१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जनताका काम टार्ने प्रवृत्ति बढ्दै गयो: प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटामा प्रस्तावित गेटा मेडिकल कलेजलाई प्रतिष्ठान बनाउनुपर्ने माग सम्बोधन गरिने बताउँदै जनताका काम टार्ने प्रवृत्ति बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्।

धनगढी उपमहानगरपालिका कार्यालय परिसरमा नवनिर्मित प्रशासनिक भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी प्रतिष्ठानसम्बन्धी विधेयक ल्याएर गेटा मेडिकल कलेज सञ्चालन गरिने बताएका हुन्।

उनले भने, 'गेटा मेडिकल कलेज सञ्चालनको माग उठ्दा मलाई खुसी लागेको छ।' साथै जनताका काम छिटोछरितो ढङ्गले गर्नुपर्नेमा भोलि-भोलि भनेर टार्ने प्रवृत्ति बढ्दै गएकामा उनले चिन्ता समेत व्यक्त गरे। नेपाल सङ्घीयतामा गएकाले विकासका गतिविधि स्थानीय तह र प्रदेशबीच समन्वय, सहकार्य गरी संयुक्तरुपमा अघि बढ्न जरुरी रहेको प्रधानमन्त्री देउवाले उल्लेख गरे।

यस्तै गौरीफन्टा नाकामार्फत् व्यापारलाई सहज बनाउन पहल गरिने प्रधानमन्त्री देउवाले बताए। नेपाल–भारत सीमा भइ बग्ने मोहना नदीले दुवै देशको भूमि कटान गर्ने गरेको उल्लेख गर्दै उनले कटान रोकथामका लागि पहल गरिने बताए। धनगढीलाई व्यवस्थित र सुन्दर नगरका रुपमा विकास गर्न जग्गा अतिक्रमण रोकथामका साथै वनजङ्गलको संरक्षण जरुरी भएको प्रधानमन्त्री देउवाको भनाइ थियो।

नेपाल सरकार र उपमहानगरपालिकाको सात करोड २३ लाख ४५ हजार रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएको हो। पाँचतले उक्त भवनमा ३५ कोठा रहेका छन्।

प्रकाशित: ४ असार २०७९ ०७:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App