coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस सरकारले राम्रो काम गर्दा पनि एमालेले साथ दिएनः सांसद देव

सत्तारुढ नेपाली काँग्रेसका सांसद जितेन्द्र नारायण देवले सरकारले राम्रो काम गर्दा पनि प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले साथ नदिएको गुनासो गरेका छन्।

बुधबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै पूर्वमन्त्री समेत रहेका सांसद देवले निष्पक्ष ढंगले स्थानीय तह निर्वाचन सम्पन्न हुनु, महिला हिंसाविरुद्धको ऐन संशोधान हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति घोषणा हुनु, नागरिकता सम्बन्धी ऐन संशोधन हुनु सरकारको ऐतिहासिक काम भएपनि एमालेले साथ नदिएको बताए।

उनले एमालेलाई सरकारप्रति नकारात्मक भाव मात्रै राखेर अघि नबढन पनि पटक-पटक आग्रह गरे। लोकतन्त्रमा प्रतिपक्ष दल भनेको रचनात्मक हुनुपर्ने उल्लेख गर्दै सांसद देवले सकारात्मक सोच लिएर आउन पनि प्रमुख प्रतिपक्ष दल एमालेलाई आग्रह गरे।

उनले भने,  ‘सरकारले ३/४ वटा युगान्तकारी कामहरु गरेको छ। शान्तिपूर्ण तरिकाले स्वतन्त्र ढंगले स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ। अब मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुन गइराखेको छ। यही सदनले महिला हिंसाविरुद्धको ऐन संशोधन भएको छ। यही सदनले नागरिकता सम्बन्धी ऐनलाई सशोधन गरेको छ। यो युगान्तकारी, ऐतिहासिक कामहरु सरकारले गरेको छ। यसबारेमा प्रमुख प्रतिपक्षका साथीहरुले के भन्नु हुन्छ? यो पनि ठिक गरेन? यो कस्तो खालको संस्कार हामीले विकास गरिराखेका छौं? जबकी पार्लियामेन्ट्री डेमोक्रेसीमा प्रतिक्ष भनेको रचनात्मक प्रतिपक्षको भूमिका हुन्छ। र, हुनुपर्छ। प्रतिपक्ष भनेको डेमोक्रेसीको सुन्दरता हो। तर त्यो रचनात्मक विपक्ष हुनुपर्दछ। तर अत्यन्त नकारवादको शिकार प्रमुख प्रतिपक्ष भइराखेको छ। म चाहन्छु–सम्माननीय अध्यक्ष महोदयमार्फत् सकारात्मक सोच लिएर आउनुस्। अनाआवश्यक ढंगले तिथ्रोको मुखै बैरी सुन्नै पनि कान थुन्नुपर्ने शब्दहरुको प्रयोग गरेर, विषयहरु उठाएर यस्तो हामी अमिलो राजनीतिक वातावरण, तितो राजनीतिक वातावरण हामी नबनाऔं। किनभने अहिले पनि नेपाल अगाडि यस्ता एजेन्डाहरु छन, हाम्रो देशको अगाडि, पिपुलको अगाडि। जसमा नेपालका मेजर पोलिटिकल फोर्सहरु एक भएर जानुपर्ने स्थिति छ। यस्तो बेलामा एउटा नयाँ ढंगको पोलिटिकल कल्चर हामीले विकास गरौं भन्ने पहिलो म चाहिँ अनुरोध गर्न चाहन्छु।’

सांसद देवले मुख्य राजनीतिक दलहरु अझै पनि एकतावद्ध भएर अघि बढनुपर्ने बेलामा एमालेले राजनीतिक तिक्तता ल्याउने खालको टिप्पणी गरिरहेको आरोप समेत लगाए।

प्रकाशित: २५ श्रावण २०७९ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App