प्रतिनिधिसभाको उपसभामुख पदमा नयाँ सदस्य आउने सम्भावना न्यून हुँदै गएको छ। प्रतिनिधि सभाको बैठकमा सभामुखको आसनबाट सरकारका प्रधानमन्त्री बस्ने रोको अगाडिको दाहिनेतर्फ छेउमा उपसभामुख बस्ने सिट छ। त्यो सिटमा उपसभामुख नहुँदा मन्त्री बसेको देखिन्छ।
उपसभामुख बस्ने कार्यकक्ष संसद् सचिवालयमा धुलोमैलो मात्र थुप्रिएको छ।२०७६ माघ १२ गतेदेखि खाली रहेको उपसभामुख पदमा विगतमा केपी ओली नेतृत्वको सरकारले चासो राखेको थिएन भने वर्तमान सरकारले पनि चासो राखेको छैन।
सरकारले चासो नराखेकाले नै यो पद करिब २९ महिनादेखि खाली छ। उपसभामुख पद खाली हुँदा संवैधानिक परिषद्ले पूर्णता पाउन सकेको छैन। संविधानको व्यवस्था अनुसार फरक राजनीतिक दललाई उपसभामुख दिनुपर्ने व्यवस्था छ। संसद् बैठक सञ्चालनका लागि प्रत्येक अधिवेशनमा सभामुखले १० जना अध्यक्षता गर्ने व्यक्ति चयन गर्दछन्।
जसबाट उपसभामुखविना संसद् सञ्चालनमा बाधा परेको छैन। संघीय संसद्को अवधि सकिन अब ६ महिना पनि बाँकी छैन। संसद्मा राष्ट्रिय पार्टीको मान्यता प्राप्त कांग्रेस, एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपा रहेका छन्।
स्वतन्त्र हैसियतमा नेमकिपा, राजमो र राप्रपा रहेका छन्। प्रतिनिधिसभाको केही दिनअघि सत्तारुढ दलकी सांसद अमृता थापाले उपसभामुख र राष्ट्रिय सभाको उपाध्यक्ष पदमा छिटो निर्वाचन गरी पदपूर्ति गर्न माग गरेकी थिइन्।
प्रकाशित: १७ असार २०७९ ०६:१२ शुक्रबार