४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मुख्य दललाई भड्किएको आन्तरिक राजनीति संग्ल्याउनै पर्ने बाध्यता

आगामी चुनावी नतिजा आफ्नो पक्षमा पार्न ताप्लेजुङका मुख्य राजनीतिक दलहरुलाई स्थानीय तहको निर्वाचनका क्रममा भड्किएको आन्तरिक राजनीति सग्ल्याउनैपर्ने बाध्यता देखिएको छ। नेकपा एमाले, नेपाली काँग्रेस र माओवादी केन्द्र तीनवटै राजनीतिक दलभित्र आन्तरिक खटपट छ।

यहाँको अर्को मुख्य दल जनता समाजवादी पार्टी भित्र देखिएको विभाजनले त्यो पार्टीका नेता कार्यकर्ता उपेन्द्र यादव र बाबुराम भट्टराईमध्ये कुन कित्तामा बढी उभिन्छन् भन्नेमा पनि भर पर्ने देखिएको छ। जसपाका यहाँका नेता कार्यकर्ताहरु यादव र भट्टराई कुन कित्तामा उभिने भनेर प्रष्ट खुलेका छैनन्।

स्थानीय तहको चुनावको मुखैमा पार्टीका आधिकारिक उम्मेदवारहरुविरुद्ध पत्रकार सम्मेलन गरेर पार्टी विरोधी गतिविधि गरेको आरोप काँग्रेस र एमालेका केहि नेताहरुले खेपिरहेका छन्। दुबै पार्टीको समान अर्को आन्तरिक विवाद भनेको स्थानीय तहको निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध ‘घात अन्तरघात’को रहेको छ। यो मामलामा काँग्रेसमा बढी विवाद देखिएको छ।

पूर्व सभापति केशवप्रसाद दाहाल, लिलादेवी बोखिम, क्षेत्रीय सभापति लक्ष्मीप्रसाद भट्टराई, जिल्ला सभापतिका प्रत्यासी छबिरमण गुरुङ,नेता दीपेन्द्रकुमार सेन्दाङसहितको सहभागितामा काँग्रेसको एक पक्षले स्थानीय तहको निर्वाचनको मुखैमा पत्रकार सम्मेलन गरेर स्थानीय तहको टिकट बाँडफाँडमा जिल्लाको नेतृत्व पक्षले ‘मनोमानी’ गरेको आरोप लगाएको थियो।

जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले गठबन्धनको निर्णय विपरीत स्थानीय तहको उम्मेदवार बनेकालाई पार्टीबाट निष्कासनको निर्णय लिएका थिए भने प्रस्तावक र समर्थक रहेकाहरु माथि अनुशासनको कारबाही लागेको थियो। पत्रकार सम्मेलन गर्ने शीर्ष नेतृत्वलाई अनुशासन समितिले सोधेको स्पष्टीकरण र त्यसपछि बहकिएको राजनीतिक तरंगसहितका प्रकरणले काँग्रेस ताप्लेजुङमा आन्तरिक संघर्ष चुलिएको छ।

पत्रकार सम्मेलन गर्ने अधिकांश संस्थापन इतरपक्ष र स्पष्टीकरण तथा कारबाहीको निर्णय लिने अधिकाँस नेतृत्वपक्ष संस्थापनपक्षधर रहेका छन्। स्थानीय तहको टिकट वितरण र खासगरी फुङलिङ नगरपालिकामा एमालेकातर्फबाट नगरप्रमुखका प्रत्यासी तथा निवर्तमान नगरप्रमुख छत्रपति प्याकुरेलको उम्मेदवारी निर्णयलाई लिएर एमालेका केही नेताले गरेको पत्रकार सम्मेलनसहितका प्रकरणले एमालेमा विवाद छ।

यो बाहेक घात र अन्तरघातको आरोप–प्रत्यारोप काँग्रेसमा झैं एमालेमा पनि त्यत्तिकै छ। पार्टीको उपल्लो कमिटीले प्याकुरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने निर्णय गरेर पठाएपछि जिल्ला कमिटी उपाध्यक्ष सन्तोष खतिवडा, प्रदेश कमिटी सदस्य हेमन्तकुमार उप्रेति र नगर कमिटी अध्यक्ष भरतकुमार गुरुङले पत्रकार सम्मेलन गरेर पार्टीका आधिकारिक उम्मेदवारविरुद्धको गतिविधि गरेको आरोप खतिवडा, उप्रेति र गुरुङले खेपिरहेका छन्।

पार्टी हित विपरीत गर्ने कतिपयलाई कारबाही र कतिपयलाई कारबाही सिफारिस गरिएको एमाले स्रोतले जनाएको छ। तर, पत्रकार सम्मेलन गर्नेहरुले भने आफ्नो कदमको बचाउ गर्दै अभिव्यक्ति दिइरहेका छन्। स्थानीय तहको टिकट वितरणबाट अलिअलि गर्दै सल्किएको माओवादी केन्द्रको जिल्लागत द्वन्द जिल्ला समन्वय समिति प्रमुखको निर्वाचनसम्म पुग्दा निकै भड्किएको छ।

आरोप प्रत्यारोपसहित एकअर्का पक्षबीच विज्ञप्तिवाजी गर्ने माओवादीको आन्तरिक द्वन्द कारबाही र जिम्मेवारी अलगसम्म पुगेको छ। पार्टीको आन्तरिक विवादले गठबन्धन पक्षको भागबण्डामा परेको जिसस प्रमुख पद समेत माओवादीको भागबाट खुस्किएपछि माओवादी केन्द्रमा बिबाद झनै बढेको हो।

स्थानीय तहको निर्वाचनका लागि दिएको टिकटको दुरुपयोग गरी जिसस प्रमुख पदका पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी खडा गर्ने कामको अगुवाइ गरेको आरोप लागेका प्रदेश कमिटी सचिवालय सदस्य तथा मैवाखोला गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमलाई कारबाहीका लागि सिफारिस गरिएको छ भने फुङलिङ नगर कमिटी अध्यक्ष तथा नगर कार्यपालिका सदस्य गंगाराम शंकरलाई माओवादी केन्द्रले जिम्मेवारीबाट हटाइएको छ।

माओवादी केन्द्रको जिल्ला समन्वय कमिटीले वनेमको अगुवाईमा जिसस प्रमुख पदका पार्टीका आधिकारिक उम्मेदवार मिङ्माडण्डु शेर्पाको उम्मेदवारी दर्ता हुनु अघि नै थानीय तहको निर्वाचनका लागि दिएको टिकटको दुरुपयोग गरी शंकरको उम्मेदवारी दर्ता गरेको आरोप लगाएको छ। यही आरोपमा वनेम र शंकरलाई कारबाहीको भागिदार बनाइएको माओवादीले भनेको छ।

पछिल्लो समय अखिल क्रान्तिकारीमा देखिएको आन्तरिक विवाद प्रकरणमा माओवादी केन्द्रका नेताहरु दुईधारमा खुलेका छन्। वनेमसहित लक्ष्मीप्रसाद अन्छङ्वो (आवाज), दावाछिरिङ शेर्पा (बिसालु), ठाकुरसिंह लिम्बूसहितका नेताहरु एकैठाउँमा देखिएका छन्। स्थानीय तहको निर्वाचनका लागि गठबन्धनका विरुद्ध उम्मेदवारी दिएका सिदिङ्वा गाउँपालिकाका निवर्तमान उपाध्यक्ष जीवनकुमार ताम्लिङलाई पार्टीले उतिबेलै कारबाही गरिसकेको छ।

उनी अहिले ‘एक स्वतन्त्र’ जस्तै देखिएका छन्। एमालेसँगको सहकार्यमा सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पद दोहोर्‍याउन खोजेका उनी गठबन्धन पक्षधर माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार कडरिया (बन्दना) सँग मात्र १ मतले पराजित भए। उनी सर्मथक अधिकांश उम्मेदवार विजयी भएका छन्। गठबन्धन पक्षमा नेकपा एसको भाग लागेको मेरिङदेन गाउँपालिकाको उपाध्यक्षमा एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवार बनेका दावाछिरिङ भने पराजत भएका थिए।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएपनि उनलाई माओवादी केन्द्रले कारबाही भने गरेको छैन। ९ स्थानीय तह र ६१ वटै वडा रहेको ताप्लेजुङमा काँग्रेस, माओवादी केन्द्र र नेकपा एसले स्थानीय तहको निर्वाचनमा चुनावी समिकरण गरेका थिए। गठबन्धन पक्षधरबीच ७ स्थानीय तहको प्रमुख काँग्रेसले र २ माओवादीले पाउने सहमति भएको थियो।

काँग्रेसले पाएको ७ मध्ये ३ स्थानीय तहमा एमालेले प्रमुख पद जितेको छ भने काँग्रेसले ४ र भागबण्डामा २ स्थानीय तहको प्रमुख पद पाएको माओवादी केन्द्रले २ स्थानीय तहमै विजयी प्राप्त गरेको छ। समग्रमा एमाले र काँग्रेसले प्रमुख र उपप्रमुख गरी समान ६–६,माओवादी केन्द्रले ५ र नेकपा एसले १ उपप्रमुख पद जितेको छ।

गठबन्धनको भागबण्डामा जिसस प्रमुख माओवादी केन्द्रले र उपप्रमुख नेकपा एसले पाउने सहमति भएपनि माओवादी केन्द्रको आन्तरिक विवादले जिसस प्रमुख नेकपा एसको हातमा पुगेको छ भने काँग्रेसले उपप्रमुख पाएको छ।  

प्रकाशित: २१ श्रावण २०७९ १०:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App