१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिया चौतारामा चुनावी चर्चा

प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति तय भएसँगै राजनीतिक दल तथा कार्यकर्तामा उत्साह जागेको छ।

अहिले यहाँका चिया पसल तथा चौतारामा चुनावी चर्चाले माहाले तातेको छ। सुदूरपश्चिम प्रदेशका ७ पहाडी जिल्लाका नेता तथा कार्यकर्ताहरु टिकट लविङका लागि राजधानीको तय गर्दै धनगढी झर्न थालेका छन्। अहिले धनगढीका चिया, चौतारा तथा चौकका पसलहरुमा चुनावी माहोलको चर्चा सुनिन थालेको हो।

चुनावको मिति तय भएसँगै धनगढीमा माहोल तातेको बताउँदै नेपाली कांग्रेस प्रदेश प्रतिनिधि धनगढीका नारायणप्रसाद सत्यालले भने,‘सुरुमा चुनावै हुन्न भन्थे, अहिले चुनावको मिति तय भएसँगै कार्यकर्तामा उत्साह जागेको छ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावै गर्दैनन् भन्ने गरेको बताउँदै उनले भने,‘चुनाव हुन्न भन्थे, चुनाव गर्नमा देउवा पछाडि हट्दैनन्।’

अहिले नेता तथा कार्यकर्ताहरु टिकट लिनका लागि काठमाडौँ धाउन थालिसकेका छन्। ‘धनगढीका नेताहरु टिकटका लागि आफ्ना नेताहरुलाई रिझाउन काठमाडौँ हिँडिसके भने केही हिड्ने तयारीमा छन्,’ उनले भने,‘पहाडतिरका नेताहरु पनि काठमाडौँका लागि धनगढी झर्न थालिसके।’ धनगढीमा अहिले पहाडबाट नेताहरु झर्न थालेपछि चहलपहल पनि बढेको उनी बताउँछन्।  

गठबन्धनको देशभरको क्षेत्र बाँडफाँड गर्ने कार्यदल बनेको बताउँदै नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रमेश धामीले भने,‘गठबन्धनले नेकपा माओवादी केन्द्रको क्षेत्र कहाँ-कहाँ पर्छ, त्यो टुंगो लगाएपछि पार्टीको आन्तरिक छलफलले पाटीले उम्मेदवारको नामावली माग्ने र त्यपछि दावीका लागि नेताहरु तयारी हुनेछन्।’

पार्टीको प्रक्रियागत कार्यक्रम अनुसार नै नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु अगाडि बढ्ने उनले बताए। तर पनि अहिले निर्वाचनको मिति घोषणा भएसँगै यहाँका पसल, चौक चौतारा तथा चिया चमेनागृहमा नेता कार्यकर्ताको निर्वाचन केन्द्रित बहस तथा छलफल भने हुन थालिसकेको उनी बताउँछन्।

‘स्थानीय तहको निर्वाचन सकेर आराम गरिरहेका नेता कार्यकर्ताहरु पुनः जुर्रमुराउन थालेका छन्,’ उनले भने, ‘अब चुनावको रौनक सुरु भइसक्यो।’ धनगढीमा रहेका डोटीका कांग्रेस नेता भूमिराज बडू भने चुनावी मिति तोकिएसँगै गाउँ फर्किने अभियानमा छन्। उनले भने,‘सब नेताहरु टिकटका लागि राजधानी काठमाडौँ जान थाले म भने गाउँ फर्कन्छु र कार्यकर्ता भेटघाट गर्छु।’

आफू यसपालि चुनाव लड्ने तयारीमा रहेको बताउँदै उनले भने,‘यसपालि मैले चुनाव लड्ने मानसिकता बनाइसकेको हुँदा भोलिदेखि नै डोटी फर्केर गाउँ-गाउँ गइ कार्यकर्ता तथा मतदाता भेटघाट बाक्लो बनाउने छु।’ चुनावमा जित्नका लागि आधार भनेकै मतदाता भएको उनले बताए।

‘चुनाव जित्ने नै हो भने मतदातासँग नजिक हुनुपर्छ,’ उनले भने,‘त्यसैले म जित्ने चुनाव लड्नका लागि मतदाता भेटघाटमा जाँदैछु।’ आउँदो मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि आफूले पनि तयारी थालेको बताउँदै राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ माया विष्टले भनिन्,‘म अत्तरिया क्षेत्रमा चुनाव लड्नका लागि तयारी गरिरहेकी छु, त्यसका लागि यहाँ नेता तथा कार्यकर्तासँग भेटघाटको तयारी तीव्र पारिसके।’

समयमा निर्वाचन गर्नुपर्छ भन्ने नेकपा एमालेको माग अनुरुप नै मिति घोषणा भएको बताउँदै एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले भने, ‘समयमै निर्वाचनको मिति घोषणा भयो, त्यो स्वागतयोग्य छ। टिकट लिने कुरा भने पार्टीकै अन्तिम निर्णय हो।’

अहिले एमालेले सुदूरपश्चिममा स्थानीय तहको निर्वाचको समीक्षा गरिरहेको बताउँदै उनले भने, ‘हामी विगतको निर्वाचनको समीक्षामा छौ र पार्टीको विधि, विधान तथा नीतिबारे कार्यकर्तामाझ प्रशिक्षित गराउँछौँ। त्यही अनुसार हामी अहिले केन्द्रित भएका छौँ।’

आफू पनि यसपटकको प्रदेश सभा निर्वाचनका लागि तयारी अवस्थामा रहेको बताउँदै नेपाली कांग्रेस कैलालीका पूर्वसचिव पूर्ण कुँवरले भने,‘निर्वाचनको मितिले नेता तथा कार्यकर्तामा तरंगित ल्याएको छ, निर्वाचन मंसिरमा नै हुने भएकाले अब कार्यकर्ता भेटघाट सुरु भइसकेको छ।’

प्रदेश सभा निर्वाचनका लागि लड्ने निर्वाचन क्षेत्रका मतदातासँगको भेटघाट सुरु गर्न थालेको पनि उनले बताए। उनले भने,‘नेताहरु टिकटका लागि काठमाडौँ धाउँदैछन्, म भने पहिलो चरणमा स्थानीय नेता तथा कार्यकर्ता र मतदातासँगको भेटघाटमा निस्कन्छु। त्यसपछि मात्रै टिकटका लागि लविङ गर्छु।’

धरातल बलियो भएमा मात्रै चुनाव जितिने भएकाले धरातल मजबुत बनाएर मात्रै टिकटका लागि अगाडि बढ्नु उचित हुने बताउँदै उनले भने, ‘नेपाली कांग्रेसले जित्ने चुनाव लड्नुपर्छ, न कि हार्नका लागि?, त्यही भएर म जित्ने चुनावका लागि एक राउण्ड निर्वाचन क्षेत्रमा उपलब्ध साथीभाइ तथा मतदाताहरुसँग भेटघाटमा निस्कन्छु।’ निर्वाचनको मिति तय भएसँगै कार्यकर्तामा उत्साह भने छाएको उनको भनाइ छ।  

प्रकाशित: २१ श्रावण २०७९ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App