१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अब काठमाडौँमा बस्ने होइन, बस्तीबस्तीमा जाने होः माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावलाई लक्षित गरी बस्तीबस्तीमा पुगेर संगठन निर्माण र परिचालनको काममा खटिन सिंगो पार्टी पंक्तिलाई सचेत गराएका छन्।

पार्टी निकट नेपाल दलित मुक्ति संगठनको काठमाडौँमा मंगलबारबाट सुरु भएको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले आगामी चुनावमा आफ्नो पार्टीका उम्मेदवारहरुलाई जिताउने गरी संगठन परिचालनको काममा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।

यस्तै उनले आफ्नो पार्टीले भने त्यसलाई सम्भव बनाएर अघि बढ्न चाहिरहेको उल्लेख गरे। त्यसका लागि पार्टीको हैसियत र सामथ्र्य वृद्धिका लागि सिंगो पार्टी पंक्ति परिचालन हुनुपर्ने उनको भनाइ थियो।

सोही क्रममा उनले सत्तारुढ गठबन्धन भित्र प्रदेशसभा र प्रतिनिधिसभा सिट बाँडफाँडको विषय पेचिलो बन्दै गएको बताए। उनले आगामी मंसीर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ दलहरुबीच सहमति भएपनि सिट बाँडफाँडको विषय सम्भव हुन्छ वा हुन्न? भन्ने प्रश्न उठ्ने गरेको स्पष्ट पारे।

उनले भने, ‘अब हामीले चुनावमा लाग्नुछ। चुनावका लागि नै संगठन बनाउनु छ। संगठन परिचालन गर्नुपर्नेछ। अब काठमाडौँ र सदरमुकाममा बस्ने होइन। अब बस्तीबस्तीमा जाने हो। त्यसका निम्ति को उठ्यो? ठूलो कुरा होइन। हाम्रो पार्टीका कलम चिन्हका उम्मेदवार उठे, उठेनन्? हामीले समानुपातिकमा सबै ठाउँमा उम्मेदवारी दिन्छौं। त्यसको निम्ति हामीेले प्रत्यक्ष निर्वाचन मात्रै होइन। समानुपातिक निर्वाचन पनि सँगसँगै हुने भएको हुनाले समानुपातिकको मतमा प्रतिनिधिसभामा पनि कलम छाप, प्रदेशसभामा पनि कलम छाप। अनि प्रत्यक्षतर्फ उठेका हाम्रा उम्मेदवारलाई पनि हामीले कलम छापमा भोट खसाल्ने हो। र, चुनावमा विजयी बनाउने हो। अहिले हामीले भर्खरै स्थानीय तहको निर्वाचन सम्पन्न गर्‍यौँ। त्यसमा सवाँ नौं लाख जनताको समर्थन पनि हासिल गर्‍यौँ। अहिले हामी विभिन्न पार्टीहरुसँग चुनावको तालमेल गर्दै अगाडि बढिरहेका छांैं। यो तालमेल गर्दै अघि बढदै जाने क्रममा नै हामी सिटको बाँडफाँड गर्न चाहिरहेका छौं। त्यो कति सम्भव छ, कति सम्भव छैन भन्ने बारेमा पनि प्रश्न उठेको छ। हामीले सम्भव तुल्याउन चाहिरहेका छौं। त्यसो भएको हुनाले हामी तपाईँहरुबाट के आशा गर्छौं भने सम्पूर्ण पार्टीका कार्यकर्ता साथीहरु, मुक्ति संगठनका हाम्रा सबै नेताहरु, केन्द्रीय सदस्यहरु, तपाईहरुले प्रदेश कमिटी र जिल्ला कमिटी बनाउनु भएको छ भने उनीहरुलाई पनि परिचालन गर्ने काममा लाग्नुहोस्। र, नेपालको राजनीतिमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को हैसियत र सामथ्र्य वृद्धि गर्नका लागि तपाईँहरु सम्पूर्ण रुपमा समर्पित हुनुहोस्। पार्टी तपाईहरुको साथमा छ। तपाई हामी हातेमालो गर्दै नेपाली समाजलाई रुपान्तरण गर्ने काममा जुटौं।’

त्यस अवसरमा अध्यक्ष नेपालले दलित समूदायमाथि अपहेलना गर्नेहरुलाई पार्टीको सदस्यता नदिने चेतावनी समेत दिए।

प्रकाशित: २१ भाद्र २०७९ ०८:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App