१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गर्‍योः एमाले

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले कास्कीले पाँचदलीय गठबन्धन सरकारले कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गरेको आरोप लगाएको छ। नेकपा एमाले कास्कीको हालै बसेको दोश्रो बैठकले स्थानीय निर्वाचनका बेला सत्ता गठबन्धनले राज्यसत्ताको चरम दुरुपयोग र अनेकखालका तिकडम गर्नुका साथै कर्मचारी क्षेत्रमा व्यपाक राजनीतिकरण गरेको आरोप लगाएको हो।  

पाँचबुँदे निर्णय सार्वजनिक गर्दै एमालेले भनेको छ,’ ‘एमालेबिरुद्ध राज्यका संयन्त्रहरु प्रयोग गर्ने दुस्साहस गरिराखेको छ। हामी यस खालका अमर्यादित क्रियाकलापको घोर भत्र्सना गर्दै चुस्तदुरुस्त शान्ती व्यवस्थापन लोकतान्त्रिक शासन व्यवस्थाको मर्म अनुसारको सु–व्यवस्था कायम गर्न जोडदार माग गर्दछौं।’  

एमाले कास्कीले पेट्रोलियम पदार्थमा भएको चरम मूल्य वृद्धिले उपभोग्य वस्तुमा मूल्य वृद्धि हुँदा जनताको दैनिक जीवन कष्टरकर हुँदै गएको बताएको छ। संघ सरकारका अर्थमन्त्रीले मध्यरातमा विचौलियाहरुलाई बोलाएर करको दर रेट हेरफेर गर्दै रातारात अर्बाै रुपैयाँको अपचलन गर्दा राज्यको शीर निहुरिएको एमाले कास्कीको ठहर छ। साथै उसले अकाशिदो मूल्य वृद्धि नियन्त्रण गरी जनतालाई राहत पुग्ने खालका कार्यक्रमहरु तत्काल ल्याउन माग गरेको छ।

एमाले कास्कीले धान रोपाईं गर्ने बेलामा बजारमा रासायनिक मल (डिएपी)को चरम अभाव हुँदा कृषकहरुमा निरासा र आक्रोस बढेको दाबी गरेको छ। उसले सरकार तत्काल मलको व्यवस्थापन गर्ने भन्दा अर्को वर्षको लागि समयमा नै मलखादको व्यवस्था हुन्छ भन्दै नकच्चरो रवैया देखाईरहेको टिप्पणी गर्दै फाष्टट्रयाकबाट मलको आपुर्ती गर्ने व्यवस्था तत्काल गर्नपनि सरकारसँग माग गरेको छ। 

एमाले कास्कीले वर्षा शुरु भएसँगै ग्रामिण क्षेत्रमा सडक र पुलहरु बग्ने, भत्किने भएकाले तत्काल मर्मत र सुधार गरी यातायात सुव्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै प्राकृतिक विपत जोखिमका हिसाबले कास्की जिल्ला जोखिमपुर्ण जिल्लाको रुपमा रहेकाले जोखिममा रहेका बस्ती, क्षेत्रहरुमा जोखिम न्यूनिकरण गर्ने र शीघ्र विपद व्यवस्थापनको कार्ययोजना बनाई कार्यान्वयन गर्न सरोकारवालाहरुको ध्यानाकर्षण समेत गराएको छ।  

एमाले कास्कीले संघ र प्रदेशले ल्याएको बजेटमा क्रमागत योजनाहरु कटौती गरेर स–साना खल्तीका कनिका योजनाहरु ल्याएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। राजनीतिक कुण्ठाबाट प्रेरित भएर क्रमागत योजनाहरु कटौति र कनिका बजेट परेको भन्दै उसले यो सच्याउन माग गरेको छ। योजना र बजेट जनमूखी दिगो विकास र समृद्ध समाज निर्माण गर्नका लागि सहयोग पुग्ने खालको हुनुपर्ने भन्दै एमाले कास्कीले त्यसतर्फ उन्मुख बजेट ल्याउन सुझाव दिएको छ। पार्टीको सल्लाह र सुझावलाई बेवास्ता गरी फेरीपनि अवान्छित क्रियाकलाप भएमा एमाले कास्की टुलुटुलु हेरेर नबस्ने चेतावनी समेत उसले दिएको छ।

प्रकाशित: ६ असार २०७९ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App