८ वैशाख २०८१ शनिबार
राजनीति

बाढीपहिरोमा उद्धार र राहत कार्यक्रम ल्याउन माग

प्रतिनिधिसभा बैठकमा सांसदहरूले वर्षायाम सुरु भएसँगै देशका अधिकांश ठाउँमा बाढीपहिरोका कारण जनधनमा क्षति पुगेको भन्दै सरकारले उद्धार र सुरक्षाका लागि विश्वसनीय काम गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै सांसद मनकुमारी जिसीले देशभर वर्षाका कारण आएको बाढीपहिरोले पुर्‍याउने जनधनको क्षतिबारेमा सरकार गम्भीर हुनुपर्ने बताइन्। उनले भनिन्, ‘चट्याङ, बाढी र पहिरोले देशका धेरै भू–भागमा जनधनमा क्षति पुर्‍याइरहेको छ, सरकारको पूर्वतयारी, उद्धार तथा प्रभावकारी पुनःस्थापनाको कार्यक्रम छैन।’ पीडितलाई उद्धार र राहतमा ध्यान दिनुपर्ने उनले बताइन्।

सांसद भूपेन्द्रबहादुर थापाले बाढी पहिरोपीडितको उद्धारका लागि पूर्वतयारी नगरेको भन्दै सरकारको विरोध गरे। मनसुन सुुरु भइसकेकाले यसतर्फ सरकारले उचित ध्यान दिनुपर्ने उनको भनाइ छ। सांसद विमला विकले वर्षायामसँगै किसानलाई मल चाहिन्छ भन्ने सरकारलाई जानकारी भए पनि मल पाउन पटकपटक मन्त्री नै खोज्नुपर्ने किसानको बाध्यता अन्त्य गर्नुपर्ने बताइन्।

सांसद महेन्द्रकुमारी लिम्बुले झापा कलम गाउँपालिकामा रेल निर्माणका लागि रोक्का गरिराखेको जग्गा फुकुवा गर्न माग गरिन्। सांसद महेश बस्नेतले सरकारले डिजेल, पट्रोल र निर्माण सामग्रीमा मूल्य वृद्धि गरेकोमा आपत्ति जनाउँदै जनतालाई राहत दिने कार्यक्रम ल्याउन सरकारसँग माग गरे। सांसद मीना सुब्बाले माना रोपेर मुरी उब्जाउने यो समयमा किसानलाई मल व्यवस्थापन गर्नुपर्ने बताइन्।

सांसद मीनबहादुर विश्वकर्माले सामाजिक रूपमा छुवाछूत फैलाउने गुरुकुलका प्राचार्यलाई पक्राउ गरी कारबाही गर्न माग गरे। जेठ २० गते ललितपुरमा गुरुकुलले जात सुनार भन्ने थाहा पाएपछि विद्यार्थीलाई पढ्न नदिएको आरोप छ। सांसद रंगमती शाहीले अवैधरूपमा खाडी र अन्य मुलुकमा मानव तस्करी हुने गरेकोमा अध्ययन गर्न सरकारसँग माग गरिन्।

सांसद रेनुका गुरुङले सांसदले खानेपानी पाउनुपर्ने र सांसदलाई जुनसुकै स्थानमा जानका लागि रोक लगाउन नहुने बताइन्। सांसद दुर्गा पौडेलले अहिले पनि हत्या तथा लुटपाट बढ्दै गइरहेकाले त्यसलाई रोक्न सरकार असफल भएको बताइन्। बलात्कारका घटनामा पनि सरकारले गम्भीर ढंगले अनुसन्धान नगरेको उनको भनाइ छ।

प्रकाशित: २८ जेष्ठ २०७९ ०३:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App