९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

उदयपुरका दुवै निर्वाचन क्षेत्रबाट नेपाली काँग्रसका उम्मेदवार सिफारिस

आगामी मंसिर ४ का संभावित उम्मेदवार डा. नारायण खड्का र खगेन्द्र राई।

आगामी मंसिर ४ गते गर्ने घोषणा भएको प्रतिनिधि तथा प्रदेशसभा सदस्य चुनावका लागि उदयपुरका राजनीतिक दलहरुले आकांक्षीको नाम सिफारिस गर्न थालेका छन्। जस अनुसार सत्तारुढ गठबन्धन दलमध्येको एक नेपाली काँग्रेसले निर्वाचन क्षेत्र १ र त्यस अन्तर्गत प्रदेशसभा (क) र (ख) का लागि प्रत्यक्ष र समानुपातिकतर्फ आकांक्षीहरुको नाम सिफारिस गरेको छ।  

निर्वाचनक्षेत्र नं. १ को क्षेत्रीय कार्यसमिति बैठकले प्रतिनिधिसभातर्फ प्रत्यक्षमा ८ र समानुपातिकर्फ ११ जनाको नाम सिफारिस गरेको छ। क्षेत्रीय सभापति खगेन्द्र राईले अघिल्लो दिनको बैठकले प्रत्यक्षमा हालका प्रत्यक्ष निर्वाचित सांसद डा. नारायण खड्का तथा समानुपातिक सांसदद्वय प्रमिला राई र लक्ष्मी परियारसहित ८ जनाको नाम सिफारिस गरेको बताए।  

उनका अनुसार अन्य ७ जना आकांक्षीको नाम सिफारिस भए पनि परराष्ट्रमन्त्रीसमेत रहेका डा. खड्काको नाम भने सर्वसम्मत सिफारिस भएको छ। उनका अनुसार प्रत्यक्षतर्फ नाम सिपारिस हुने अन्यमा राई र परियार, पूर्व जिल्ला पार्टी सभापति बिदुर बस्नेत, संविधानसभा सदस्य शान्तिदेवी चौधरी, खड्काका सहोदर भाई अक्रुर खड्का, युवा नेता सुशील सेंढाई र भोगेन्द्र चौधरी रहेका छन्। 

संघीय महाधिवेशन प्रतिनिधि, प्रदेश महाधिवेशन प्रतिनिधि, क्षेत्रीय कार्यसमिति सदस्यसहितको उपस्थितिमा सम्पन्न पूर्ण बैठकले संघीय निर्वाचनमा समानुपातिकतर्फ ११ जना सिफारिस हुनेमा सत्यनारायण चौधरी, लिला राई, वीरेन्द्रकुमार बस्नेत, महेन्द्रप्रसाद चौधरी, बेचुदास चौधरी, हीरालाल ठाकुर, कलावती चौधरी, सत्यनारायण झा, सरस्वति महतरा, हिरामान मोते र मो. इलिहास मिया रहेको पार्टींले जनाएको छ।  

त्यसैगरी प्रदेशसभातर्फ १ (क) ले पनि प्रत्यक्ष र समानुपातिक दुवैतर्फ आकांक्षीको नाम सिफारिस गरेको जनाएको छ। १ (क) मा प्रत्यक्षतर्फ ३ जना र समानुपातिकतर्फ ९ जनाको नाम सिफारिस गरेको जनाएको छ। प्रदेश कार्यमिति सभापति सरोज बस्नेतका अनुसार बैठकले प्रत्यक्षतर्फ ७ र समानुपातिकतर्फ ठूलै जमातको नाम सिफारिस गरेको छ। जस अनुसार हिमाल कार्की, सरोज बस्नेत, सञ्जा दनुवार, देवीकुमारी चौधरी, मदनराज कटुवाल, सुजिता चौधरी र शिव कटुवाल प्रत्यक्षतर्फ नाम सिफारिस हुनेहरु हुन्।  

कार्की हाल सोही क्षेत्रका प्रदेश सांसद हुन् भने सडक तथा भौतिक पूर्वाधार मन्त्री हुन् भने बस्नेत पार्टी क्षेत्रीय सभापति हुन्। त्यसैगरी सिफारिसमा परेकी दनुवार पनि बहालवाला समानुपातिकतर्फ प्रदेश सांसद हुन्। त्यस्तै प्रदेश १ (ख) तर्फ प्रत्यक्षमा नाम सिफारिस हुने ३ जनामा भोजराज खतिवडा, अर्जुनकुमार दाहाल र शुनिल राउत रहेका छन्। समानुपातिकतर्फ लक्ष्मीकुमारी चौधरी, भाष्कर चौधरी, नारायणप्रसाद श्रेष्ठ, गोपाल माझी, अमृता धमला, महेन्द्रप्रसाद रौनियार, सीता राई, निर्मला बस्नेत र श्यामकुमार राईको नाम सिफारिसमा परेको छ।

पार्टीले समानुपातिकतर्फ आदिवासी जनजाति, दलित, महिला, मुस्लिम र पिछडा बर्गलगायत समावेशी व्यवस्था अबलम्बन गर्नुपर्दा ३५ जनाको नाम सिफारिस गर्नुपरेको जनाएको छ। जस अनुसार आदिवासी जनजातितर्फ भिमचन्द्र राई, महेन्द्रप्रसाद चौधरी, ताराकुमारी राई, भिमबहादुर पुलामीमगर, चन्द्रबहादुर तामाङ, विजयकुमार सिंह, बिमला सुनुवार, अर्चना दनुवार, मिराहाङ बान्तवा, नविन राई र प्रेम रानामगरको नाम सिफारिस भएको छ। त्यसैगरी जयन्तीकला तामाङ, हृदयनारायण राजधामी, आनन्ददेवी चौधरी, सत्यनारायण चौधरी, प्रमिला चौधरी र सशिकला कार्कीको नाम सिफारिस भएको छ।  

खस आर्यतर्फ विनोदकुमार बस्नेत, पुष्पराज पोखरेल, लक्ष्मणप्रसाद भट्टराई, पर्शुराम दाहाल, बासुदेव पोखरेल, नगेन्द्रकुमारी खत्री, रोशन कार्की र राधाकृष्ण तिम्सीनाको नाम सिफारिस भएको बस्नेतले बताए। त्यस्तै दलिततर्फ सुमनसिंह परियार, कल्पना मोते, गणेश कार्की ढोली र अर्जुन सुन्दासको नाम सिफारिस गरेको क्षेत्रीय कार्यसमितिले मुस्लिमतर्फ सर्दुल मिया, नजबुल खान र सहेना खातुनलाई सिफारिस गरेको छ।  

काँग्रेसले निर्वाचनक्षेत्र नं. २ मा भने आकांक्षीहरुको नाम हालसम्म टुंग्याएको छैन। २ मा पार्टी क्षेत्रीय सभापति रामकुमार राई आफै, संविधानसभासदहरु नारायण कार्की र प्रमिला राईको नाम सिफारिस हुने चर्चा चलिरहेको भए पनि अन्तिम टुंगो लाग्न बाँकी छ। स्थानीय तहमा जस्तै माओवादी र एकीकृत समाजबादी पार्टीसँग गठबन्धन गरेर चुनाव लड्ने तयारीमा रहेको काँग्रेसले १ नं. मा संघतर्फ आफुले भाग लिए २ मा माओवादीलाई दिने सोचाईमा रहेको बताइएको छ।  

०७४ मा जुन पार्टीले जितेको हो, सो क्षेत्र उसैलाई छाडिदिने गठबन्धन दलहरुबीच भएको केन्द्रीय सहमति अनुसार १ मा काँग्रेसलाई र २ मा माओवादीलाई छाड्नु पर्ने भएकाले पनि काँग्रेस आकांक्षीको नाम सिफारिस गर्नमा उत्ति नहतारिएको एक नेताले बबाए। त्यसो गर्दा क्षेत्र सुनिश्चित भए पनि पात्र उही हुने या फरक छान्ने भन्ने विषयमा गठबन्धन दलहरुबीच छलफल भईरहेको छ। क्षेत्रीय सभापति राईले आकांक्षीहरुको नाम केहि दिनभित्रै सिफारिस गर्ने गरी छलफल भइरहेको र बैठकबाट औपचारिक निर्णय गर्न बाँकी रहेको बताए।  

केन्द्रीय सहमति अनुसार गर्ने हो भने गठबन्धमा १ बाट डा. खड्का र २ बाट सुरेशकुमार राई (हिमाल) नै उम्मेदवार हुने लगभग निश्चित रहेको गठबन्धनले जनाएको छ। डा. खड्का ०७४ मा समेत गरी ३ पटक प्रतिनिधिसभामा निर्वाचित सांसद हुन् भने राई ०७४ मा निर्वाचित भएका हुन्। खड्का काँग्रेसका केन्द्रीय सदस्य तथा बहालवाला परराष्ट्रमन्त्री हुन् भने राई माओवादी पोलिटव्युृरो सदस्य तथा बहालवाला सांसद हुन्। दुवै ‘नेशनल फिगर’ भएकाले उनीहरुलाई नै उठाउँदा गठबन्धनलाई जित्न सहज हुने गठबन्धन जिल्ला संयन्त्रको ठहर छ।

प्रकाशित: १८ भाद्र २०७९ १२:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App