नेकपा (एमाले)का सांसद नवराज सिलवालले प्रविधिको प्रयोग गरेर अपराध गर्ने क्रियाकलापको अनुसन्धान गर्न अध्यागमनका कर्मचारी योग्य नरहेको बताएका छन्।
सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद सिलवालले यस्तो बताएका हुन्। उनले राष्ट्रको सुरक्षामाथि खेलवाड गर्ने ढंगले एउटा निकायले गरिरहेको कामलाई हटाएर अरुलाई दिने कुरामा मिनि सांसदले सहमति जनाउनु नहुने बताए।
सांसद सिलवालले अध्यागमनको अधिकार नेपाल प्रहरी बाहेक अरुलाई दिन नहुने बताए। उनले नेपाल प्रहरीबाट खोसेर अर्को निकायलाई अध्यागमनको अधिकार दिनु भनेको नेपाल प्रहरीमाथिको भरोसा नहुनु रहेको उल्लेख गरे।
उनले नेपाल प्रहरीमाथि भरोसा नभएको हो भन्दै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रश्न गरे। नेपाल प्रहरीलाई अनुसन्धानको अधिकाबाट हटाउने कुरामा आफ्नो विमति रहेको बताए। सांसद सिलवालले अध्यागमनमा बदमासी रहेको भन्दै प्रणालीगत ढंगले संयन्त्र बलियो बनाउन आवश्यक रहेको बताए।
उनले भने, ‘अध्यागमनमा आफ्नै मान्छे जो इन्भल्व हुन्छ, घोटालामा त्यही मान्छेको डिजीले त्यही निकायले त्यसैलाई अनुसन्धान गर्ने भन्ने कुरा प्राकृतिक न्याय सिद्धान्तको विपरीत हो। नेपाल प्रहरीमाथि भरोसा छैन भन्ने मान्यमन्त्री ज्यूको कुर हो भने ठिक छ। नेपाल प्रहरी भनेको विशेषज्ञ, अनुसन्धान गर्ने निकाय हो। यो अनुसन्धान गर्ने काम प्रहरीको हो प्रहरीलाई दिनुहोस्। यो लिएर आएको संशोधनमा मेरो विमति छ।’
प्रकाशित: २० असार २०७९ ११:२६ सोमबार