३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

'नेपालीले विदेशी बुहारीलाई नागरिकता दिन ६ महिना पनि कुर्न नसक्ने?'

राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नागरिकता सम्बन्धी विधेयकको खुकुलो प्रावधानले नेपालमा संगठित अपराध बढ्ने बताएका छन्।

बिहीबार राष्ट्रिय सभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा बोल्दै सांसद देवकोटाले विधेयकमा वैवाहिक अंगिकृतको सम्बन्धमा खुकुलो प्रावधान राखिएको बताए।

उनले भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने नेपालीले विदेशी बुहारीलाई नागरिकता दिनभने ६ महिना पनि कुर्न नसकेको टिप्पणी गरे। उनले यो प्रावधानले नेपालमा संगठित किसिमको अपराध बढ्ने बताए।

उनले भने, ‘नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष निवेदन दिनुपर्ने र त्यसरी निवेदन दिँदा विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पेस गर्नुपर्ने व्यवस्था छ। विदेशी मुलुकको नागरिकता त्याग गरेको कारबाही चलाएको सामान्य निस्सा मात्रै भए पुग्ने व्यवस्थाले विदेशी नागरिकता त्यागेको ठहरिँदैन। उसको निवेदन विदेशको सम्बन्धित निकायमा पुगेको पनि हुँदैन। ऊसँग दुईवटा नागरिकता कायमै रहन्छ। बरु २०७५ सालमा ल्याइएको विधेयकमा विवाह पछि नेपाली नागरिकता प्राप्त गरेको ६ महिनामा विदेशी नागरिकता त्यागेको प्रमाण पेस गर्नुपर्ने व्यवस्था थियो। यस्तो व्यवस्था विधेयकबाट हटाउनु दुर्भाग्यपूर्ण छ। भारतमा छोरीलाई विवाह गरेर पठाएमा ७ वर्षसम्म कुर्दा केही नबोल्ने हामी ६ महिना पनि कुर्न सकेनौँ। पुग, नपुग ३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको अति नै सानो अंश यता उता गर्दा नेपालको हालत के होला? हामीले यो पाटोलाई गम्भीर रुपमा हेरेनौँ। विश्लेषण गरेनौँ। कल सेन्टरको नाममा चिनियाँहरुको साइबर अपराध र भारतीय ठग्न चिनियाँले नेपाली खटाउने शीर्षकका यसै साता प्रकाशित दुईवटा प्रतिष्ठित अनलाइन खबरका समाचार पढ्दा खुकुलो नागरिकताको प्रावधानको कारण नेपालमा अब झन संगठित किसिमले अपराध बढ्ने हो कि भन्ने चिन्ता पैदा भएको छ। दोहोरो नागरिकताको सम्भावना त छँदैछ।’

सांसद देवकोटाले ‘३ करोड पनि जनसंख्या नभएको नेपालमा ३०० करोड जनसंख्या भएको चीन र भारतको जनसंख्याको सानो अंश यता, उता गर्दा नेपालको हालत के होला?’ भन्दै प्रश्न गरे।

प्रकाशित: १२ श्रावण २०७९ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App