६ वैशाख २०८१ बिहीबार
राजनीति

चितवनबाट चुनाव लड्ने प्रचण्डको घोषणा

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्ता गठबन्धनबीच भागबण्डामा बुधबारसम्म सहमति जुट्ने बताउँदै आफू चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य लड्ने बताएका छन्।

प्रदेश स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा सहभागी हुन धनगढी पुगेका अध्यक्ष दाहालले क्षेत्र र प्रदेशको भागबण्डा एकै पटक मिलाउने गृहकार्य भइरहेको बताए। कार्यदलमा मंगलबार बेलुकीसम्म एक खालको खाका तयार हुने बताए। यस्तै नेपाली काँग्रेस ८० र माओवादी केन्द्र ६० को वरपर सहमति हुने उनको भनाइ छ।

‘कार्यदलले आज साँझसम्म तयार पारेको खाका भोलि बुधबार शीर्ष तहमा बसेर अन्तिम रुप दिन्छौँ’ उनले भने, कार्यदलमा नमिलेका क्षेत्रमा शीर्ष तहमा बसेर मिलाउँछौँ।’ नेपाली काँग्रेसले सुरुमा १ सय सिटमा दाबी गरेको थियो। नेपाली काँग्रेस ८० सिट वरिपरि सहमत हुने सम्भावना रहेको उनले बताए। उनले काँग्रेसले ८० सिट वरिपरि सहमत हुने बताए। ‘हामीले पनि ६० भनेका थियौँ। त्यसबाट केही तलमाथि होला तर त्यसैको वरिपरि हुन्छ’ उनले भने।

दाहाल चितवनबाट चुनाव लड्ने

दाहालले चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य लड्ने बताएका छन्। चितवन बाहिर गएर चुनाव लड्ने आफूले अहिले नसोँचेको बताए। बाग्लुङबाट चुनाव लड्ने चर्चाबारे पत्रकारले सोधेको प्रश्नको जवाफमा उनले चितवन बाटै चुनाव लड्ने बताएका हुन्। जनताको भावना बुझ्न यसअघि रोल्पा, काठमाडौँ, सिराहामा चुनाव लडेको उनले बताए।

‘साथीहरुले सिफारिस आफ्नो ढंगबाट गरिराख्नु भाछ तर अन्त जाने कुनै सम्भावना छैन। म चितवन क्षेत्र नम्बर ३ बाट नै लड्ने हो’ उनले भने। गठबन्धन गरेरै चुनाव लड्ने सहमति रहेको उनले बताए। उम्मेदवारको मनोनयन भएको दिनसम्म मात्र संसदको कार्यकाल रहने उनको भनाइ थियो।

संसदको आयु लम्ब्याउनु हुँदैन भनेर निर्णय गरिएको उल्लेख गर्दै मनोनयन एक दिन तलमाथि नजाने उनले बताइ। यसैगरी मंगलबार धनगढीमा प्रदेश स्तरीय राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सुदूरपश्चिम प्रदेशमा विगतमा जस्तो पार्टीको रिपोर्ट उत्साह जनक नरहेको बताए।

पहिले थोरै संख्यामा हुँदा पनि आत्मविश्वास र उर्जा धेरै हुने गरेको स्मरण गर्दै अहिले त्यो उत्साह नदेखिएको उनको भनाइ थियो। ‘पहिले पचास, सय हुँदा पनि हामीमा भरपुर आत्मविश्वास थियो, उत्साह थियो, संसार जित्छौँ भन्ने लाग्थ्यो’ उनले भने, ‘अहिले यती धेरै छौं, उत्साह, उर्जा त्यस्तो छैन।’

सुदूरपश्चिममा माओवादी केन्द्रमा संगठनमा, बुझाइमा पनि एकरुपता हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘बुझाइमा एकरुपता छैन जनताका लागी जनताको बीचमा गएर काम गर्ने पहिलेको जस्तो सोच पनि छैन।’ दाहालसँगै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ पनि कार्यक्रममा सहभागी हुन धनगढी आएका थिए।

प्रकाशित: २१ भाद्र २०७९ १२:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App