१९ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

१३ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला प्रशासन कार्यालय धनुषाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वसन्तराज गौतमसहित १३ जनाविरुद्ध सार्वजनिक सम्पत्ति हानि–नोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सवा करोड रूपैयाँ बिगो माग गर्दै विशेष अदालत काठमाडौंमा बुधबार आरोपपत्र दर्ता गरेको छ।  

प्रजिअ गौतमसहित, गुठी संस्थान शाखा कार्यालय धनुषाका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डे, सहायक प्रशासक, वरिष्ठ लेखा सहायकसमेतलाई भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो। धनुषाको भरतपुर गाविस अन्तर्गत नेपाली सेनाको लागि अधिग्रहण भएको गुठीको स्वामित्व जग्गामा किर्ते मोही कायम गरी मुआब्जा वितरणमा भ्रष्टाचार गरेको अख्तियारको ठहर छ। प्रजिअ गौतममाथि गुठी संस्थानकै खातामा भुक्तानी हुनुपर्ने, मोही कायम हुनै नसक्ने व्यक्तिहरूलाई बदनियतसाथ मुआब्जा भुक्तानी गराएको आरोप छ। गौतमाथि १ करोड १४ लाख ६६ हजार ६ सय ६७ रूपैयाँ माग दाबीसहित जरिवाना सजाय, बिगो मागदाबी गरिएको छ।  

त्यसैगरी गुठी धनुषाका तत्कालीन प्रमुख राजबाबु पाण्डे, तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसालले गुठी सँस्थानकै खातामा भुक्तानी हुनुपर्ने रकम मोही कायम हुनै नसक्ने व्यक्तिहरू गायत्री देवी जयसवाल, सूर्यनारायण लाल कर्णलाई मुआब्जा भुक्तान गरेको आरोप छ। तीनैजनाविरुद्ध एक मुष्ठ १ करोड १४ लाख ६६ हजार ६सय ६७ रूपैयाँ बिगो, जरिवाना, सजायसहित मागदाबी गरिएको छ।

प्रकाशित: १६ भाद्र २०७९ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App