coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

मल नदिने कृषिमन्त्रीले तत्काल राजीनामा दिनुपर्छः ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको दृष्टान्त उल्लेख गर्दै के हेरेर बसेको भनि कृषिमन्त्री यादवलाई प्रश्न समेत गरे। उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई कडा निर्देशन दिए।

महासंघले शनिबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले किसानले मल नपाइरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे। उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्नेतर्फ सचेत गराए। 

उनले भने,  ‘मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ। मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई। दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने? मन्त्रीले के हेरेर बस्यो? सरकारले के हेरेर बस्यो? अनि मुख्य काम कृषि क्षेत्रलाई हेर्नुपर्ने, मन्त्री बनाएको मन्त्री भएर भत्ता खाउ, झण्डा हल्लाऊ भनेर मन्त्री बनाएको कि किसानलाई मल देऊ भनेर, बीउबिजन देउ समयमा भनेर, उन्नत जातको बीउबिजन देउ भनेर, कृषिको आधुनिकीकरण गर भनेर, कृषि क्षेत्रको उत्पादन, उत्पादकत्व बढाऊ भनेर होकि? झण्डा हल्लाउ भनेर हो? पिर्कामा सलामी खानका लागि मन्त्री बनाएको हो? होइन नि। किसानका लागि काम गर्नुपर्‍यो कृषिमन्त्रीले।’

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे। उनले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताए। अध्यक्ष ओलीले ६० प्रतिशतभन्दा बढी जनसंख्या कृषिमा आधारित भएको देशमा हामी किन खाद्यन्नमा आत्मनिर्भर हुन नसकेको भनि सरकारलाई प्रश्न समेत गरे।

उनले भने, ‘हामीले सरकार छोडेको मात्रै हिसाब गर्दा मात्रै चामल कसरी आयात भयो? कृषि प्रदान देश। ६० प्रतिशत जनता कृषिमा संलग्न छ। यस्तो अवस्थामा कृषि प्रदान देशमा, यस्तो उर्वर देशमा, जहाँ यति हिमाल, पहाड, उर्वर फाँटहरु छन्। जहाँको जनसंख्या ३ करोडभन्दा कम छ। त्यस्तो देशमा किन हामी खाद्यन्नमा पनि आत्मनिर्भर हुन नसकेर ४९ अर्बका आयात गर्छौ चामल मात्रै। हरेक साल किसानलाई चाहिने बेलामा मल आपूर्ति हुँदैन। यो किन यस्तो हुन्छ? यतिबेला मल चाहिन्छ भन्ने सबैलाई थाहा छ। त्यही कुरा ६ महिना अगाडिदेखि प्रयास गरे हुन्थ्यो नि। अस्ती प्रधानमन्त्री शेरबहादुर देउवाजीले संसदमा संसदमा उभिएर भन्नु भयो–किसानलाई मलको आपूर्तिको व्यवस्था तत्काल गरिनेछ र किसानले मल पाउनेछन्। वाणी मिठो थियो। कुरा राम्रो थियो। तर ल्याउने प्रबन्ध कहीँ पनि गरिएको छैन, केही पनि गरिएको छैन भने मल कहाँबाट आउँछ? अर्थात अलमल्याउने काम भएको छ। अलमल्याउने कामबाट, छक्याउने कामबाट कृषि क्षेत्रको उत्थान हुन सक्दैन।’

यस्तै अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोप समेत लगाए।

प्रकाशित: १८ असार २०७९ १३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App