नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले माओवादीले थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउन सक्ने भएपनि माधवकुमार नेपालको पार्टी (एकीकृत समाजवादी)ले भने ३ प्रतिशत पनि भोट नपाउने दाबी गरेका छन्। एकीकृत समाजवादीले ३ प्रतिशतको थ्रेस होल्ड पार गरेर राष्ट्रिय पार्टीमा आउनै नसक्ने उनले बताए।
पोखरामा मंगलबार नेपाल लोकतान्त्रिक तमु संघको दोश्रो राष्ट्रिय सम्मेलनमा बोल्दै ओलीले भने, ‘माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को पार्टीले यो पटकका लागि थ्रेसहोल्ड पार गरेर राष्ट्रिय पार्टीको इज्जत जोगाउनेछ। तर, माधव नेपालको पार्टी (एकीकृत समाजवादी)ले ३ प्रतिशत भोट पनि ल्याउँदैन। नोट गरेर राख्नुस्, चुनावसम्म माधव नेपालसँग खास कार्यकर्ता कोही रहने छैनन्।’
मतदाताप्रति अध्यक्ष ओलीको प्रश्न थियो, ‘मतदाताले माधव नेपाललाई के देखेर भोट दिने? कुन कामका लाटि भोट दिने? के गरेकोले भोट दिने? पार्टी फुटाए वापत? पार्टी फुटाएर एउटा चौटो लिएर गएर दर्ता गरे वापत? एमालेको सरकार ढाली पाउँ भनेकोले? के वापत माधव नेपाललाई माया गर्ने? माधव नेपालको पार्टीले भोट पाउँदैन, उनको पार्टीले ३ प्रतिशतको थ्रेस होल्ड पार गरेर राष्ट्रिय पार्टीको रुपमा आउनै सक्दैन। ‘माधव नेपाललाई एमालेका विरुद्ध काम गरेको पारिश्रमिक स्वरुप सबै मिलेर एकसिट जिताइदिउँ,’ उनले भने।
मंसिर ४ मा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सरकारले बुथ कब्जा गर्न सक्ने पनि उनको दाबी छ। अघिल्ला सबैजसो निर्वाचनमा सधैंजसो केही निर्वाचन क्षेत्रमा बुथ कब्जा हुने गरेको उनले दाबी पेश गरे। ओलीका अनुसार स्याङजाका २–४ वटा बुथमा अहिलेसम्म निर्वाचन हुन पाएको छैन चापाकोट लगायतका मतदान केन्द्रमा सधैं बुथ कब्जा हुने गरेको ओलीको दाबी छ ।
‘स्याङजाका चापाकोट लगायतका बुथ रक्षा गर्नुस्। त्यहाँका मतदाताले आफ्नो भोट मन लागेको ठाउँमा खसाउन पाएका छैनन् फेरि पनि यो सरकारले त्यो बाटो समाउँदैन। मान्छेको हातखुट्टा भाच्न लगाउँछ। छिमेकमा मान्छे मारेर अरुलाई तर्साउने गरिएको छ। चुनाव हुनै नदिएर अविरजात्रा गर्ने गरिएको छ,’ उनले भने, ‘त्यहाँ लज्जाजनक काम हुने गरेको छ। सरकारको ध्यानाकर्षण गराउँछु। चापकोट क्षेत्रका मतदाताले भोट हाल्नै पाउँदैनन्।’
बुथ कब्जा गरेर मान्छेका हातखुट्टा भाच्न लगाएर मतदातालाई भोट हाल्न आउनबाट तर्साउने गरिएको उनले बताए। ‘चुनाव हुनै नदिने गरिएको छ। अहिलेसम्म जनताले भोट हाल्न पाएका छैनन चापाकोटमा। त्यहाँ कर्मचारी पनि उस्तै पठाइन्छ,’ उनले भने, ‘अब पनि त्यसरी बुथ कब्जा गरिए त्यसमा हाम्रो कमजोरी हुनेछ।’
ओलीले सरकारले सत्ता दुरुपयोग गरेको पनि आरोप लगाए। स्थानीय तहको निर्वाचनमा पनि सत्ता दुरुपयोग गरिएको उनको आरोप थियो। त्यसबाहेक सरकारले सुशासन कायम गर्न नसकेको उनको भनाइ थियो। काभ्रेमा सामान्य विवादलाई लिएर भएको विवाद समाधान भइसके पनि गृहमन्त्रीको निर्देशनमा एमाले कार्यकर्ताविरुद्ध मुद्धा चलाएको ओलीको आरोप थियो।
‘मिलापत्र भइसकेको विषयमा समेत एमाले कार्यकर्तालाई गृहमन्त्रीको निर्देशनमा मुद्धा लगाइको छ। गृहमन्त्रीको निर्देशनमा एमालेका नेतामाथि मुद्धा चलेको छ,’ उनले भने, ‘सरकारले लोकतान्त्रिक विधि विगारेको छ। सत्ता दुरुपयोग गरेको छ।’
प्रकाशित: २८ भाद्र २०७९ १०:३६ मंगलबार