१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेता प्रदीप गिरीको सुस्वास्थ्यको लागि प्रार्थना

वीरगन्जमा आयोजित कार्यक्रममा हिन्दु, मुस्लिम, सिक्ख र बौध मर्धगुरुहरु नेता प्रदीप गिरीको लागि प्रार्थनापछि एक साथ। तस्विरः रितेश /नागरिक

स्वास्थ्य अवस्था बिग्रीएपछि काठमाडौंमा उपचाररत रहेका नेपाली काँग्रेसका नेता तथा समाजवादी चिन्तक प्रदीप गिरीको सुस्वाथ्यको कामनासहित वीरगन्जमा शुक्रबार कृतज्ञता सभा गरिएको छ। नेता गिरी ‘सर्वधर्म समभाव’को विचार राख्नछन् भनेर यस भावनाको सम्मान गर्दै सभामा अगलअलग धर्मगुरुहरुले उनको सुस्वाथ्यका लागि प्रार्थना गरेका छन्।  

वीरगन्जका नागरिकहरुको तर्फबाट राखिएको यस सभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले नेता गिरीसँग भएको अथाह ज्ञानको सद्उपयोग गर्न नसकिएको भन्दै उहाँको जीवन लम्बिन पाए उपलब्धी हुने बताए। ‘अध्ययन र ज्ञानको मामिलामा उहाँ स्वर्गीय महामानव बिपी कोइरालाभन्दा पनि अब्बल हुनुहुन्छ भन्ने लाग्छ मलाई,’ नेता रिजालले भने, ‘पार्टी बाहिर अरु दलका नेताहरुमाझ पनि उहाँको त्यतिकै सम्मान पाइन्छ।’ नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य अजय चौरसियाले नेता गिरी दबेका र पछाडि परेकाहरुको पक्षमा उभिने नेता हुन भनेर कृतज्ञता जनाए। पार्टीभित्र र सदनमा समेत उहाँबाट पटकपटक सिमान्तकृतका अवाज उठिरह्ने भएको नेता चौरसियाले बताए।  

प्रदीप गिरीको आवश्यक्ता राष्ट्र र समाज दुबैलाई रहिरहेकोले उनको दीर्घजीवनको लागि प्रार्थना गर्न चौरसियाले आग्रह गरे। कार्यक्रममा नेपाली काँग्रेसका पर्सा सभापति जनार्दन सिंह क्षेत्रीले देश बाहिरका समेत ठुला र विद्वान नेताहरुले गिरीलाई उनको विचार, ज्ञान र ब्यक्तित्वका कारण आदर गर्ने गरेको बताए। 

सभाध्यक्षता गरेका स्तम्भकार चन्द्र किशोरले समकालीन राजनीतिमा वैचारिक हिसाबले नेता गिरी जतिको अग्ला नेता अरु कोही नभएको बताए। जनताको पक्षमा भएका हरेक परिवर्तनका आन्दोलनका समर्थक नेता गिरीप्रति क्रान्तिभुमी वीरग्न्जबाट कृतज्ञता जनाउन आफहरु एकत्रित भएको बताए। नेकपा एमालेका केन्द्रीय सदस्य अरबिन्द सिंहले आफुहरु कम्युनिष्ट बिचारमा लागे पनि नेता गिरीबाट समाजवाद र मार्कसवार्द सिक्नु पर्ने बताए।  

पछिललो समयमा नेता गिरीसंग नजिक रहेका युवा नेता कञ्चन झाले राजधानी काठमाडौंसहित अरु ठाउँमा समेत यस्तो कार्यक्रम भएको र सोही क्रममा वीरगन्जका नागरिकका तर्फबाट कृतज्ञता जनाउँदै यस्तो आयोजन गरिएको बताए। कार्यक्रममा हिन्दुका ज्योतिषाचार्य पुरुषोत्तम दु्बे, मुस्लिमका मुफ्ति अमजद हुसैन, सिक्खका धर्मगुरु लक्खा सिंह र बौध धर्मगुरु निमा सिंङ्गताम लगायतले आ–आफ्नो मान्यता अनुसार प्रार्थना गरे। त्यसपछि उनीहरु एकसाथ उभिएर सर्वधर्म समभाव जनाए।

प्रकाशित: ३ भाद्र २०७९ १४:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App