२० असार २०८१ बिहीबार
image/svg+xml
राजनीति

कर्णाली सुनको डल्लो हो, असली कालिगडको खाँचो छ: अर्थमन्त्री शर्मा

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले कर्णाली सुनको डल्लो भएको बताउँदै असली कालिगडको आवश्यकता रहेको बताएका छन्। अर्थमन्त्री शर्माले कर्णाली अब समृद्धिको गीत गाउँने बेला भइसकेको बताए।

बिहीबार बीमा समितिको कर्णाली प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री शर्माले कर्णाली र भेरी करिडोर सञ्चालन गरेर चीनसँगका सिमा नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए। ‘कर्णाली आफैंमा सुनको डल्लो हो, सुनको गहना बनाउने कालिगड नहुँदा उपभोग गर्न पाएका छैनौं’, अर्थमन्त्री शर्माले भने, ‘सुनको डल्लोलाई गहना बनाउने कालिगड भए कर्णाली आफैं समृद्ध हुन्छ।’

अर्थमन्त्री शर्माले कर्णालीका जनतालाई बाटो र बिजुलीको पहुँचमा ल्याउँदै यहाँको जडिबुटीको सही सदुपयोग गर्नेतर्फ सरकारको ध्यान केन्द्रित रहेको बताए। ‘कर्णाली र भेरी करिडोर कर्णालीको समृद्धिका मार्गहरु हुन्’, अर्थमन्त्री शर्माले भने, ‘यी दुवै सडकको विस्तार गर्दै चीनसँगका नाकाहरु सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।’

अर्थमन्त्री शर्माले कर्णालीले अब गरिबीका गीतहरु नभएर विकास समृद्धिका गीतहरु गाउने बेला आएको बताए। उनले उत्तरको चीनसँगै दक्षिणको भारसँग जोडिने नजिकको मार्ग तेलपानी–भुरिगाउँ सडक सञ्चालनमा ल्याइने पनि बताए। ‘अब कर्णाली पछाडी पारिएको, गरिबीले पिल्सिएको भनेर मात्रै हुँदैन्’, उनले भने, ‘यहाँका सम्भावनालाई पनि उजागर गर्दै समृद्धिको मार्गमा डोर्‍याउनु आवश्यक छ।’

बीमा कलेज स्थापना हुने

संघीय सरकारले विमा क्षेत्रमा जनशक्ति न्यून रहेको भन्दै यस सम्बन्धी अध्ययनका लागि बीमा कलेज स्थापना गर्न लागेको छ। अर्थमन्त्री शर्माले चालू आर्थिक वर्षभित्रै कलेज स्थापना हुने बताए। ‘देशभर विमा क्षेत्रमा अहिले १२ हजार बढीले काम गरिरहनु भएकोछ, कमैले मात्र बीमा सम्बन्धी अध्ययन गर्नु भएको छ’, अर्थमन्त्री शर्माले भने, ‘बीमा क्षेत्रको विकास र विस्तार गर्नका लागि दक्ष जनशक्ति उत्पादन गर्नका लागि कलेज स्थापनाको तयारी थालेका हौं।’

अर्थमन्त्री शर्माले जडिबुटी खेतीलाई प्रोत्साहन गर्नका लागि सरकारले जडिबुटी खेती बीमा सुरु गरेको जानकारी दिए। उनले पत्रकाहरुका लागि हुँदै आएको बिमालाई विस्तार गरेर खेलाडीहरुलाई पनि बीमा गर्ने तयारी थालिएको बताए। अर्थमन्त्री शर्माले आर्थिक विकास र क्षति न्यूनिकरणका लागि बिमा आवश्यक रहेको बताउँदै बीमाको पहुँचले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने बताए।

उनले देशभरका ४१.२ प्रतिशत नागरिकहरु बीमाको पहुँचमा हुँदा कर्णालीमा जम्मा ११.६३ प्रतिशत मात्रै रहेको बताउँदै आगामी एक वर्षभित्र कर्णालीका ४० प्रतिशत नागरिकलाई बीमाको पहुँचमा ल्याउन समितिलाई निर्देशन दिए। ‘कर्णालीका नागरिकहरु बीमाको पहुँचमा मात्रै होइन्, बीमामा काम गर्नेहरुको संख्या पनि न्यून छ, देशभर ४१.२ प्रतिशत नागरिकहरु बीमाको पहुँचमा हुँदा कर्णालीमा ११.६३ प्रतिशत मात्रै छ, देशभर १२ हजार बढी  बीमा कम्पनीमा कार्यरत हुँदा कर्णालीका १८८ जना मात्रै छन्, अर्थमन्त्री शर्माले भने, ‘बीमा समितिले यसतर्फ ध्यान दिन आवश्यक छ।’

उनले कर्णालीका सबै पालिकाहरुमा बिमाको पहुँच पुर्‍याउन बीमा समितिले सबै बीमा कम्पनीहरुलाई पालिका छुट्याउनुपर्ने बताए। ‘कर्णालीका हरेक पालिकामा अनिवार्य पुग्ने गरेर निर्णय गर्नुहोस्, यसो गर्दा बीमा कम्पनीहरू गाउँ-गाउँमा पुग्छन्’, उनले भने, ‘यसमा संघ, प्रदेश र स्थानीय तहले पनि आ–आफ्नो ठाउँबाट सहयोग पुर्‍याउँछन्।’

राष्ट्रिय बीमा नीति ल्याइने

अर्थमन्त्री शर्माले सरकारले राष्ट्रिय बीमा नीति ल्याउन लागेको जानकारी दिए। उनले राष्ट्रिय बीमा नीति सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा पेश भएको बताउँदै एक सातामै निर्णय हुने बताए। ‘नीतिमा विपद् जोखिम न्यूनिकरण रणनीति उल्लेख गरेका छौं, ८० प्रतिशत प्रिमियम संघीय सरकारले तिर्ने गरेर बाली बीमाको योजना ल्याएका छौं,’ उनले भने, ‘समग्रमा भन्नुपर्दा एक परिवार, एक बीमाको नीति ल्याएका छौं।’ उनले कृषि क्षेत्रलाई समेटेर लघु बीमाको अवधारणा पनि ल्याइएको बताए। ‘गाउँ-गाउँसम्म लघु वित्त र लघु बीमा  पुर्‍याउन सकेको खण्डमा जनताको आर्थिकस्तर उकास्न मद्दत पुर्‍याउँछ’, उनले भने।

बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले संघीय संरचना अनुसार बीमा समितिको कार्यालय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा स्थापना गरिएको बताए। ‘बीमाको पहुँचवृद्धि, बिमा दावी भुक्तानी, गुनासाहरूको सम्वोधनका कर्णालीका नागरिकहरुलाई सहज हुनेछ’, उनले भने, ‘कर्णालीका नागरिकहरुलाई बीमाको दायरामा ल्याउन पनि यसले सघाउ पुर्‍याउने छ।’

प्रकाशित: १६ भाद्र २०७९ ०९:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App