरी परिवारलाई घर प्रवेश गराइएको धमलाले बताए ।

'ढलेको मान्छेलाई हात दिएर उठाउन हामी उसको जाति सोध्दैनौ, कसैको जलेको घर बनाउन पनि हामी उसको पार्टी खोज्दैनौं', नेता शर्माले भने 'यो बेग्लै कुरा हो, हामी काँग्रेस पर्यौं होला उहाँ एमाले । तर, खासमा हामी नेपाली हौँ, सामाजिक प्राणी हौँ । त्यही मान्यताले प्रेरित भएर हामी उहाँको घर बनाउन जुटेका हौँ ।'

कहिले खुला आकशमुनी अनि कहिले छिमेकको शरणमा परेर पछिल्लो साता बिताएको गिरी परिवारलाई काँग्रेस कार्यकर्ताले वरिपरी जस्ता र चित्राको टाटी र टिन च्यापेको छानो भएको घर बनाइदिएका हुन् ।

'सातदिन साहै कष्टले दिनरात काटियो' घर बनेपछि अनुहारमा चमक छाएका गिरीले भने— 'काँग्रेसका साथीहरुको यो ऋण म कहिल्यै तिर्न सक्दिन । ठुलो ऋण लगाउनु भएको छ ।' उनले आफू एमाले कार्यकर्ताको घरमा आएर सबैथोक प्रबन्ध गरिदिने काँग्रेसको कदमले समाजमा सकारात्मक छाप छाड्नेसमेत बताए ।

विर्तामोडस्थित एक अस्पतालमा काम गर्ने गिरी भाईको नाममा रहेको ५ धुर जग्गामा घर बनाएर बसेका थिए । विहान बेलुका हातमुख जोर्न समेत हम्मे पर्ने यो परिवारलाई आगोले सबैथोक खरानी पारेपछि घर बनाउन निक्कै समस्या थियो । उनका अनुसार काँग्रेस नेता विश्वप्रकाश शर्मा नेतृत्वको टोलीले उनलाई बासको मात्र प्रबन्ध गरेन, गाँस र कपासको व्यवस्थासमेत गरिदिएको छ ।

उनका अनुसार ५ जनाको परिवारलाई थाल, बटुका, गिलास ५/५ थान, खाना पकाउने भाँडो, कराई, डाडु, पन्यू ,चामल, तेल, दाल, नुन, सुत्ने खाट, सिरक डसना, तन्ना, सिरानीलगायतको व्यवस्था समेत काँग्रेस टोलीले नै गरिदिएको छ ।काँग्रेसको यो कार्यको एमाले पार्टी पंक्तिले पनि स्वागत गरेको छ । 'दुःखमा रहेका बेला सबै जुटेर गरेको सहयोग प्रशंसनीय छ', एमाले मेचीनगर अध्यक्ष खेमराज पोखरेलले भने 'यसले समाजलाई सकारात्मक ऊर्जा दिनेछ ।'

प्रकाशित: ९ वैशाख २०७३ ०४:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App