१९ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

'नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न माग'

फाइल तस्बिर।

आजको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले विभिन्न मागसहित सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधि सभा सदस्य दिल कुमारीले नागरिकता विधेयक छिटोभन्दा छिटो प्रमाणिकरण गर्न राष्ट्रपति विद्यादेवी भण्डारीको ध्यानाकर्षण गराएकी छन्।

प्रतिनिधि सभा सदस्य तेजुलाल चौधरीले देशमा शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था नाजुक रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। सांसद चौधरीले देशमा शिक्षा, स्वास्थ्य, रोजगारीको अवस्था नाजुक अवस्थामा पुगेको बताएका हुन्। उनले बालबालिकाले गुणस्तरीय शिक्षा लिन नपाएको तथा बालबालिका कुपोषणको सिकार भइराखेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले कक्षा एकमा भर्ना भएदेखि एसइई परीक्षासम्ममा ६ लाख विद्यार्थीहरु हराइरहेको भन्दै त्यसतर्फ पनि सरकार गम्भिर हुनुपर्ने बताए। यस्तै प्रतिनिधि सभा सदस्य दुर्गबहादुर राउतले जनयुद्ध र जनआन्दोलनका क्रममा घाइते भएका कतिपय व्यक्तिहरु तथा शहीद परिवारले अझैपनि राज्यले दिने भनेको जीवन निर्वाह भत्ता नपाएका बताए। उनले भत्ता पाउन छुटेका घाइते, अपांग र शहीद परिवारलाई राहतको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रतिनिधि सभा सदस्य दुर्गाकुमारी विश्वकर्माले विगतको सरकारले सिमाबाट तरकारी तथा फलफूल ल्याउँदा विषादी जाँच गरेर ल्याउने व्यवस्था गरेको उल्लेख गर्दै हाल विषादी जाँच गर्ने मेसिन कुन अवस्थामा छ भनि प्रश्न गरिन्। उनले विषादी जाँच गरेर मात्रै तरकारी तथा फलफूल नेपाल भित्र्याउने व्यवस्था गर्न माग गरे। प्रतिनिधि सभा सदस्य देवप्रसाद गुरुङले सरकारले तत्काल निर्वाचन सम्बन्धी ऐन ल्याउनुपर्ने बताए।

उनले निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्यकालको सम्बन्धमा बहस उठेको भन्दै प्रतिनिधि सभाको कार्यअवधिको सम्बन्धमा पनि ऐन आवश्यक रहेको उल्लेख गरे। त्यस्तै प्रतिनिधि सभा सदस्य नविना लामाले गएराति मनोहरा खोलाको बाढीले सुकुम्वासी बस्ती डुबानमा परेको भन्दै पीडितलाई राहत तथा पुर्नस्थापना गर्न सरकारसँग माग गरिन् भने प्रतिनिधि सभा सदस्य निरुदेवी पालले केपी ओली नेतृत्वको सरकारले कञ्चनपुरमा सुरु गरेका विकास निर्माणका कामहरु सबै रोकिएको भन्दै विकास निर्माणको कामहरु तत्काल अघि बढाउन माग गरेकी छन्।

प्रतिनिधि सभा सदस्य पवित्रा निरौला खरेलले सामुदायिक विद्यालयमा कार्यरत बाल शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धि गर्न माग गरिन्। प्रतिनिधि सभा सदस्य पार्वतीकुमारी विशुन्केले हरुवा चरुवाको पुनर्स्थापनाको प्याकेज घोषणा गर्न माग गरिन्। यसैगरी प्रतिनिधि सभा सदस्य पुष्पाकुमारी कर्ण कायस्तले रेडियो नेपालले मैथिली र भोजपुरी भाषाको कार्यक्रम केन्द्रीय प्रशारणबाट हटाएको भन्दै आपत्ति जनाइन्।

प्रतिनिधि सभा सदस्य प्रकाश रसाईली स्नेहीले त्रिभूवन विश्वविद्यालयले प्रश्नपत्र दोहोर्‍याएको सम्बन्धमा छानविन समितिको प्रतिवेदन सार्वजनिक नगरको भन्दै त्रिविको उपकुलपति र रजिष्ट्रारलाई कारबाही गर्न माग गरे। प्रतिनिधि सभा सदस्य प्रेम सुवालले निर्वाचनमा गठबन्धन गर्ने दलहरुलाई एउटै घोषणापत्र जारी गराउने र निर्वाचन चिन्हपनि एउटै पाउने व्यवस्थाको लागि निर्देशन हुनुपर्ने बताए। उनले जनताको सुरक्षाका लागि उपत्यकाका आवास क्षेत्रहरुमा बाह्र तथा चौध पाङ्ग्रे भारी गाडीहरु तत्काल बन्द गर्नुपर्ने बताए।

प्रकाशित: २५ श्रावण २०७९ ०९:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App