सकसमा संविधान जारी गरेर वर्चस्वशाली समुदायलाई उनले खुसी तुल्याए । मधेसीहरू भने अन्तरिम संविधानमा पाइएको अधिकार पनि खोसिएकाले रुष्ट भए । एकै साँझ एकातिर खुसियाली र दीपावली तर अर्कातिर शोक र तमावरण (ब्ल्याकआउट) ल्याउँदै जारी गरिएको संविधान तत्कालै जस्तो भएको एकतर्फी संशोधनका बाबजुद सर्वस्वीकृत हुन सकेको छैन । हुन त नाकाकस्सी खुलिसकेको थियो, तर बित्ने बेला विवादित संविधानका नाविक चिन्तामुक्त थिए भन्न सकिँदैन ।
संविधान जारी भएपछि पूर्व वचनबद्धता अनुसार पदत्याग गरेर पुनः सोही पदका लागि उनले गरेको प्रतिस्पर्धालाई प्रजातान्त्रिक आचरणको उत्कृष्ट अभिव्यक्तिका रूपमा ग्रहण गर्न सकिन्छ । संसदको सबभन्दा ठूलो राजनीतिक दल निरीह प्रतिपक्षमा समेटिएर स्थायी सत्ताकै अवयव बन्न पुगेको पनि उनकै नेतृत्वमा हो । देश यदि साँच्चिकै संकटमा छ भने यस्तो परिस्थिति निर्माणका लागि सबभन्दा जिम्मेवार व्यक्ति पनि कोइराला नै हुन् । मृत्यु प्रायशः असामयिक नै ठहराइन्छ । त्यसैले देहावसानले ऐतिहासिक जिम्मेवारीबाट उन्मुक्ति दिँदैन ।
सर्वोच्च कार्यकारीका रूपमा पनि कोइरालाको कार्यसम्पादन अभिलेख उल्लेखनीय रहेको भन्न मिल्दैन । भुइँचालोपछिको प्रशासनिक एवं कूटनीतिक भाँडभैलो अझै पनि सकिएको छैन । उनको कार्यकालको योगदान सम्झिन कोइरालाका अन्धभक्तलाई समेत गाह्रो हुनेछ ।
कूटनीतिक मोर्चामा अग्रसरता देखाउन खोजेको भए पनि नेपाल–भारत सम्बन्ध ओरालो लागेको उनकै कार्यकालमा हो । बेलायतसँग भुइँचालोपछिको अवस्थामा कटुता उत्पन्न हँुदा उनले कुनै रचनात्मकता देखाउन सकेनन् । चीनसँगको सम्बन्ध पनि खासै न्यानो बनाउन सकेनन् । अमेरिकाले उनलाई रुचाएको होला, तर त्यसको कुनै लाभ नेपालले पाउन सकेको देखिएन ।
व्यक्तिगत रूपमा कोइरालाको चरित्रमा औंला उठाउन उनका कट्टर आलोचकलाई पनि असजिलो हुनेछ । आवश्यकता सीमित भएकाले आचार–व्यवहार निर्दोष थियो । धेरै महŒवाकांक्षी थिएनन्, त्यसैले सबैलाई रिझाइराख्न पनि उनी आवश्यक ठान्दैनथे । उनको सादगी खासमा छनोट नभएर लामो निर्वासनबाट उब्जिएको बाध्यताजनित थियो, जुन कुरा पछि बानीव्यहोरामा परिणत हुन गयो । कुण्ठामुक्त भएकाले उनले आफ्ना दमित चाहनालाई अन्य चप्पलबाट महलमा पुगेका समकक्षीसरि छचल्किन दिएनन् । स्वनियन्त्रणको उनको जस्तो गुण आजभोलि थोरै राजनीतिकर्मीमा देख्न पाइन्छ ।
सांयोगिक नेता
सफलता विवादित एवं असफलताहरू व्यापक रहेको भए पनि इतिहासले सायद सुशील कोइरालालाई त्यति धेरै निष्ठुरतापूर्वक सम्झिने छैन । त्यसका केही कारण छन् । व्यक्तिगत रूपमा उनी खरो भए पनि क्रूर थिएनन् । उनको इमानजमान बेदाग थियो । राम्रै गर्न चाहन्थे होला । क्षमता नभएकाले राजनीतिमा सफल रहे पनि राज्यसत्ताको हरेक मोर्चामा पछारिँदै गए । र, अक्षमता अग्राह्य भए पनि अक्षम्य हुन सक्दैन, त्यो किनभने, अयोग्यतालाई अपराध ठह¥याउन मिल्दैन ।
भनिन्छ, नेतृत्व विभिन्न किसिमले विकसित हुने गर्दछ । समय र परिस्थितिको सही आकलन गरेर केही व्यक्ति त्यसलाई बदल्ने सृजनशीलता देखाउँछन् । रणनीति बनाउँछन् । कार्यनीति तयार गरेर संगठन गर्दछन् । र, तिनको कार्ययोजनाले गति लिएपछि ती निर्विवाद नेता बन्न पुग्छन् । प्रायशः क्रान्तिले त्यस्तै रचनात्मक नेता जन्माउँछ ।
यथास्थितिका नेता परिवारवाद, वंशवाद, गुट–उपगुट, स्वार्थ समूह वा संरक्षक–प्रवद्र्धकका उत्पाद हुने गर्दछन् । त्यस्ता व्यक्ति मूलतः प्रदर्शनका लागि हुने भएकाले तिनको योग्यता राम्रो देखिनु, वाकपटु सुनिनु एवं नियमित काम कुशलतापूर्वक सम्पादन गर्नुमा सीमित रहन्छ ।
प्रतिक्रान्ति पनि एक किसिमको क्रान्ति नै हो । तर, क्रान्ति प्रायशः स्वप्नद्रष्टाको अग्रसरतामा हुन्छ । प्रतिक्रान्तिको षड्यन्त्र निहित स्वार्थ भएको समूहले गर्ने गर्दछन् । तिनले देखाउनका लागि औसत व्यक्ति खोज्दछन् । औसत व्यक्तिको आकर्षण क्षमताभन्दा पनि वंश, कुल, थर, विद्वता, सादगी, इमानदारी जस्ता गुण हुने नै भए । गिरिजाप्रसाद कोइरालाको देहावसानपछि उनको 'छाया व्यक्ति' जस्तो भएर काम गरेको पात्र नेपाली कांग्रेसको नेतृत्वका लागि उपयुक्त ठह¥याइनु स्वाभाविकै थियो । अध्यक्ष पद सुशील कोइरालाले अपेक्षाकृत सहजतासाथ पाएका थिए ।
सन् २००९ मे महिनामा कटवाल काण्ड एवं तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा प्रकरणबाट सुरु भएको राजनीतिक प्रतिगमन सन् २०१३ मार्चमा गैरसंवैधानिक सरकार गठन तथा माओवादीहरूको आत्मसमर्पणबाट टुंगिएको मान्ने हो भने दोस्रो संविधानसभापछि राजाविहीन नेपालको स्थायी सत्ताका लागि सुशील कोइराला प्रधानमन्त्री पदका स्वाभाविक छनोटका रूपमा देखा पर्दछन् ।
मधेसमा उनको स्वीकार्यता अपेक्षाकृत बढी थियो । प्रजातन्त्रवादी भएकाले अन्तर्राष्ट्रिय छवि पनि कमजोर थिएन । त्यसमाथि त्यागको इतिहास छँदै थियो । योग्यता र क्षमता गौण बन्न पुग्यो । र, कोइराला स्थायी सत्ताका थपना प्रधानमन्त्री भए । इतिहास बन्ने प्रक्रिया संयोगहरूको संयोजन पनि हो । त्यसपछि भने कोइरालाले आफ्नो नियतिलाई स्थायी सत्ताको गतिसँग जोडिदिए । उनी इतिहास बनाउने पात्र नभएर फगत इतिहासको उत्पादमा सीमित हुन पुगे । संयोगले नेता र कार्यकारी प्रमुख बन्न पुगेका नेपाली कांग्रेसका योद्धा परिस्थितिको बन्दीमा सीमित हुने परिघटनालाई हास्यास्पद त्रासदी पनि भन्न मिल्छ । उनको कार्यकालले हासो र आँसु एकसाथ दिनु पनि परिस्थितिकै कारण थियो जसलाई बदल्ने आँट र क्षमता उनमा थिएन ।
नियमित उडान
व्यवस्थापकीय विधामा क्यानडेली शिक्षाविद लरेन्स पिटर (१९१९– १९९०) द्वारा प्रतिपादित सोपानतन्त्रको सिद्धान्तलाई उनैको नाउँमा 'पिटर्स प्रिन्सिपल' भन्ने गरिन्छ, जसअनुसार प्रत्येक व्यक्ति आफ्नो अयोग्यताको उचाइमा पुगेर मात्र रोकिन्छ । दक्ष श्रमिक एवं चनाखो सुपरिवेक्षकका योग्यता फरक हुन्छन्, तर नियमित पदोन्नतिको प्रक्रियाले उत्पादक कामदारलाई बेकामे नाइकेमा लगेर नथन्काई छाड्दैन । आँटिलो सिपाही अन्ततः विवेकपूर्ण सेनापति पनि ठहरिन्छ भने छैन । तर, प्रारम्भिक विजयले महŒवाकांक्षा र सम्भावना सँगसँगै बढाउने रहेछ ।
आफ्ना नेता गिरिजाप्रसादको निर्देशलाई 'हुकुम' जवाफका साथ शिरोपर गरेर बलबुताले भ्याएसम्म कार्यान्वयनमा लागिपर्ने सुशील नेपाली कांग्रेसका समर्पित योद्धा एवं कोइराला परिवारका कर्तव्यनिष्ठ सेवक र संरक्षक एकैसाथ थिए । त्यही कुरा उनको शक्ति र कमजोरी दुवै भएर उजागर हुन्थ्यो ।
जस्तो र जसरी भए पनि नेपाली कांग्रेसकै नेतृत्वमा संविधान जारी हुनुपर्ने लोभ संवरण गर्न नसकेर उनले कांग्रेस र मधेसबीचको सम्बन्धलाई चँुडिने हदसम्म तन्काइदिए । कोइराला परिवारको हित सुरक्षित गर्नका लागि पार्टी अध्यक्ष पदलाई राष्ट्रपतिभन्दा माथिल्लो प्राथमिकतामा राखे । र, यी दुवै जिम्मेवारी पूरा गर्न सहर्ष खड्गप्रसाद शर्मा ओली जस्ता कांग्रेसविरोधी सवार रहेको रथ संविधान जारी हुँदासम्म तानिनै रहे । अन्ततः सफल सायद दुईमध्ये कुनै जिम्मेवारी निर्वाहमा पनि भएनन् । नियतिले सर्वोच्च पदसम्म पु¥याए पनि उनी आजीवन योद्धा नै रहिरहे, नियन्ता कहिल्यै बन्न सकेनन् ।
ससाना घटनाले व्यक्तिको प्रवृत्ति झल्काउँछ । दोस्रो संविधानसभा भन्दा केही अगाडिको कुरा हुनुपर्छ, पार्टीकै कामले होला, तर महोत्तरी पुगेपछि रात बिताउन उनले कुनै महल वा सार्वजनिक होटलभन्दा दलका सहयोद्धा रामचन्द्र तिवारीको सुगा गाउँको सामान्य निवास रोजेका थिए । त्यतिसम्म त ठिकै थियो ।
'सादा जीवन उच्च विचार' मान्यताको सान्दर्भिकता कहिल्यै सकिँदैन । तर, त्यस्तो शैली कम्तीमा आफ्नो दलभित्र स्वीकार्य बनाउने जिम्मेवारी पनि नेतृत्वकै हुन्छ । भोलिपल्ट जनकपुर विमानस्थलमा सभापति आफ्ना एक स्थानीय सहयोगीका साथ उडान भर्न कुरिरहँदा उनकै दलका महामन्त्री दर्जनभन्दा बढी गाडी लिएर अन्तिम समयमा हवाइजहाज चढ्न आइपुगेका थिए । कोइरालाको व्यक्तिगत सादगी साधुलाई सुहाए पनि सरकार प्रमुख वा पार्टी नेताको त्यस्तो अनुकरणीय व्यवहारबाट राष्ट्रले खासै केही पाएजस्तो लाग्दैन ।
श्रद्धान्जलीको शैली हो, कोइरालासँगै राजनीतिमा एउटा युगकै अवसान भएको घोषणा फेरि पनि हुनेनै छ । तर, त्यो युग अलि पहिले नै समाप्त भइसकेको हो । नेतृत्वलाई व्यवस्थापनले विस्थापित गरिसकेको स्वार्थ समूहहरूको खेलमैदानरूपी राजनीतिमा कोइराला सही व्यक्ति तर गलत समयमा सत्ताको शीर्षमा पुगेका व्यक्ति थिए । त्यसैले उनको विरासत विवादरहित रहन नसकेको हो ।
प्रजातान्त्रिक आन्दोलनमा कोइरालाको भूमिका नेपाली कांग्रेसको सिपाहीको थियो । संसदीय व्यवस्थामा उनी गिरिजाप्रसादका विश्वासिला सहयोगी भए । शाही–सैन्य सत्ता एवं सशस्त्र माओवादी संघर्षकालमा उनी पुनः वैचारिक मात्र भए पनि प्रजातन्त्रका सिपाही भए । अन्ततः उनको अवसान पनि एउटा योद्धाकै रूपमा भयो, तर स्थायी सत्ताले उपयोग गरेर मिल्काएको मानव यन्त्रका रूपमा ।
मृतकका बारेमा अप्रिय कुरा नगर्ने मान्यता संसारका प्रायः सबै संस्कृतिमा छ । राजनीति भने त्यस्तो औपचारिकताबाट मुक्त हुन्छ । त्यो किनभने, राजनीतिकर्मी बिते पनि तिनका कृत्यले लामो कालसम्म देशदुनियाँलाई प्रभावित गरिनै राख्छ । निन्दाबेगर आलोचनात्मक चर्चायोग्य ठहरिनुलाई सुशील कोइरालाको जीवनको सफलता नै मान्नुपर्दछ । थोरै मात्र राजनीतिकर्मीले त्यस्तो निरपेक्षता छाडेर जान सक्दछन् । कोइराला सिंहदरबारमा झुन्ड्याइने पूर्व प्रधानमन्त्रीहरूको लहरमा फरक देखिइरहनेछन् । विवाद त राजनीतिको अन्तरनिहीत अवयव नै हो ।
प्रकाशित: २६ माघ २०७२ २२:०४ मंगलबार