७ वैशाख २०८१ शुक्रबार
राजनीति

विकसित देशमा मंकीपक्सले हायलकायल बनाएको छ, नेपाल सरकार मौनः योगेश भट्टराई

नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य क्षेत्रमा सरकारले चासो नदिएको आरोप लगाएका छन्। मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताए।

उनले अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्स फैलिरहेको भन्दै सरकारले देशका सीमानाकाहरुमा स्वास्थ्य परीक्षण केन्द्र राख्नुपर्ने बताए। सांसद भट्टराईले सरकारले कुनैपनि किसिमबाट मंकीपक्सको बारेमा नागरिकलाई सुसुचित गर्न चासो नदिएको बताए। उनले जनस्वास्थ्यको कुरामा सरकार निन्द्रको अवस्थामा रहनु दुःखद् भएको बताए।

सांसद भट्टराईले मंकीपक्सलाई विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको अवस्थामा पनि सीमानाहरुमा एउटा पनि साइनबोर्ड, परीक्षण केन्द्र नराखेको बताए। उनले छिमेकी देश भारतमा ४ जनामा मंकीपक्स पुष्टि भइसकेकोले नेपाल पनि यो विपद्बाट टाढा नरहेको बताए।

उनले भने, ‘अमेरिका, बेलायत लगायतका विकसित देशमा पनि मंकीपक्सले हायलकायल बनाएको छ। हाम्रो सरकार नेपाल सरकारले यसबारेमा अहिलेसम्म पनि कुनै सार्वजनिक ढंगले नेपाली जनतालाई सुसुचित गरेको छैन। सरकार मौन बसिरहेको छ। सरकार निन्द्रको अवस्थामा छ। विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको छ। विश्व स्वास्थ्य संकटकालको घोषणा गरिसकेको छ। तर हाम्रा सीमानाहरुमा एउटा पनि साइनबोर्ड राखिएको छैन।  विमानस्थलहरुमा यसबारेमा कुनै सचेतना दिइएको छैन। सञ्चारमाध्यमहरुबाट सरकारले कुनै विज्ञापन, सूचनाहरु सार्वजनिक गरेको छैन। खुला सीमाना छ। भारतमा यस ४ वटा केसहरु देखिसकेका छन्। हामी पनि यसबाट धेरै टाढा छैनौँ। यसको भयानक अवस्थाबाट हामी टाढा छैन। यस खालको विपत्ति नआओस् भन्नका लागि पूर्व शतर्कता र तयारी अपनाउनका निम्ति ध्यानाकर्षण गर्दछु। सीमानमा कडाइ गर्नुपर्छ, सचेतनता फैलाउनुपर्छ। परीक्षण केन्द्र राख्नुपर्छ।’

सांसद भट्टराईले ३४ जनामा अहिलेसम्म हैजा फेला परेको भन्दै काठमाडौँको समुदायमा हैजा फैलिसकेकोले महामारीको स्थिति उत्पन्न भएको बताए। उनले हैजा बढ्दै जान दिने हो भने अनियन्त्रित अवस्था हुनसक्ने भन्दै पिउनेपानीका मुहान र सप्लाई गर्ने ट्याङ्करको गुणस्तर परीक्षण गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १० श्रावण २०७९ ०८:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App