६ वैशाख २०८१ बिहीबार
राजनीति

एआइजी पोखरेलको बिर्सनलायक अवकाश

नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) प्रहरी महानिरीक्षक(एआइजी) विश्वराज पोखरेल उमेर हदका कारण अवकाशमा गएका छन्। बिहीबार मध्यरातबाट उनी उमेर हदका कारण अवकाश गएका हुन्। उनले २०४९ चैत १२ गते प्रहरी निरीक्षक(इन्सपेक्टर) पदबाट सेवा प्रवेश गरेका थिए। प्रहरी सेवाकालका अन्तिम चार वर्षमा उनी निकै चर्चामा रहे। सुरुवातमा अविश्वसनीय ढंगबाट बढुवामा मारेको ‘छलाङ’का कारण चर्चामा रहेका उनी अन्तिम केही महिना भने प्रहरी संगठनको नेतृत्व प्रहरी महानिरीक्षक(आइजिपी) छनोटमा नपरेपछि चर्चामा रहे। महिनौंसम्म अदालत धाउँदा पनि उनको पक्षमा नतिजा आएन। त्यसपछि ‘आफूभन्दा कनिष्ठको मातहतमा बस्न नसक्ने’ भन्दै राजीनामा बुझाउँदा पनि त्यो राजीनामा स्वीकृत भएन, न उनी कार्यालयमा नै हाजिर भए। अन्तमा उनको बिर्सनलायक अवकाश भएको छ।

उतारचढावपूर्ण सेवाकाल

एआइजी पोखरेल २०४९ चैत १२ गते इन्सपेक्टरबाट सेवा प्रवेश गर्दा ८औं नम्बरमा थिए। सो ‘ब्याच’मा पहिलो नम्बरमा थिए, हालका आइजिपी धीरजप्रताप सिंह। १२ वर्षपछि २०६२ साउन ११ मा सो समूहका केही अधिकृत प्रहरी नायब उपरीक्षक(डिएसपी) मा बढुवा भएका थिए। उक्त बढुवामा पोखरेल निकै तल २४ नम्बरमा झारिएका थिए। तर, वर्तमान आइजिपी सिंह भने पहिलो नम्बरमै बढुवा भएका थिए।  

७ वर्षपछि २०६९ माघ ११ मा सो समूहका प्रहरी अधिकृतहरूले प्रहरी उपरीक्षक(एसपी)मा बढुवा भएको थियो। त्यसमा पोखरेलको अवस्था उल्लेख्य सुधार भयो। उनी ७ नम्बरमा अटाउँदा सिंह भने फेरि १ नम्बरमै थिए।  

यसरी एसपीसम्म पछाडि–पछाडि रहेका पोखरेलका लागि वरिष्ठ प्रहरी उपरीक्षक(एसएसपी) बढुवापछि भने लगातार ‘लट्री’ नै लागेको थियो। उनी २०७४ साउन २९ गते एसएसपीमा बढुवा हुँदा आफ्ना ब्याचका सबैलाई पछार्दै सबैभन्दा अगाडि आए।  

त्यसपछि भने उनको ‘रकेट यात्रा’ नै सुरु भयो। २०७५ कात्तिक १० गते तत्कालीन डिआइजी सुशील भण्डारीको काभ्रेमा भएको एक सवारी दुर्घटनामा निधन भयो। तत्कालीन नेकपा सरकारले सात महिना रिक्त रहनगएको मृतक डिआइजी भण्डारीको दरबन्दीमा २०७६ वैशाख १९ गते पोखरेललाई बढुवा गर्‍यो। जसमा अघिल्ला व्याचका अधिकृतलाई समेत पन्छाइएको थियो।  

त्यतिबेला अघिल्लो ब्याजका गणेश ऐर, पुरुषोत्तम कँडेल, देवबहादुर बोहरा, किशोर दाहाल, राजेन्द्र चौधरी, नवराज भट्ट, रामकृपाल शाह, उमेश रञ्जितकार, वीरेन्द्र बस्याल र सौरभ राणा एसएसपी थिए।

तत्कालीन सरकार पोखरेलसँग ज्यादा नै मोहित थियो। यसरी मोहित सरकारले उनलाई भविष्यको आइजिपी सुनिश्चित गर्नेगरी कदम चाल्यो। यसैका लागि २०७७ मंसिर २५ मा एआइजीको नयाँ दरबन्दी सिर्जना गरेर उनलाई बढुवा गरिदियो।  

यसको मूल उद्देश्य २०७९ मा हुने तीनतहका निर्वाचन केन्द्रीत रणनीति रहेको स्रोतको दाबी छ। यो बेला सम्पन्न हुने तीनतहका निर्वाचनका समयमा पोखरेललाई प्रहरी कमाण्ड सुम्पने र त्यसबाट चुनावी लाभ लिने उद्देश्यले यसो गरिएको प्रहरीवृत्तमा चर्चा हुन्छ।  

यसरी उछलकुद गर्दै आइजिपी हुने मुखमै पुगेका पोखरेलका लागि नेकपा विभाजन र वर्तमान सरकारको आगमन ‘अभिशाप’ बनेको छ। नयाँ सरकार आउनासाथ उनलाई आइजिपी हुने बाटो रोक्नेगरी अगाडि बढेको चर्चा हुन्छ। जुनकुरा सरकारको कदमले नै पुष्टि गरिदिएको छ।  

उनलाई रोक्न र आइजिपीमा नयाँ विकल्प तयार गर्न वर्तमान सरकारले एआइजीमा तीन दरबन्दी थपेको थियो। गत चैत १७ गते थपिएका ती तीनवटा दरबन्दीमा अहिलेका आइजिपी सिंह(तत्कालीन डिआइजी)सँगै अर्का डिआइजीद्वय बसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजीमा बढुवा गरेको थियो।  

गत वैशाख १८ गते तत्कालीन आइजिपी शैलेशकुमार थापा क्षेत्री अवकाश गए। त्यसपछि सरकारले पोखरेललाई रोक्दै सिंहलाई आइजिपीमा बढुवा गर्‍यो। यसरी आइजिपीको सुनिश्चितताका लागि योजनावद्ध रूपमा छलाङ मार्दै एआइजी बनेका पोखरेलको चाहना एकाएक तुषारापात भयो।  

त्यसपछि उनले वैशाख १९ गते आफूभन्दा १७ महिना कनिष्ठ एआइजीलाई आइजिपी नियुक्त गरेको र त्यसबाट आफूलाई अन्याय भएको भन्दै सरकारको निर्णयविरुद्ध सर्वोेच्च अदालत पुगेका थिए। यो मुद्दामा असार ३१ गते सर्वोच्चले अन्तिम फैसला गरेर सरकारको निर्णय सदर गरिदियो।  

सर्वोच्चले पनि उनको आइजिपी बन्ने चाहनामा पूर्णबिराम लगाइदिएपछि उनले साउन २ गते प्रहरी सेवाबाट राजीनामा दिएका थिए। उनको त्यो राजीनामा प्रहरी प्रधान कार्यालयले स्वीकृत नै गरिदिएन।

त्यसअघि मुद्दा दायर गर्नुअघि उनले बैशाख १८ गते नै एकमहिने बिदा लिएका थिए। उक्त बिदा सकिदाँ उनको मुद्दाको अन्तिम किनारा लागेको थिएन्। त्यसपछि उनले थप बिदा मागेका थिए। बर्खायाम चलिरहेका कारण ‘बिदा दिन नमिल्ने’ भन्दै प्रहरी प्रधान कार्यालयले उनको बिदा स्वीकृत गरेको थिएन।  

यसरी उनी हाजिर नहुँदा पनि प्रहरी प्रधान कार्यालयले कुनै कारबाही प्रक्रिया चलाएन। मुद्दाको फैसलापछि राजीनामा बुझाउँदा पनि स्वीकृत नगरेर प्रधान कार्यालयले उनलाई पुरै कार्यकाल सेवामा अड्काइदिएको थियो।  

उनको दरबन्दी प्रदेश प्रहरी समन्वय विभागमा तोकिएको थियो। तर, त्यहाँ उनी एकदिनपनि हाजिर नभएको प्रहरीस्रोतले बतायो। प्रहरीस्रोतका अनुसार एआइजीको अवकाश हुँदा कार्यरत विभागले नै समारोह गरेर बिदाई गर्ने परम्परा छ। उनी तोकिएको विभागमा हाजिरै भएका थिएनन्। ‘न उहाँ हाजिर हुन आउनुभयो। न हामीले बिदाई गर्न पाएका छौं,’ विभाग स्रोतले भन्यो। यसरी उनको निराशाजनक अवकाश भएको छ।  

प्रकाशित: २२ श्रावण २०७९ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App