८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

विप्लवद्वारा पक्राउ पूर्जी खारेजी र तीन बुँदे सहमति कार्यान्वयनको माग

प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै नेकपा ताप्लेजुङका सेक्रेटरी असल पन्दाक।

नेत्रबिक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टीले तीन बुँदे सहमति कार्यान्वयनको मागसहित सरकारले वार्ता गरोस् भन्ने सन्देश दिएको छ। बुधबार जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमार्फत् नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउँदै नेकपाले ‘सरकारले तत्कालै नेकपालाई तुरुन्त वार्तामा बोलाइ उपयुक्त कार्यको थालनी गर्न पहल गरोस् भनेको’ छ।

ज्ञापनपत्रमा राज्यद्वारा अदालतमार्फत् गरिएको सहमति उल्लंघनका घटना र कानुनी प्रकृया तुरुन्त बन्द गर्न, पार्टीका प्रवक्ता, महासचिव लगायतका नेता कार्यकर्तामाथि जारी गरिएको पक्राउ पूर्जी खारेज गर्न नेकपाले माग गरेको छ। जिल्ला सेक्रेटरी असल पन्दाकको नेतृत्वमा रहेको नेकपाको टोलीले प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेललाई ज्ञापनपत्र बुझाएको हो।

सेक्रेटरी पन्दाकद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा २०७७ साल फागुन २१ गते नेपाल सरकार र नेकपाबीच भएको सहमति कार्यान्वयन गर्न सरकार समक्ष माग गरिएको छ। ज्ञापनपत्रमा सरकारले तीन बुँदे सहमति लागु गरेको अनुभूत दिलाउन सम्पूर्ण बन्दीहरुको रिहा र मुद्दाहरुको खारेजीको माग गरिएको छ।

एमसीसी सम्झौतालाई राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग समेत नेकपाले गरेको छ। ज्ञापन पत्रमा नेकपाले आफ्ना ४५ जना नेता तथा कार्यकर्ता जेलमा बन्दीको रुपमा रहेको दाबी गरेको छ। नेपाल सरकार र आफ्नो पाटीबीच सहमति भएको १७ महिना सम्म पनि सहमति कार्यान्वयन नगरी सहमतिमा हस्तक्षर गर्ने नेकपाको नेतृत्व पक्षलाई नै साउन १६ गते पक्राउ पूर्जी जारी गर्ने कार्यबाट सहमति विपरीत भएको भन्दै यसलाई नेकपाले ‘गैर जिम्मेवारीपूर्ण’ भनेको छ।

प्रकाशित: १ भाद्र २०७९ ०९:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App