११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘विद्यार्थी आन्दोलनलाई फरक ढंगले अगाडि बढाउनुपर्छ’

अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठनको आन्दोलनलाई फरक ढंगले अगाडि बढाउँदै संगठन विस्तारलाई प्राथमिकता दिनुपर्नेमा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) का विद्यार्थी नेताहरूले जोड दिएका छन्। 

वाग्मती प्रदेशअन्तर्गत अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संगठन उपत्यका विशेष समितिको आयोजनामा शनिबार भएको ‘एकदिने प्रारम्भिक स्कुलिङ’ कार्यक्रममा नेताहरूले यस्तो बताएका हुन्। 

सो कार्यक्रमको अखिल क्रान्तिकारी विद्यार्थी संगठनका पूर्वअध्यक्ष तथा हाल विद्यार्थी फ्याक्सन इन्चार्ज पूर्णबहादुर सिंहले उद्घाटन गरेको अखिल क्रान्तिकारीका काठमाडौं जिल्ला संयोजक तथा अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य मिमबहादुर ऐडीले जानकारी दिए। कार्यक्रममा फ्याक्सन इन्चार्ज सिंह, अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष मिलन राई, उपाध्यक्ष वीरेन्द्र शाहलगायतले प्रशिक्षण दिएका थिए।  

काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठमा भएको कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (बहुमत) वाग्मती प्रदेश इन्चार्ज शरद रसाइलीसहित अखिल क्रान्तिकारीका सम्पूर्ण पदाधिकारीको उपस्थिति रहेको थियो।

नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) औपचारिक रूपमा विभाजित भएपछि नेकपा (बहुमत) पार्टी गठन भएको छ। आगामी फागुनमा महाधिवेशन गर्ने गरी नेता धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय महाधिवेशन आयोजक कमिटी गठन गरिसकेको नेकपा (बहुमत) ले वर्तमान संसदीय व्यवस्थाविरुद्ध विभिन्न अभियान सञ्चालन गर्दै आएको छ।

प्रकाशित: ६ भाद्र २०७९ ०२:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App