coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

निर्वाचनः गठबन्धनभित्रै बढी सिटको अपेक्षा,एमालेमा पनि छैन एकमत

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको दिनगन्ती सुरु भएका बेला हिमाली जिल्ला ताप्लेजुङका मुख्य दलहरुबाट उम्मेदवार को हुन्छन् भन्ने विषय व्यापक हुँदा गठबन्धन दलहरुले बढी सिटमा अपेक्षा गर्न थालेका छन्। उम्मेदवारी बारे एमालेमा पनि एकमत देखिएको छैन।  

गठबन्धन दलहरुमध्ये जनता समाजवादी पार्टीले चुनावी एकताको विषय जिल्ला तहलाई सुम्पिएको छ भने नेकपा एसले प्रतिनिधिसभा र प्रदेशसभा दुवैका लागि पार्टीकातर्फबाट उम्मेदवार बन्नेको नाम सिफारिस गरिसकेको छ। ‘चुनावी तालमेलबारेको जिल्लागत निर्णय सम्वन्धित जिल्ला तहको कमिटीले पनि निर्धारण गर्ने छ’पारिवारिक कामले ताप्लेजुङमा रहेका जसपाका संघीय परिषद् अध्यक्ष अशोककुमार राईले भने। गत बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा जसपा गठबन्धनमा सामेल थिएन। जिल्ला अध्यक्ष कीर्तिमान मादेन गठबन्धन पक्षधर मुख्य दल काँग्रेस र माओवादीले आफुहरुको जनमतलाई अपव्याख्या गरेको बताउँछन्।‘एक हिसाबले उहाँहरुमा हामीहरु बाहेक कोहि नै होईनौं भन्ने प्रवृति पनि देखिन्छ‘मादेनले भने। गठबन्धन दलहरुबीचबाट चुनावी मोर्चा र छलफलका लागि आफूहरुलाई अहिले सम्म कुनै सोधनी र प्रस्ताव नआएको मादेनले बताए। नेकपा एकिकृत समाजवादी भने स्थानीय तहको निर्वाचनमा काँग्रेस र माओवादीसँग गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएको थियो।  

आउँदो मंसिर ४ गते हुने निर्वाचनमा गठबन्धन गर्दा नेपाली काँग्रेस र माओवादी केन्द्र दुवैले प्रतिनिधिसभाको सिट आफ्नो भागमा पर्ने अनुमान लगाएका छन्। प्रतिनिधिसभा वा प्रदेशसभा जता परेपनि काँग्रेसको भागमा दुई र माओवादीको भागमा एकसिट पर्ने अनुमान गरिएको छ। २०७४ सालमा नेकपा एमाले र माओवादी केन्द्र बामगठबन्धन बनाएर चुनावी मोर्चामा सामेल हुँदा एमालेले प्रतिनिधिसभा सहित प्रदेशसभाको एकसिट र तथा माओवादीले प्रदेशसभाको एकसिटमा उम्मेदवारी दिने मौका पाएका थिए। ताप्लेजुङ जिल्ला प्रतिनिधिसभामा सिङ्गो एकसिट हो भने र प्रदेशसभामा १(क) र १ (ख) गरी दुईसिट रहेका छन्। गठबन्धनबाट माओवादीले प्रतिनिधिसभाको सिट पाए काँग्रेसले प्रदेशसभाका दुईसिट पाउने अनुमान गरिएको छ। गठबन्धन दल नेकपा एस र जसपा दुबैलाई साथमा लिएर जानका लागि काँग्रेस र माओवादीले कस्तो त्याग गर्ने हुन् भन्ने निक्र्यौल छैन। आफ्ना उम्मेदवार नै सिफारिस गरेर नेकपा एसले गठबन्धन पक्षधर प्रमुख दुईदल काँग्रेस र माआवादीबाट आगामी चुनावको सहकार्य बारे प्रतिक्रिया बुझ्न खोजेको देखिन्छ। जिल्ला अध्यक्ष छिरिङ लामा प्रतिनिधि र प्रदेशसभाका तीनसिट मध्ये कुनै एकसिटमा आफ्नो दावी कायम रहने बताउँछन्। ‘स्थानीय तहको निर्वाचनमा गरिएको पदीय भागबण्डालाई आधार मानेर अब उनीहरुलाई आगामी निर्वाचनमा केहि हुन्न भनेर बुझ्न हुन्न’लामाले भने। उतिबेला जिल्ला समन्वय समिति उपप्रमुख मात्र नेकपा एसलाई भागबण्डा गरिएकोमा माओवादी केन्द्रको आन्तरिक बिबादले नेकपा एसलाई जिसस प्रमुख नै ‘हात’ लागेपछि काँग्रेस र माओवादीले नेकपा एसले आउँदो चुनावमा यहाँ सिटमा दावी नगर्ने बुझाई राखेका छन्। जिसस प्रमुख समेत रहेका नेकपा एसका जिल्ला अध्यक्ष लामाले भने काँग्रेस र माओवादीको त्यो बुझाई ‘गलत’ भनेका छन्। गठबन्धन दलले संगै सहयात्राका लागि प्रस्ताव गरे जसपाले पनि एकसिटमा दावी राख्ने बुझिएको छ।‘अहिले सम्म छलफल नै नभएकोले यो बिषयमा केहि भनिएको छैन’जसपा अध्यक्ष मादेनले बताए। जसपाबाट अलग भएपछि जसपाका तत्कालिन जिल्ला सचिव दुर्गाप्रसाद न्यौपाने सहितका नेताहरु भने बाबुराम भट्टराईले नेतृत्व गरेको समाजवादी पार्टीमा लागेका छन्।  

काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभाको दुईमध्ये एउटा क्षेत्र आफ्नो भागमा पर्ने अनुमान गरेको छ। काँग्रेस महाधिबेशन प्रतिनिधि तथा सिरिजङ्गा गाउँपालिकाका निवर्तमान अध्यक्ष टीकाराम प्रतिनिधिसभा र प्रदेशसभाको दुईमध्ये एउटा क्षेत्र आफ्नो भागमा पर्ने बताउँछन्। ‘संघ हाम्रैमा पर्छ भन्ने लाग्या छ’ प्रतिनिधिसभामा यहाँबाट आफ्नो दावेदारी प्रस्तुत गर्दै गुरुङले भने। यसअघि समानुपातिकबाट प्रदेशसभामा सांसद भएका प्रदेश १ सरकारका उद्योग,श्रम तथा रोजगारी मन्त्री प्रतापप्रकाश हाङ्गाम,जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङ,पूर्व सभापति लिलादेवी बोखिम र केशवप्रसाद दाहाल र बलबहादुर तामाङ समेतको नाम प्रतिनिधिसभाका लागि चर्चामा रहेको छ। गुरुङ र तुम्याहाङ ले प्रदेशसभा मात्र परेपनि प्रदेश १(क)बाट आफ्नो सशक्त दाबेदारी रहने बताएका छन्। प्रत्यक्षमा चुनाव लड्ने महिलाको संख्या कमैमात्र हुने भएकोले आफुले टिकट पाउने दावी बोखिमको छ। प्रदेशसभा १(ख)मा भने खगेनसिंह हाङ्गाम,ईन्द्र केदेम लगायतले दावी गरेका छन्। प्रतिनिधिसभामा नअटाए तामाङले प्रदेशसभा १(ख) मा दावी गर्न सक्ने अनुमान गरिएको छ।  

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला ईञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री ‘पराग’प्रतिनिधिसभाको सिट माआवादीको भागमा पर्नेमा बिश्वस्त छन्। प्रदेश १ को भूगोल र पदीय भागबण्डाको प्रारम्भिक अवस्थाले माओवादीले यहाँको प्रतिनिधिसभाको सिट आफ्नो पक्षमा पर्ने अनुमान गरेको हो। प्रदेशसभा १(क) नै परेको खण्डमा पनि बुढाक्षेत्री आफैं अघि सर्ने पक्षमा छन्। प्रदेशसभा १(ख)मा माओवादीको भागमा परेमा मिङ्माडण्डु शेर्पा,लक्ष्मीप्रसाद अन्छङ्वो लगायतको नाम चर्चामा रहेको छ।  

उता नेकपा एमाले भित्र चुनावमा उठ्न उत्तिकै रस्सा कस्सी चलेको छ। प्रतिनिधिसभामा एमाले सचिव तथा वर्तमान सांसद योगेशकुमार भट्टराईले आफ्नो निर्वाचन क्षेत्र ताप्लेजुङनै हुने भन्दै आफ्नो दावीलाई ‘स्वभाविक’भनेका छन्। लामो समयदेखि भूगोलमा राजनीति गरेकोले प्रत्यक्षतर्फको निर्वाचनमा आफू उम्मेदवार बन्न पाउनुपर्ने भन्दै पोलिटब्युरो सदस्य तथा जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोले‘एकपटक’का लागि भन्दै प्रतिनिधिसभामा आफू उम्मेदवार बन्ने बताएका छन्। केन्द्रीय सदस्य पासाङ शेर्पाले पनि आफ्नो उम्मेदवारी प्रतिनिधिसभातर्फ नै रहने भनेका छन्। प्रतिनिधिसभामा टिकट पाए प्रदेश कमिटी सदस्य डम्बरध्वोज तुम्बाहाम्फे पनि उम्मेदवार बन्ने दौडमा छन्। केन्द्रीय सदस्य तथा जिल्ला सहईञ्चार्ज उर्मिला थेबे र जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले उम्मेदवारी बारे सार्वजनिक अभिव्यक्ति नदिए पनि थेबे दम्पतिमध्ये एकजना संसदीय मोर्चामा जाने गरी आन्तरिक तयारीमा लागेको बुझिएको छ।  

प्रदेशसभा सांसद बलबहादुर साम्सोहाङले आफू उम्मेदवार बनेर अघि सर्ने बारे आफ्ना निटकस्थहरुसंग छलफल चलाइ रहेका छन्। प्रदेशसभा १ (क)मा साम्सोहाङका अलवा अनन्त साँवा,सन्तोष खतिवडा र तारानाथ घिमिरे सहितको नाम चर्चामा छ। प्रदेशसभा १(ख)बाट जिल्ला उपसचिव मणिशंकर पोमू,पूर्व जिल्ला उपसचिव गोपाल थोप्रा सहितले आकांक्षा जनाएका छन्। हरि थलङ र इन्द्र शेर्पा समेतले समाजिक सञ्जालमा आफूहरु उम्मेदवार बन्न चाहिरहेको बताएका छन्।

प्रकाशित: १२ भाद्र २०७९ १२:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App