१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचनमा मेरो जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गर्नु हुँदैनः प्रेम आले

पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

उनले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताए। उनले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताए। नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली काँग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताए।

गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उनको भनाइ छ। उनले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट विद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताए।

उनले भने, ‘मेरो जिल्लामा पनि नेपाली काँग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ। गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन। ७७ जिल्लामै गठबन्धन हुनु भएन। यदी गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो। मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई जानकारी दिएको छु। आज समाजवादी भर्खरै विद्रोहबाट जन्मिएको पार्टी, जनताको बीचमा नपुगेको पार्टी, स्थानीय तहको निर्वाचनमा कलम चिन्हको राम्रो प्रचार–प्रसार नभएको पार्टी, डोटीमा ९ वटा स्थानीय तहमा हाम्रो एकीकृत समाजवादीले जम्मा १० वटा वडामा मात्रै हाम्रो उम्मेदवारी भयो। ५५ वटा वडामा हामीले त्यत्तिकै छोडिदियौँ। त्यही १० वडाको भोट गनेर नेपाली काँग्रेसले समाजवादीको त ३ हजार भोट छ, समाजवादीको ३५ सय भोट छ भन्यो। भोटको कुरा हुन्छ? स्थानीय निर्वाचन हुनुभन्दा अगाडि काठमाडौँको मेयर बालेनको मत कति थियो? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो। उहाँको मत कति थियो? उहाँको कुनै मत नै थिएन। त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले विद्रोहको प्रयास गरिराखेका छन्। यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ।’

उनले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताए। नेता आलेले मगर एक्लै-एक्लै हरेक जातिसँग प्रतिस्पर्धा गर्नसक्ने जाति भएको बताए। उनले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउने गरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिए।

प्रकाशित: ३ आश्विन २०७९ ११:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App