८ वैशाख २०८१ शनिबार
राजनीति

जिसस उदयपुरमा प्रमुख उपप्रमुखसहित गठबन्धनको प्यानल विजयी

नवनिर्वाचित जिल्ला समन्वय समितिका पदाधिकारी विजयी भएपछि सामूहिक तस्बिर लिदैं।

जिल्ला समन्वय समिति उदयपुरमा गठबन्धनको प्यानलै विजयी भएको छ। बिहीबार बिहान मतदान भएर दिउँसो घोषित मतगणना अनुसार प्रमुख र उपप्रमुखसहित ९ सदस्यीय समिति प्यानलै गठबन्धनले जितेको हो।

गठबन्धनको तर्फबाट प्रमुखमा नेकपा (एकीकृत समाजवादी), उपप्रमुख र ७ मध्ये ३ सदस्यमा नेपाली काँग्रेस तथा ४ सदस्य नेकपा (माओवादी केन्द्र) का विजयी भएका छन्। प्रमुखमा एकीकृत समाजवादीका गौरबहादुर बिक र उपप्रमुखमा काँग्रेसका तेजबहादुर गिरी विजयी भएका छन्।

माओवादीबाट परेका ४ सदस्यमा अल्पसंख्यकबाट पदबहादुर राई, महिला तथा दलितबाट गोमा कार्की र विन्दाकुमारी बिक तथा खुल्लातर्फ इन्द्रबहादुर थापा रहेका छन्। त्यसैगरी काँग्रेसबाट अल्पसंख्यकतर्फ भिमचन्द्र राई, महिलातर्फ मञ्जु परियार र खुल्लातर्फ विष्णु कटुवाल सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सहायक मुख्य निर्वाचन अधिकृत दिलिप मगरका अनुसार ४ नगर र ४ गाउँ गरी ८  स्थानीय तहका प्रमुख उपप्रमुख गरी १६ मतदाता रहेको उदयपुर समन्वय समितिमा गठबन्धनले ११ मत पाएको छ। गठबन्धनविरुद्ध प्रमुखदेखि उपप्रमुख र सदस्यसम्म उम्मेदवारी दिएको नेकपा (एमाले)ले भने ५ मत मात्र पाएको छ।

एमालेबाट प्रमुखमा इन्द्रराज कार्की, उपप्रमुख हेमकुमारी विक र सदस्यमा गणेश श्रेष्ठ, तेजबहादुर थापा, अर्जुन परियार, आसा परियार, नारायण राई र सर्वजित राईको उम्मेदवारी परेको थियो। प्रमुखमा विजयी बिक उदयपुरगढी गाउँकार्यपालिका सदस्य हुन्। एसका जिल्ला सदस्य तथा यसअघिका अध्यक्षसमेत रहेका मानबहादुर केप्छाकी मगरसहित ८ जना जितेर गाउँकार्यपालिकामा निर्णायक बन्न पुगेपछि बिक कार्यपालिका सदस्य चयन भएका थिए।

बिकलाई एकीकृत समाजवादीले दलित कोटाबाट कार्यपालिका सदस्य चयन गरेको थियो। समन्वय समिति प्रमुख पाउने छेकछन्दै नभएको एकीकृत समाजवादीलाई माओवादी र काँग्रेसबीचको रस्साकस्सीले प्रमुखमा ‘चिठ्ठा’ परेको हो। काँग्रेसबाट समन्वय समिति प्रमुख बन्ने घोषणा गरेरै पार्टी जिल्ला उपसभापति भिमचन्द्र राई त्रियुगा नगरपालिका ११ बाट सदस्य उठेर कडा प्रतिस्पर्धाका साथ विजयी भएका थिए।

यसअघि पनि पार्टी जिल्ला सचिव भइसकेका राई गत भदौको महाधिवेशनपछि उपसभापति भएका थिए। पार्टीको उपसभापतिजस्तो जिम्मेवार पदमा रहेका कारण उनलाई समन्वय प्रमुख बनाउने योजनाकै साथ सदस्यमा उठाएको थियो। तर, त्रियुगा नगरपालिकामा कार्यपालिका सदस्य चयनमा प्राविधिक त्रुटी भएका कारण उनको प्रमुख हुने बाटो अवरोध भएको हो।

उनी प्रमुख हुनबाट वञ्चित हुनुको अर्को प्रमुख कारण देशव्यापी झाँगिएको देउवा र कोइराला खेमा बीचको अस्वस्थ्य प्रतिस्पर्धा पनि हो। त्रियुगा नगरपालिकामा एक्लौटी चुनाव लडेर मेयरसहित बहुमतसहित जितेका मेयर कोइराला खेमाका हुन् भने प्रमुखका दावेदार राई र पार्टी सभापतिलगायत सिंगो जिल्ला समिति देउवा खेमाको हो। यसले पनि राईलाई समन्वय प्रमुख हुन बाधा खडा गरेको कार्यकर्ताहरु नै स्वीकार छन्।

नगरकार्यपालिका सदस्य चयनमा राईले फ्लोर क्रस गरेर एमालेलाई मत दिएको आरोप पार्टीभित्रैबाट लागेको छ। नगरपालिकामा गठबन्धन हुन नसके पनि कार्यपालिकादेखि जिल्ला समन्वयसम्म मिलेर जाने योजना अनुरुप अघि बढ्ने माओवादीको प्रस्तावमा काँग्रेसले एक्लै बहुमत भएको भन्दै मिल्न नचाहेपछि माओवादीले ४ सदस्य एमालेलाई दिएर आफूले ३ सदस्य लिनेगरी तालमेल गरेको थियो।

एमालेसँगको तालमेलबाट माओवादीका त्रियुगा नगर इन्चार्जसमेत रहेका बिमल किराती पनि कार्यपालिका सदस्य चयन भएपनि काँग्रेसका राईको प्रमुख बन्ने बाटो थप अवरोध हुन पुगेको कार्यकर्ता बताउँछन्। काँग्रेसबाट नेपाल रेडक्रस सोसाईटीका पूर्व सभापति बिनोद बस्नेत र पूर्व प्रअ कुलबहादुर खत्री पनि समन्वय प्रमुखकै उद्देश्य लिएर सदस्यमा चुनाव लडेका थिए।

त्रियुगा १० बाट लडेका बस्नेत र १५ बाट लडेका खत्री दुवै पराजित भएपछि ११ बाट सदस्य जितेका राई प्रमुख बन्ने लगभग निश्चित थियो। तर, काँग्रेसका तर्फबाट राई र माओवादीका किरातीबीच एकले अर्कालाई नस्वीकार्ने भएपछि अन्तिम निर्णयको जिम्मा केन्द्रीय गठबन्धनले पाउँदा बिकलाई प्रमुखको कुर्सी हात परेको हो।

प्रकाशित: ९ असार २०७९ १३:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App