१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

विप्लव समूहका नेतालाई पक्राउ पूर्जी जारी गरेकोप्रति एमालेको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेतालाई कारबाहीको लागि पत्र पठाएको भन्दै आपत्ति जनाएको छ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै एमाले सांसद विशाल भट्टराईले सरकारले शान्ति प्रक्रियामा आएर प्रतिस्पर्धात्मक गतिविधिमा सहमति जनाइसकेको दललाई पुनः शान्तिप्रक्रियाबाट बिथोलेर जनतामा त्रासको वातावरण फैलाएको बताएका हुन्।

उनले यदी सरकारले विप्लव लगायतका शान्तिप्रक्रियामा आइसकेका नेताहरुलाई पक्राउ पुर्जी जारी गरेको हो भने सरकारले त्यसबाट तत्काल पछि हटेर पक्राउ पुर्जी फिर्ता लिन आग्रह गरे। उनले सरकार अविच्छिन्न रहने भन्दै विप्लव समूहलाई गर्ने भनेको कारबाहीबाट पछि हट्नुपर्ने बताए।

सांसद भट्टराईले हिंसाको बाटो रोजेको विप्लव र सिके राउतको पार्टीलाई शान्तिपथमा ल्याउन तत्कालीन केपी ओली शर्मा नेतृत्वको सरकारले धेरै मिहेनत गरेको भन्दै यसलाई अहिलेको सरकारले पनि निरन्तरता दिनुपर्ने बताए।  

उनले भने, ‘हालै सरकारले नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूह भनेर चिनिने एउटा समूहलाई फेरि थप कारबाहीको लागि पत्र पठाएको हामीले सुन्यौँ। सञ्चारमाध्यमबाट आएको यो समाचार सत्य हो भने कुनै बेला हिंसाको बाटो रोजेको र तन्केर सशस्त्र युद्धमा होमिएको समूहलाई तत्कालीन केपी शर्मा ओलीको सरकारले ३ बुँदे सहमति गरेर हिंसाबाट शान्तिपूर्ण बाटोमा ल्याएका थियौँ। त्यसपछि नेपाली जनताले शान्तिका साथ बाच्न पाइन्छ भनर अनुभुति गरिरहेका बेला फेरि यो सरकार स्वभाविक छ कि, संविधानतः सरकार अविछिन्न छ। यदी सरकारले पक्राउ गर्न आदेश दिएको हो भने प्रतिपक्ष दलका हैसियतले म सरकार यो कामबाट तत्काल पछि हट्न र पक्राउ पुर्जी फिर्ता लिन सरकारलाई ध्यानाकर्षण गराउँछु।’

सांसद भट्टराईले विपद् व्यवस्थापन प्राधिकरण निस्क्रिय भएको भन्दै नेपाल सरकार र स्थानीय सरकारको तर्फबाट केही दिन अघिमात्रै खोटाङमा गएको भूकम्पको क्षति विवरण संकलन गरी जनतालाई राहत दिन आग्रह गरे। उनले भूकम्पको तत्काल क्षतिको विवरण संकलन गर्ने काममा पनि सरकारले ढिलासुस्ती गरेको आरोप लगाए।

प्रकाशित: १७ श्रावण २०७९ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App