३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पोखरा महानगरकाे बजेट प्रस्तुत गर्न एमालेको अवरोध

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न अवरोध पुर्‍याउने उद्देश्यले नाराबाजीमा उत्रिएका एमाले जनप्रतिनिधिहरु।

पोखरा महानगरपालिकाको बजेट प्रस्तुत गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)ले अवरोध गरेको छ। पोखरा महानगरपालिकाको नगरसभामा शुक्रबार अपराह्न ४ बजे बजेट प्रस्तुत गर्न नगरसभा बोलाइएको थियो। 

तर, नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै बजेट प्रस्तुत गर्न अवरोध गरेको हो। जनप्रतिनिधिहरुको अधिकार कुण्ठित गर्नेगरी बजेट पुस्तिका प्रकाशन गरेको भन्दै केहीबेर नाराबाजीसहित रोष्टम घेर्नुका साथै पछि नगरसभा बहिस्कार गरेर हिंडेपछि विहीबार प्रस्तुत गर्ने भनिएको बजेट रोकिएको छ। जसका कारण महानगरकीउप–प्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्न सकिनन्।

लगत्तै महानगर प्रमुख धनराज आचार्य एमाले जनप्रतिनिधिहरुसँग वार्ता गरेका छन्। विवाद समाधान गरेर बजेट प्रस्तुत गर्न उनी एमाले जनप्रतिनिधिहरुलाई फकाईरहेका छन्। तर एमाले जनप्रतिनिधिहरु बजेट प्रस्तुत गर्न मानेका छैनन्। नेकपा (एमाले) पोखरा महानगर संसदीय दलकी नेता राधिका शाही योगीले प्रचलन विपरित बजेट प्रस्तुत गर्नु अघि नै रातो किताव ल्याएकाले बजेटमा अवरोध गरिएको बताईन्।

नगर सदस्यहरुले छलफल गरेपछि मात्रै रातो किताव ल्याउने चलन हो। तर छलकपट गरेर रातो किताब ल्याइयो। यो सरासर गलत हो त्यहि भएर हामीले बहिस्कार गरेका हौं’ उनले भनिन्। रातो किताबमा आफूहरुले उठाउँदै आएका योजनाहरु समावेश नभएकालेपनि रातो किताबमा छलकपट भएको पुष्टि हुने उनले तर्क गरिन्।

तर महानगर प्रमुख आचार्यले भने रातो किताव प्रकाशित भएको कुरा झुठो भएको दाबी गरे। हामीले बजेटको मस्यौदा मात्र तयार गरेका हौं। रातो किताव छापिएको वा प्रकाशित गरिएको छैन। यो झूठो कुरा हो’ उनले भने। उनले विषयगत समितिमा भएको छलफलको सुझावका आधारमा अन्तिमरुप दिन बाँकी रहेकोसमेत बताए।

यसैबीच आचार्यले असन्तुष्ट जनप्रतिनिधिहरुसँग सहमति कायम गरेर आजै बजेट ल्याउने बताएका छन्। स्थानिय तहले असार १० गते भित्रै बजेट ल्याउनुपर्ने बाध्यता भएकाले एमाले जनप्रतिनिधिलाई सहमतिमा ल्याएर बजेट ल्याउने कसरतमा प्रमुख आचार्य लागिपरेका छन्।

प्रकाशित: १० असार २०७९ १३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App