२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अघोषित नाकाबन्दी हटाएको भारतले दमकल र एबुम्लेन्स रोक्यो

झापा–नेपालको आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न नपाएको झोँकमा लामो समयसम्म नाकाबन्दीको सकस लादेको भारतले गैरआवासीय नेपालीले दान दिएका दमकल र एम्बुलेन्स नेपाल ल्याउन पनि रोक लगाएको छ।बेलायतको गोर्खा ब्रिटिस फाउण्डेसनले झापा मेचीनगर नगरपालिकाका लागि पठाएको एम्बुलेन्स र वारुणयन्त्र (दमकल) आठ महिनादेखि भारतमा बिनाकारण रोकिएको छ। कोलकातास्थित बन्दरगाहमा आठ महिनादेखि थन्किएको एउटा एम्बुलेन्स र एउटा वारुणयन्त्र मेचीनगर ल्याउने लामो प्रयास सफल हुन सकेको छैन।

काँकडभिट्टाकै बासिन्दासमेत रहेका बेलायतका पूर्व काउन्सिलर धन गुरुङको पहलमा नगरपालिकालाई दुई वटा दमकल र दुई वटा एम्बुलेन्स दिने सहमति भएको थियो। सहमति अनुसार पहिलो चरणमा एउटा वारुण यन्त्र र एउटा एम्बुलेन्स पठाइएको थियो। गएको भदौ पहिलो हप्ता बेलायतबाट पूर्व काउन्सिलर गुरुङको नेतृत्वमा १५ जनाको टोली काठमाडौं र मेचीनगर आएको थियो । टोलीले साथमा औषधि पनि ल्याएको थियो। अहिले त्यही औषधि पनि काठमाडौंस्थित विमानस्थल भन्सारमा थन्किएको छ।

'पूर्व बेलायती काउन्सिलर धन गुरुङकै अगुवाइमा मेचीनगरलाई दमकल, एम्बुलेन्स र औषधि आएको थियो', मेचीनगरका कार्यकारी अधिकृत पशुपति खतिवडाले भने, 'तर, आठ महिना बित्यो औषधि पनि आइपुगेको छैन, एम्बुलेन्स र दमकल कोलकतामा थन्किएका छन्।' उनले यसरी रोकिनुको कारणबारे केही थाहा नभएको बताए। तर, नगर स्रोतका अनुसार औषधि भन्सार शुल्क तिर्न नसकेर काठमाडौं विमानस्थल भन्सारमा थन्किएको छ । सात लाख रुपैयाँ औषधिको भन्सार लाग्ने स्रोतको भनाइ छ ।

एम्बुलेन्स र बारुणयन्त्र कार्गोमार्फत भारतको कोलकात्ता बन्दरगाह आइपुगेको थियो । नगरपालिकाले भदौ ७ गते एक कार्यक्रम आयोजना गरी एम्बुलेन्स र बारुणयन्त्र हस्तान्तरण प्रक्रिया शुरु गर्ने निर्णय गरेको थियो । तर, भदौ ७ गते नै कैलालीको टिकापुरमा थरुहट आन्दोलनका कारण एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी र २ जना बालकको मृत्यु भएपछि बेलायतबाट काठमाडौ र मेचीनगर आइपुगेको टोली बेलायत फर्केको थियो।

लगत्तै नगरपालिकाको हस्तान्तरण कार्यक्रम स्थगित भएको थियो। त्यसको केही महिनापछि मधेस आन्दोलन र नाकाबन्दीले कार्यक्रम हुन सकेको थिएन। नगरपालिकाले कोलकाताबाट एम्बुलेन्स र बारुणयन्त्र ल्याउन प्रक्रिया अघि बढाएको थियो। तर, कोलकाता भन्सारका अधिकारीहरुले 'नेपाललाई एम्बुलेन्स भारतले दिइहाल्छ नि , किन विदेशबाट ल्याउनु' भन्दै रोकेर राखेका हुन् । तर, यसबारे नेपाली पक्षले कहीँकतै सार्वजनिक केही भनेको छैन ।

नगरपालिका तत्कालीन कार्यकारी अधिकृत केशव भट्टराईको पालामा यो कामको पहल शुरु भएको थियो । त्यसबेला देशमा आन्दोलन चर्किएकाले नगरपालिकाले उक्त औषधि र सामग्री ल्याउने पहल गरे पनि सफल भएन । कार्यकारी अधिकृत खतिवडाका अनुसार औषधि नगरपालिकामा ल्याउन प्रक्रिया अघि बढाउँदा पनि सरकारले दिएको छैन। पूर्व काउन्सिलर गुरुङका भाई एवम् तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद मेचीनगरका पूर्व अध्यक्ष जगत गुरुङका अनुसार ७ लाख रुपैयाँ तिरेर मात्र औषधि ल्याउन पाइने भएकाले रोकिएको हो । उनका अनुसार कोलकात्ता बन्दरगाहमा रहेको एम्बुलेन्स र बारुणयन्त्र भारत सरकारले रोकेको छ । 'नेपाललाई चाहिए हामीसँगै खरिद गरेर लान सक्छ ' भारतीय अधिकारीले भनेको कु्रा गुरुङले हुबहु सुनाए 'तर, तेस्रो मुलुकबाट आएको सामान लान दिँदैनौ ।' दाताले दिएको अत्यावश्यक सेवाका सामान ल्याउन भारतले लगाएको अंकुश आपत्तिजनक भएको उनको भनाइ छ ।

नेपाली जनताका प्रतिनिधिले आफंै संविधान बनाएकोमा रुष्ट भारतले लामो नाकाबन्दी गरेको थियो । त्यसबेला भारतमा आइपुगेको एम्बुलेन्स र दमकल नेपाल ल्याउन दिएन । उक्त एम्बुलेन्स र वारुणयन्त्र बेलायत पनि फर्काइएन । ती साधन अहिले भारतमै प्रयोग गर्न थालिएको एक उच्च स्रोतले जनाएको छ । अत्याधुनिक प्रविधि जडित एम्बुलेन्स र वारुणयन्त्रको करिब नेपाली मूल्य १० करोड रुपैयाँ पर्ने स्रोतले जनाएको छ।

नगरपालिकाका खाद्य अधिकृत दिपेन्द्र कार्की भन्छन्, 'बेलायतको गोर्खा ब्रिटिस फाउण्डेशन अन्तरगत इन्फास्ट्रक्चर टे«निङ एण्ड एशोसिएशन प्रोजेक्टले विपद व्यवस्थापनका लागि पहिलो चरणमा एउटा एम्बुलेन्स र एउटा बारुणयन्त्र र केही औषधि नगरपालिकालाई सहयोग गर्ने सहमति थियो । एम्बुलेन्स र वारुणयन्त्र छुटाउन माथिल्लो तहबाट प्रयास गरियो तर ल्याउन सकिएको छैन ।'

प्रकाशित: ३० चैत्र २०७२ ०१:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App