coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

सधै क्षेत्र नम्बर १ को टिकटले तय गर्छ पर्साको राजनीति

जिल्लाको राजनीतिमा यसअघि पनि महत्वपुर्ण रह्दै आएको पर्सा क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको सिट यस पटक पनि निर्णायक हुने भएको छ। 

२०५६ सालको आम निर्वाचनमा भावी प्रधानमन्त्रीकै रुपमा नेपाली काँग्रेस पार्टीले कृष्णप्रसाद भट्टराईलाई टिकट दिएको थियो। उनले चुनाव जिते र प्रधानमन्त्री बने। यस क्षेत्रबाट जित्ने कोही पनि अहिलेसम्म दोह्र्‍याएर जितेको छैन। यसअघि २०७४ मा यहाँबाट तत्कालीन संघीय समाजवादी फोरम, नेपाल तथा हालको जनता समाजवादी पार्टी (जसपा)बाट प्रतिनिधि सभा सदस्यमा प्रदीप यादव निर्वाचित भएका थिए। उनका निकट्तम प्रतिनिधि नेपाली का‌‌‌ग्रेसका अनिल रुँगटा रहेका थिए। सत्तारुढ गठबन्धनका तर्फबाट यसपाली पनि यी दुई प्रमुख दावेदार छन्।  

साँसद चयनमा हरेक पटक नयाँ अनुहार खोज्ने यस क्षेत्रका मतदातामाझ यसपाली सत्तारुढ गठबन्धनले कसलाई उम्मेदवार बनाउने भन्ने महत्वपुर्ण छ। एमाले तथा उसँग तालमेल गर्ने दलको तर्फबाट उम्मेदवारको चयन पनि गठबन्धनको उम्मेदवारी हेरेर हुने आँकलन गरिएको छ। स्थनीय तह निर्वाचनमा गठबन्धन धर्म निर्वाहमा चुकेको जसपाले पर्सा क्षेत्र १ माथी स्वभाविक रुपमा दावी गर्ने विश्लेषण गरिएको छ।

जिल्ला समन्यव समितिको निर्वाचनमा एमालेसंग मिलेर काँग्रेस उम्मेदवारलाई हराउने खेलमा मुख्य रणनीतिकार रहेका साँसद यादवले विश्लेषण गरिए अनुसार टिकट पाएमा गठबन्धन जिल्लाको हकमा चुनौति हुनेछ। नेकपा एमाले तथा उसँग तालमेल गर्ने दलको लागि भने पर्सामा राम्रो अवस्था बन्ने छ। काँग्रेससहित गठबन्धनका अन्य दलले नै गठबन्धनका उम्मेदवारहरुलाई हराउने भुमिका गर्ने अवस्था बनिरहेको जानकारहरुको विश्लेषण छ।

गठबन्धनलाई हराउन गठबन्धन दलकै नेताहरुको भुमिका हुने स्थिती रोक्न चुनौतिपुर्ण रहेको यसका नेताहरुले स्विकार गरेका छन्। यसको लागि टिकट वितरणमा कम बिवादित र सबैलाई स्विकार्य हुने नाम अघि सार्नुपर्ने गठबनधनको बाध्यता छ।  

उक्त किसिमले रुँगटालाई टिकट दिदा उनी र पर्साका अन्य क्षेत्रमा पनि गठबन्धनका लागि अनुकुल अवस्था बन्ने काँग्रेस नेताहरुको दावी छ। काँग्रेसले उक्त सिट नपाएमा नेपाली काँग्रेसका दिग्गज नेता रहेका पूुर्व जिल्ला सभापति अजय कुमार द्विवेदी स्वतन्त्र वा नेकपा एमालेको तर्फबाट चुनाव लड्न सक्ने चौतर्फी चर्चा छ।

अहिले त्यस्तो निर्णयमा आफु नपुगेको तर राजनीतिमा परिस्थिती अनुसार सम्भावनाहरु सिर्जना हुने कुरा नकार्न नसकिने भन्दै द्विवेदीले सार्वजनिक रुपै अभिब्यक्ति दिएका छन्। काँग्रेसले उक्त सिट पाएमा द्विवेदी पनि एक प्रबल दावेदार हुन।  

यता एमाले स्रोतका अनुसार उक्त पार्टीका नेताहरुले यसबीचमा द्विवेदीसंग पटक पटक कुराकानी गरेका छन। यसरी गठबन्धनले क्षेत्र नम्बर १ को लागि तय गर्ने टिकट पर्साका लागि निर्णयक हुने मानिएको छ। २०७४ को चुनावमा जितेको जसपाले पर्सा १ यस पटक पनि आफूले पाउनुपर्ने अडानमा छ। पार्टी फुटाउन सक्ने गरी बलियो हैसियत कायम गरेपछि जसपा अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री बनाउन बाध्य पारेको वर्तमान बन तथा वातावरण मन्त्री रहेका यादवले दावी गरेको पर्सा १ को टिकट अरुलाई दिन सहज नभएको धेरैको भनाई छ।  

यादवले बिगतका निर्वाचनहरुमा पर्सामा बलियो बनाउन अहम भूमिका  खेलेकाले पार्टीले उनलाई नजरअन्दाज गर्न सक्ने अवस्था नरहेको उनका समर्थकहरु बताउछन्। जसपाभित्र उनको खुलेर बिरोध गर्न नसक्ने भए पनि एउटा फरक धार भने जिल्लामा कायम रहेको बताइन्छ। खासगरी यसभन्दा अघिल्लो पटक यादव मन्त्री नबनाइए पछि उनका समर्थकहरुले पार्टीबिरुद्ध अनुशासन भंग गरेर चर्को प्रदर्शन गरेका थिए। उक्त कार्यको लागि केही महिना पार्टीभित्र अनुशासनको कारवाहीमा समेत यादव परेका थिए।

त्यतिबेला उनलाई कारवाही गराउनका लागि सिफारिस गरेको जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरुसंग यादवको आन्तरिक मनमुटाव देखियो। आगामी निर्वाचनमा यसले असर पार्ने न पार्ने कुराको पनि विश्लेषण हुनुपर्ने गठबन्धनका घटक दलका नेताहरुको भनाई छ। त्यतिबेला साँसद यादव बिरुद्ध बिज्ञप्ति निकालेका जिल्ला अध्यक्ष रामरनेश यादवले अहिले बिवाद नरहेको दावी गरे। हाल वीरगन्ज महानगरपालिकाका २ वटा निर्वाचन क्षेत्रमध्ये एक नम्बर क्षेत्र यतिखेर कसले पाउने भन्ने कुरा जिल्लाको राजजीतिक भविष्य तय गर्नेमा निर्णायक हुनेमा भने धेरैको एक राय छ ।  

पर्सामा ४ क्षेत्र रहेको प्रतिनिधि सभाको टिकटमा गठबन्धनका दुई दल कांग्रेस र जसपाको दावी चलिरहेको छ । अन्य घटकले भने प्रदेश सभाका लागि दावी केन्द्रीत गरेको देखिन्छ । धमाधम पार्टी प्रवेश गराउदै अन्य दलका नेता कार्यकर्तालाई आफुतिर आकर्षित गर्ने कार्य गरिरेहको प्रतिपक्षी नेकपा एमाले भने हेरेर अघि बढ्ने रणनीति लिएको देखिन्छ ।  

प्रकाशित: ४ आश्विन २०७९ ०७:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App