coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

कारागारलाई खुला स्थानमा स्थानान्तरण गरिन्छः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले कारागारहरुलाई खुला स्थानमा स्थानान्तरण गरिने बताएका छन्। बिहीबार राष्ट्रिय सभाको दोस्रो बैठकमा प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त कारागार विधेयक २०७९ माथि छलफलका क्रममा उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खाँणले यस्तो बताएका हुन्।

उनले अधिकांश कारागारहरु शहरको मध्य भागमा रहेको भन्दै ती कारागारहरुलाई ठूलो भू–भागमा स्थानान्तरण गर्ने तथा नयाँ कारागार निर्माण गर्ने सरकारको योजना रहेको बताए। उनले कारागारको क्षेत्रफल ठूलो बनाएर कैदीबन्दीहरुलाई कृषि उत्पादनको काममा लगाउन सकियोस् भन्ने सरकारको धारणा रहेको उल्लेख गरे।

उनले भने, ‘बन्दी गृहलाई अब सुधार गृह बनाउनु जरुरी छ। त्यसका लागि हामी प्रयत्नशील छौँ। अधिकांश बन्दी गृहहरु, कारागारहरु शहरबजारको मध्यभागमा नै छन्। मध्य भागका जेलहरुलाई बाह्य भू–भागमा, अलि ठूलो भूभागमा स्थानान्तरण गर्ने र नयाँ जेलहरुको निर्माण गर्ने त्यो योजनामा सरकार रहेको छ। जेलको क्षेत्रफल पनि ठूलो होस्। उनीहरुलाई मनोरञ्जन लगायत कामहरु पनि गर्न सकियोस्। कृषि उत्पादनमा पनि उनीहरुलाई उपयोग गर्न सकियोस् भन्ने हाम्रो ध्येय र धारणा हो। त्यसका लागि शहर, बजारको मध्यभागमा रहेका बन्दीगृहहरुलाई शहर बजारको किनारमा सार्ने जनताको माग पनि छ। पालिकाहरुको पनि माग रहिआएको छ। उपयुक्त ठाउँमा जमिन खोजेर बजेटको व्यवस्थापन गरेर नयाँ बन्दीगृह बनाउने र त्यसलाई सुधारगृहको रुपमा परिणत गरेर बन्दीहरुलाई सुविधाजनक जीवन जिउने वातावरण बनाउने हामी कार्ययोजनामा छौँ।’

प्रकाशित: १२ श्रावण २०७९ ०८:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App