७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमाः उपमहासचिव पुन

फाइल तस्बिर।

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले नेपालको अर्थतन्त्र सीमित व्यापारिक घरानाको नियन्त्रणमा रहेको औंल्याएका छन्।

बिहीबार त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागमा भिजिटिङ प्रोफेसरका रूपमा विद्यार्थीलाई कक्षा लिने क्रममा उपमहासचिव पुनले यस्तो औंल्याएका हुन्। पूर्व अर्थमन्त्रीसमेत रहेका पुनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाका मुठीमा रहनुले मुलुकको आर्थिक विकासमा चुनौती खडा गरेको बताए। उनले अर्थतन्त्रको ठूलो हिस्सा सीमित घरानाको एकाधिकार हुन नहुने बताए। पुनले सिमित घेरामा मात्रै नभएर सबैमा प्रतिष्पर्धी बनाउनुपर्ने बताए। नेपालमा अहिलेको लागि मिश्रित अर्थनीति नै राम्रो हुने उनले बताए। पुनले राज्यले सकेसम्म एकाधिकार खालको पुँजीलाई नियन्त्रण कम गर्नुपर्ने बताए।

उनले सरकारले पुँजीगत खर्च गर्न नसक्नु संरचनागत समस्या रहेको बताए। सरकारसँग १ लाख ३३ हजार निजामति कर्मचारीहरु भएपनि प्राविधिक कर्मचारी कम भएकाले समस्या रहेको उनले बताए। पुनले नेपालको संरचनागत व्यवस्थालाई परिवर्तन गरेर पुँजीगत खर्च गर्न लायक संरचना बनाउन आवश्यक रहेको बताए। पुनले अहिले सरकारले विकास निर्माणको काम शुरु गर्ने तर अदालतले रोक्दासमेत समय भएको औंल्याए। समग्र नेपालको न्यायपालिका,व्यवस्थापिका, कार्यपालिका, नागरिक समाज सबैलाई विकासमैत्री बनाउन सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ। पुनले दुई जना मन्त्री र प्रधानमन्त्री बसेर नभई आम जनतालाई समेत ठूला आयोजनाहरु योजना बनाउनु अगाडि,कार्यान्वयनको क्रममा कार्यान्वयपछि पनि जनताको सहभागिता बढाउनुपर्ने बताए। उनले ३ खर्ब बराबरको लगानी कृषिजन्य उत्पादन देशभित्र नै गर्ने गरी पुँजी, प्रविधि दिएर आधारभुत खाद्यान्न र उत्पादनमा आत्मनिर्भर बन्न आवश्यक रहेको बताए।

उपमहासचिव पुनले नागरिकता विधेयकमा राष्ट्रपतिले उठाएका विषय सम्बोधन गर्न संविधान संशोधन गर्नुपर्ने बताए। उनले वैवाहिक अंगीकृत नागरिकतामा महिला र पुरूषलाई बराबरी गर्न संविधान संशोधन गर्नुपर्नेमा जोड दिए। नेपाली पुरूषले विवाह गरेर ल्याएका विदेशी महिलाले अंगीकृत नागरिकता पाउने व्यवस्था भएपनि महिलाले विदेशी पुरूष विवाह गरेर ल्याउँदा के गर्ने भन्नेमा संविधान मौन रहेको उनले उल्लेख गरे। भारतमा वैवाहिक अंगीकृतका लागि सात वर्षको समयसीमा रहेकाले नेपालमा पनि त्यही व्यवस्था राख्नुपर्ने आफ्नो दलको धारणा रहेको बताए। पुनले २००९ सालयता हालसम्म सवा चार लाखले मात्र वैवाहिक अंगीकृत नागरिकता लिएको बताए।

प्रकाशित: १८ भाद्र २०७९ ०७:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App